३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बर्सेनि डुबानमा नेपालगन्ज

मधु शाही

बाँके — झमझम पानी पर्न थालेपछि त्रिभुवन हरिजनको निद्रा हराउँछ । सोमबार रातभरि उनी सुत्न सकेनन् । नहरको पानी उर्लेर कतिखेर घर डुबाउने हो भन्ने चिन्ताले उनलाई सताइरहन्छ । बिहान उठेर हेर्दा नेपालगन्ज उपमहानगरपालिका २० स्थित घरबाहिर समुद्र जस्तो थियो । उनी टापुमा थिए । 

बर्सेनि डुबानमा नेपालगन्ज

खेतको बीचमा छाप्रो छ । नहर बन्द हुने गरी बाटो बनाएपछि ससाना बस्ती डुबानको समस्यामा परेको उनले बताए । ‘पानी निकास हुने ठाउँमा सडक बनेका छन्,’ उनले भने, ‘विकास त आयो, निकास आएन ।’


उनका छिमेकी कान्तराम यादवलाई बर्खा लागेपछि सानी छोरीको चिन्ता लाग्छ । घरको आँगनसम्म जलमग्न हुन्छ । उनकी ५ वर्षीया छोरी प्रिया दैलोमा बसेर टुलुटुलु डुबानमा परेको घर हेरिरहन्छिन् । खेल्ने थलो छैन । बाहिर निस्किन डर हुन्छ । ‘छोरी फुत्त नहरमा पुगी भने,’ कान्तरामले भने, ‘चिन्ता लाग्छ ।’ छोरी जोगाउन यादव दम्पती चनाखो देखिन्छन् । गत वर्ष छिमेकीका छोरा नालीमा डुबेको घटनाले उनलाई अझ सतर्क बनाएको छ ।


वर्षामा जम्ने पानीको निकासका लागि नहरसम्म नाली निर्माण गरिएको छ । तर नहर अतिक्रमणमा पर्दा नाला थुनिएका छन् । ६३ वर्षीय जमुनाप्रसाद गुप्ताको घर नहरकै डिलमा छ । सुरुमा नहर खन्दा उनी खुसी थिए । सबै पानी नहरमा बग्ने र डुबान नपर्ने भन्दै ढुक्क थिए । केही वर्ष नहरमा पानीको बहाव राम्रै थियो । अहिले दुई दिन लगातार वर्षा हुँदा नहरको पानी उल्टै बस्तीमा पसेर जलमग्न भएको उनले बताए । ‘नहर मिचेर ठूल्ठूला बाटो बनाउन थाले,’ उनले भने, ‘फोहोरले प्वाल टालिएको छ । पानी पास हुने ठाउँ छैन ।’


नेपालगन्ज ८ का सकिल दोहलन सोमबार राति ३ बजेदेखि जागराम रहे । घरभित्रै पानी पसेपछि भिजेको ओछ्यान, भाँडाकुडा पन्छाउँदै उनको रात बित्यो । रातभरि आएको झरीबाट नालीको पानी बढदै गएर भित्र पसेको थियो । ‘घरमा पूरै नालीको पानी आयो’, उनले भने, ‘बारिसमा निद्रा नै पर्दैन ।’ आफू सानो हुँदा यो ठाउँमा ठूलो तलाउ थियो । बर्खा लागेपछि त्यही तलाउमा पानी सञ्चित हुने गर्थ्यो । सानैमा तलाउ वरिपरि खेल्न गएको दिन उनलाई अझै ताजै छ । तर अहिले त्यहाँ ठूल्ठूला भवन बनेका छन् । सानो नाली पनि अस्तव्यस्त छ ।


८ वर्षअघि त्यही नालीमा ७ वर्षको बालक डुबेको घटना उनले सुनाए । बालक निकाल्न खनेको नाला अझै मर्मत हुन सकेको छैन । बर्सेनि ढल बढेर वरिपरिको बस्ती डुबानमा परेको उनले बताए । ‘वडाले ढल बनाउँछु भनेर खन्यो । तर अलपत्र छोड्यो,’ उनले भने, ‘नाला निकासी राम्रो हुन सके समस्या समाधान हुन्छ ।’


नाला र नहर सफा राख्नुपर्छ भन्ने चेतनाको अभावले पानी निकासमा समस्या आएको उपमहानगरपालिका इन्जिनियर शैलेन्द्र महर्जनको भनाइ छ । नेपालगन्जको सबै पानी भारतमा निकास हुने उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा बताउँछन् । यहाँको पानी डोन्डा नाला र रतैया नाला हुँदै भारतको दक्षिणी भेगमा निकास हुने उनको भनाइ छ ।


पश्चिम तराईका जिल्लामा आइतबार साँझदेखि वर्षा भइरहेको छ । सुकेका खहरे बढ्न थालेका छन् । पानी जमेपछि बसोबास क्षेत्रमा डुबानको खतरा छ । बर्सेनि डुबानको समस्या झेल्दै आएका जिल्लामा प्रकोप न्यूनीकरणको सरकारी तयारी परम्परागत छ ।

प्रकाशित : असार २५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?