१० मिनेटमै सकियो संसद बैठक, कांग्रेस र राजपाको अवरोध कायमै

दिनेश रेग्मी

काठमाडौँ — प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ । राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि बैठक असार ३० गते बस्ने गरी सकिएको हो । 

१० मिनेटमै सकियो संसद बैठक, कांग्रेस र राजपाको अवरोध कायमै

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँसो २ः२६ मा सुरु भएर २ः३६ बजे अन्त्य भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध गरेका थिए । महराले पटकपटक सीट बस्न आग्रह गर्दा पनि विपक्षीको विरोध जारी भएसँगै उनले बैठकको कारवाही अघि बढ्छभन्दा कांग्रेस र राजपा नाराबाजी गर्दै बेलको पुगेका थिए ।

उक्त नाराबाजीकै क्रममा सभामुखले राष्ट्रियसभाबाट पारित चार विधेयक बारे जानकारी गराउन सचिव योगीलाई आग्रह गरे । योगीले चार विधेयक पढेर पारित भएको सुनाएपछि सत्तापक्षका सांसदहरुले ताली बजाएर समर्थन गरेपछि सभामुखले अर्को बैठक ३० गते दिउँसो १ बजे बस्ने गरी सकिएको बताए । राष्ट्रियसभाबाट हिजो विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमान (२३ औं संशोधन) विधेयक पारित भएको थियो ।

नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका थिए । हिजो यसै विषयमा विपक्षीका विरोधका कारण संसद अवरोध भएर आज फेरी बसेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अघि बढ्न नदिने बताए । एमालले नेता झलनाथ खनालले हरेक विषयमा संसदीय समिति बन्दैन भन्दै निश्चित आधारमा मात्रै समिति बन्ने टिप्पणी गरे ।



प्रकाशित : असार २५, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?