१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लन्डनको भूमिगत रेल स्टेसनभित्र नेपाल प्रवर्द्धन

नबिन पोखरेल

लन्डन — सिटी अफ वेस्ट मिनिस्टर बरोभित्र पर्ने सेन्ट जोन्स उडको आफ्नै ख्याति छ । कारण, ‘दी होम अफ क्रिकेट’ भनिने लर्डस मैदान यसकै आसपासमा छ, जहाँ कैयौं अन्तर्राष्ट्रिय खेल भइरहन्छन् ।

लन्डनको भूमिगत रेल स्टेसनभित्र नेपाल प्रवर्द्धन

आउँदो १४ जुलाई आइतबार क्रिकेट वर्ल्ड कप फाइनल खेल पनि लर्डसमै तय भएको छ ।

यतिखेर सेन्ट जोन्स उड लन्डन अन्डरग्राउन्ड स्टेसनभित्र भित्तामा टाँगिएका केही थान आकर्षक विज्ञापनले दैनिक हजारौं विदेशी यात्रुको ध्यानाकृष्ट गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनसहित राखिएका ती विज्ञापनमा नेपालको सर्वोच्च शिखर सगरमाथा, मठमन्दिर, र्‍याफटिङ र शिल्पकलाको अद्भुत नमुना झल्कन्छ ।


बेलायतमा लन्डन अन्डरग्राउन्ड एडभरटाइजिङ अर्थात् ट्युब एडभरटाइजिङ विज्ञापनको प्रभावकारी माध्यम मानिन्छ किनकि एकै दिन लाखौंको नजरमा पर्छन् त्यहाँ टांगिने बिलबोर्ड विज्ञापन । राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफ्नो ब्रान्ड स्थापित गर्न पनि यस्तै माध्यम अपनाउँछन् ।


तर, विज्ञापनमा बुद्ध भनेर टाँगिएका मूर्ति भने नेपालको नभई थाइल्यान्डको भएको भन्दै सामाजिक सञ्जालतिर आलोचना भएपछि यसलाई हटाइएको छ । ती अति महँगा विज्ञापन कसले राख्यो भन्नेबारे लन्डनस्थित नेपाली दूतावास भने बेखबर छ । ‘नेपाल पर्यटन बोर्ड र दूतावासलाई यसबारे केही थाहा छैन,’ दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने, ‘बुद्ध भनेर राखिएका चित्र अन्तै देशको भएको बुझिएकाले यसले झन् भ्रम सृजना गर्‍यो । जसले राखे पनि नेपालसम्बन्धी सामग्री राख्दा एकपटक दूतावास वा पर्यटन बोर्डसँग अनुमति लिनु पर्दथ्यो ।’


नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भइरहँदा यसले थप टेवा पुग्ने धेरैको विश्वास छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको तथ्यांक छ । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने तयारीमा आफूहरू लागेको दाबी गर्छन् ।


‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन दूतावासले पहल थालिसकेको छ । राजदूत डा. सुवेदीको अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत बनाइएको छ । पर्यटन अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएकाले बेलायतबाट सक्दो सहयोग गर्ने दूतावासको प्रतिबद्धता छ ।


प्रकाशित : असार २६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?