२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

छापिएनन् मातृभाषाका पुस्तक

गणेश राई

काठमाडौँ — बजेट ढिलो निकासा हुँदा मातृभाषाका पुस्तक छपाइ स्थगित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक वर्ष ०७५/७६ मा प्रकाशन गर्न स्वीकृत गरेको पुस्तक छपाउन नसकेको हो ।

छापिएनन् मातृभाषाका पुस्तक

प्रतिष्ठानले हरेक वर्ष विभिन्न मातृभाषाका साहित्य र अनुसन्धानमूलक पुस्तक छपाउँदै आएको छ।


प्रतिष्ठानले डेढ दशकदेखि आदिवासी जनजातिको परिचय, इतिहास, संस्कृति, साहित्य, लिपि, कला, संगीत विषयका पुस्तक प्रकाशन गर्दै आएको छ । प्रतिष्ठानका सदस्यसचिव गोविन्दलाल माझीले यो वर्ष २७ वटा शीर्षकका पुस्तक छनोटमा परेको तर बजेट ढिलो प्राप्त भएका कारण १३ वटा मात्र छापिने क्रममा रहेको बताए । परिषदले निर्णय गरेअनुसार पहिलोपटक यसरी पुस्तक छापिन नसकेको हो ।


‘मातृभाषाका पुस्तक छनोट भयो तर बजेट निकासा ढिलो भयो,’ सदस्यसचिव माझीले भने, ‘बजेट पाएपछि पुस्तक डिजाइन, छपाइका निम्ति टेन्डरको सूचना सार्वजनिक गरियो । सबैभन्दा कम बिड हाल्ने छापाखानालाई दिनुपर्छ ।’


प्रतिष्ठानले ती पुस्तक छपाइका निम्ति ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसनिम्ति काठमाडौंका केही छापाखानाले टेन्डरमा भाग लिएका थिए । इगल पिस प्रेसले सबैभन्दा कम ३ लाख ४७ हजार रुपैयाँको टेन्डर हालेको थियो । ‘सबैभन्दा कममा टेन्डर हाल्नेलाई दिने नियम हो,’ सदस्यसचिव माझीले भने, ‘त्यसैलाई दिने टुंगोसहित अग्रिम भुक्तानी दियौं तर अन्तिम घडीमा पैसा पुगेन भनेर छनोटमा परेका पुस्तक छाप्न सकेन । अब यस्तो धोखा दिने प्रेसलाई कालोसूचीमा राखिनेछ ।’


प्रतिष्ठानअन्तर्गत अनुसन्धान तथा अनुगमन प्रमुख सन्तलाल मेचेले पहिलोपटक यसरी पुस्तक छपाइ रोकिएको बताए । ‘प्रतिष्ठानले मातृभाषा साहित्यका पुस्तक प्रकाशनले मातृभाषी लेखकलाई हौसला प्रदान गर्दै आएको छ,’ उनले भने, ‘यसरी एक आर्थिक वर्षमा छनोटमा पारिएका पुस्तक छापिँदै छ भनेर सम्बन्धित लेखकलाई जानकारीसमेत दिइसकिएको अवस्थामा अकस्मात रोकिँदा विश्वसनीयतामा बाधा पुगेको छ ।’ नयाँ आर्थिक वर्षमा छनोटमा परेका पुस्तकलाई छपाइका निम्ति पहिलो प्राथमिकता उनले जनाए ।


प्रतिष्ठानले सूचीकृत ५९ थरी आदिवासी जनजातिमध्ये केहीको ‘इथ्नोग्राफिक प्रोफाइल’ समेत निर्माण गरी प्रकाशित गरेको छ । तीन आर्थिक वर्षदेखि प्रतिष्ठानको बजेट कटौती भएपछि प्रोफाइल निर्माण कार्य रोकिएको छ । मातृभाषा, साहित्य, संस्कृतिमूलक कृति भने प्रकाशन जारी राखेको छ ।


प्रकाशित : असार २५, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?