कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सापकोटाविरुद्धका उजुरीको प्रतिलिपि ल्याउन आदेश

द्वन्द्वकालको मुद्दा संवैधानिक इजलासमा

काठमाडौँ — सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादीका नेता अग्निप्रसाद सापकोटा लगायतविरुद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश गरेको छ ।

सापकोटाविरुद्धका उजुरीको प्रतिलिपि ल्याउन आदेश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार सापकोटा लगायतविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको हो ।

‘आयोगमा उजुरी दिइएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए सो पनि अदालतलाई जानकारी दिनू’ आदेशमा भनिएको छ । सर्वोच्चले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा आफूलाई जानकारी गराउनसमेत आदेश दिएको छ ।

विसं २०६२ वैशाख १६ मा तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटालगायत संलग्न रहेको दाबी गर्दै २०६९ मंसिर ७ मा जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दाको पुनरावेदन सर्वोच्चमा भएको हो । २०७२ चैत १२ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त मुद्दा संवैधानिक इजलासबाट हेर्ने आदेश दिएको थियो । त्यही आदेशका आधारमा सापकोटाको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

प्रकाशित : असार २६, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?