कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समायोजनमा पर्न ‘बढाइचढाइँ’ मेडिकल रिपोर्ट, सामान्य रोग लागेकालाई पनि मेडिकल बोर्डको सिफारिस

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालका कर्मचारीले समायोजन हुँदा केन्द्रमै बस्नका लागि बढाइचढाइँ मेडिकल रिपोर्ट बनाएर पेश गर्न थालेका छन् । शारिरीक रुपमा अशक्त नरहे पनि केही कर्मचारीले आर्थिक चलखेल र व्यक्तीगत चिनजानका आधारमा अशक्त भएको देखिने झैं गरेर मेडिकल रिपोर्ट बनाएर स्वास्थ्य मन्त्रालयमा पेश गरेका छन् ।

समायोजनमा पर्न ‘बढाइचढाइँ’ मेडिकल रिपोर्ट, सामान्य रोग लागेकालाई पनि मेडिकल बोर्डको सिफारिस

स्वस्थ्य मन्त्रालयले समायोजनको सूचना प्रकाशित गरेसँगै आफू निकट चिकित्सकको रिपोर्टका आधारमा मेडिकल बोर्डको सिफारिस लिने कर्मचारीको संख्या ह्वत्तै बढेको देखिन्छ ।

कर्मचारी र चिकित्सकको मिलोमतोमा तयार पारिका रिपोर्टहरु मेडिकल बोर्डले पनि फटाफट सदर गरिरहेको छ । यति मात्रै होइन आफू निकट कर्मचारीलाई केन्द्रमा समायोजन गर्न स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको पनि मिलोमतो रहेको वीर अस्पताल स्रोतको दाबी छ ।

झुठो रिपोर्टमाथि छानबिन गर्नुपर्‍यो भन्दै वीर अस्पतालका कर्मचारीले स्वास्थ्य मन्त्रालयमा उजुरी समेत हालेका छन् । झुठा मेडिकल रिपोर्टहरु पेश भइरहेको गुनासो माथि ध्यानाकर्षण भएको बताउँदै स्वास्थ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘समायोजनको सूचना निस्केसँगै बोर्डबाट आउने सिफारिसको संख्या बढेको छ । रिपोर्टहरु माथि छानबिन हुन्छ ।’

लामो समय केन्द्रिय स्वास्थ संस्थामा काम गरेका कर्मचारी समायोजन हुँदा स्थानीय र प्रदेश तहमा पुग्ने भएपछि उनीहरूले आफ्नो रोगका बारे बढाईचढाइ गरेर रिपोर्ट बनाएर पेश गरेर केन्द्रमा बस्ने दाउ गरेको स्रोत बताउँछ ।

नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेमा कर्मचारी समायोजन ऐन–२०७५ अनुसार कडा रोगका बिरामी तथा गम्भिर र अशक्त कर्मचारीले रोजेको ठाउँमा समायोजन हुन सक्छन् । यही व्यवस्थाको दुरुपयोग गर्दै वीर अस्पतालका केही कर्मचारीले झुठो मेडिकल रिपोर्ट बनाएका छन् भने केहीले बनाउने प्रकृयामा रहेको स्रोतको दाबी छ । ती कर्मचारीले आफूलाई हुँदै नभएको रोगको मेडिकल रिपोर्ट बनाएर मेडिकल बोर्डमा पेश गरेका छन् ।

निजामती नियमावली–२०५० अनुसार मुटु, मृर्गौला र क्यान्सरलाई कडा रोग भने पनि मेडिकल बोर्डले यी रोग बाहेक अन्य समस्या भएकालाई पनि सिफारिस दिइरहेको छ । एलर्जी, थाइराइड, उच्च रक्तचाप, बाथ जस्ता कडा नमानिएका स्वास्थ्य समस्या देखाएर केन्द्रमै बस्न कर्मचारीहरु मेडिकल बोर्ड र स्वास्थ्य मन्त्रालय धाइरहेका छन् ।

वीर अस्पतालमा तलब बाहेक ५० प्रतिशत पाइने भत्ताको लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरु बस्न खोजेका हुन् ।

वीर अस्पतालको मेडिकल ओपीडीका कर्मचारी अहेब युवराज सुवेदीले राजनीतिक आस्था मिल्ने आफू निकिटका चिकित्सकसँग बढाइचढाइ मेडिकल रिपोर्ट बनाएका छन् । ट्रमा सेन्टरका हाडजोर्नी विभागका प्रमुख डा. श्रीकृष्ण गिरीले बनाइदिएको रिपोर्ट अनुसार कर्मचारी सुवेदी लामो समय उभिन र हिँड्न सक्दैनन् । सुवेदी उनै कर्मचारी हुन् जो दैनिक भक्तपुरबाट मोटरसाइकल चढेर वीर अस्पतालसम्म काम गर्न आउँछन् । आफ्नो छुट्टै मेडिकल लगायत वीरमा सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । ‘उभिन नसक्ने व्यक्ति कसरी दैनिक मोटरसाइलकमा यात्रा गर्न र काम गर्न सक्छन ? आन्दोलनमा दौडिने झैझगडामा अगुवा हुने पनि यीनै हुन् ?’ स्रोतले भन्यो ।

यसबारे कान्तिपुर दैनिकले संवाद गर्न खोज्दा सुवेदीले फुर्सद नभएको बताए ।

झुठो मेडिकल रिपोर्ट बनाउने वीरका अर्का कर्मचारी हुन्– डिल्लीराम खनाल । उनी वीर अस्पतालको युरो ओपीडीमा कार्यरत छन् ।

उनको कामै उभिएर गर्नुपर्ने प्रकृतिको छ । ट्रमा सेन्टरका हाडजोर्नी चिकित्सक डा. सन्तोष पौडेलले बनाएको रिपोर्ट अनुसार उनलाई लामो समय हिँड्न, उभिन या उकालो–ओरालो गर्न मिल्दैन । समायोजन अन्तर्गत दुर्गममा जानु नपरोस् भनेर उनले आफ्नो पार्टी निकट चिकित्सकसँग मिलेर झुठो रिपोर्ट बनाई बोर्डमा पेश गरेका छन् । खनाल भन्छन्, ‘मेडिकल बोर्ड नै गरेको सिफारिस गरेको रिर्पोटमाथि प्रश्न गर्नुहुन्छ भने मेरो भन्नु केही छैन ।’

‘आफू निकट चिकित्सकले सजिलै रोग लागेको सिफारिस बनाइदिन्छन् । त्यसैलाई मेडिकल बोर्डमा पेश गरेर सिफारिस लिइरहेका छन्,’ स्रोतले भन्यो ।

यस्तै अस्पतालका अन्य कर्मचारीहरु सबिता जोशी, डिल्लीराम आचार्य, जीवन श्रेष्ठ, शंकरकुमार झा लगायतले बनाएको मेडिकल बोर्डको सिफारिस हेर्दा उनीहरुलाई गम्भिर प्रकृतिको रोग भएको देखिँदैन ।

हालसम्म मेडिकल बोर्डबाट सिफारिस भएकै आधारमा ६४ कर्मचारीका समायोजन भइसकेको छ भने स्वास्थ्य मन्त्रालयले ४, ५, ६ तहका स्वास्थ्यका कर्मचारीको समायोजन सूचि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ९ औं र दशौं तहका स्वास्थ्यकर्मीको समायोजनको टुंगो अन्तिम चरमा पुगिसकेको छ ।


प्रकाशित : असार २५, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?