कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एप्सबाटै ट्याक्सी

सीमा तामाङ

काठमाडौँ — ट्याक्सी व्यवसायीले मोबाइल एप्समार्फत यात्रुलाई सेवा दिने तयारी थालेका छन् । यसका लागि उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले ‘इजी ट्याक्सी नेपाल’ नामको एप्स विकास गरेको छ ।

एप्सबाटै ट्याक्सी

अहिले परीक्षणमा रहेको एप्समार्फत युरोप, अमेरिकामा प्रचलित उबर सेवामा झैं अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने बताइएको छ ।


करिब ५ हजार स्वरोजगार ट्याक्सी चालक रहेको समाजको उक्त मोबाइल एप्समा पहिलो चरणमा ३ हजार ५ सयभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् । अन्य ट्याक्सी तथा चालक बिस्तारै जोडिँदै जाने समाजका अध्यक्ष सानु पुर्वाछाने मगरले बताए ।


‘एप्समार्फत यात्रुले दिउँसो र राति दुवै समयमा सेवा प्राप्त गर्न सक्नेछन्,’ उनले भने, ‘एप्समा आबद्ध चालकको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिनेछ ।’ एप्समार्फत सेवा लिने यात्रुले वेबसाइट वा एप्समार्फत केवाईसी फर्म भरे ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिने बताइएको छ ।


अन्य देशले सञ्चालन गरिसकेको एप्स नेपालमा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले तोकेकै भाडादर कायम गरिएको अध्यक्ष मगरले बताए ।


उपत्यकामा मात्र सञ्चालन गरिने यो सेवा लिन यात्रुहरूले उक्त एप्स डाउनलोड गरी दर्ता गर्नुपर्नेछ । यसका लागि कस्टमर ‘लग इन’मा थिचेर आफ्नो नाम र नम्बर लेख्नुपर्ने हुन्छ । यात्रुले ‘लग इन’ गरेपछि त्यसमा देखिने ‘रियल टाइम म्याप’मा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्ने सफ्टवेयर कम्पनी इजी एस्युरेन्सका प्रबन्धक सन्जित पौडेलले बताए ।


यात्रुले एप्समा गरेको अनुरोधका आधारमा नजिकै रहेका ट्याक्सी चालकले त्यसलाई स्वीकार गर्नेछन् । उनीहरूले उल्लिखित यात्रुको मोबाइल नम्बरमा फोन गरी सेवा दिनेछन् । यात्रुले अहिले नगदमै र पछि डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने पौडेलले बताए ।


एन्ड्रोइडको प्लेस्टोरबाट डाउनलोड गरेर सेवा लिन सकिने यो एप्स चाँडै आइफोनको एप स्टोरबाट पनि डाउनलोड गर्न सकिनेछ । यात्रु ठगिने र भाडामा भएका बेथिति हटाउन समाजले एप्स सञ्चालनको तयारी गरेको पौडेलको भनाइ छ । ‘एप्समार्फत यात्रु ठगिने कार्य न्यून हुन्छ,’ उनले भने, ‘डिजिटल भन्नेबित्तिकै महँगो भनिन्छ तर एप्स सरकारी दरमै कायम छ ।’


एप्सबाट गरिएको अनुरोधपछि ट्याक्सीले ५ मिनेटभित्र यात्रु भएकै स्थानमा पुगेर सेवा दिने उनले बताए । उनका अनुसार ट्याक्सी चालकलाई ५ लाखको दुर्घटना बिमा, परिचयपत्र, ड्रेस दिने व्यवस्था गरिएको छ ।


प्रकाशित : असार २६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?