३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भोजपुर घटनामा प्रहरी महानिरीक्षकको दाबी - 'प्रहरी जवानलाई गोली हानेपछि जवाफी फायरिङ भएको हो'

भोजुपर घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी

काठमाडौँ — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् । बुधबार बिहान बसेको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला संग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

भोजपुर घटनामा प्रहरी महानिरीक्षकको दाबी - 'प्रहरी जवानलाई गोली हानेपछि जवाफी फायरिङ भएको हो'

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक नेत्रविक्रम चन्द समूहले गोली प्रहार गरेपछि घटना भएको हो । 'प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो,' उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।


उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा आज ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उक्त समूहका अन्य चार/पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित : असार २५, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?