कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्वमा चन्द समूहको गतिविधि बढ्दो

माधव घिमिरे

(विराटनगर) — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको गतिविधि प्रदेश १ का हिमाली र पहाडी जिल्लामा बढ्दै गएको छ । जंगल क्षेत्रमा आश्रय लिएर आसपासका गाउँमा चन्दा संकलन गर्ने, स्थानीयलाई धम्क्याउनेजस्ता गतिविधि भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वमा चन्द समूहको गतिविधि बढ्दो

संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा यस्तो गतिविधि बढेसँगै निगरानी बढाइएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भोजपुर र संखुवासभामा पटक–पटक गोली हानाहानका घटना भएका छन् । आधुनिक हतियार, विस्फोटक सामग्री र पार्टीका अभिलेख बरामद भएका छन् । फागुनयता विभिन्न स्थानबाट दर्जनभन्दा बढी हतियार बरामद भएको प्रहरीको भनाइ छ ।


कार्यालयका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार सबै जिल्लाका स्थानीय कार्यालयको सुरक्षा संवेदनशीलता ख्याल गर्दै निगरानी गर्न प्रहरीको सबै तहमा निर्देशन दिइएको छ । हिंसा उत्पन्न गर्ने खालका गतिविधिबारे सूचना संकलन गर्न र शान्तिसुरक्षामा खलल पुग्ने अवस्था आउन नदिन योजनाबद्ध रूपमा काम गर्न भनिएको उनले बताए ।


सबै स्थानका प्रहरी टोलीलाई उच्च सतर्कतामा राखिएको उल्लेख गर्दै एक अधिकारीले भिडन्त वा झडप भइहाले तत्काल थप जनशक्ति पठाउने गरी तयारी गरिएको बताए । ‘मुख्यालय र प्रदेश कार्यालयमा नियमित सूचना संकलन भइरहेको छ,’ उनले भने, ‘परिआए केन्द्र र प्रदेशबाट थप टोली तत्कालै परिचालन गर्ने अवस्थामा छौं ।’


जेठ पहिलो साता भोजपुरको मैयुम गाउँपालिका–१ स्थित धोद्रे जंगलमा प्रहरी र चन्द कार्यकर्ता आमनेसामने भएका थिए । त्यसक्रममा चन्द समूहका एक कार्यकर्ता मारिए । षडानन्द–२ का ३२ वर्षीय तीर्थराज घिमिरेलाई गोली लागेपछि उपचारक्रममा मृत्यु भएको थियो । त्यसक्रममा पेस्तोल, गोली, बाइनाकुलर, डेटोनेटर, बारुद र पार्टीसम्बद्ध पर्चा–पम्प्लेट बरामद भएको प्रहरीको दाबी थियो ।


१० दिनअघि संखुवासभाको सिलिचोङ–१, सिसुवाटारको होङ्लामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो । गस्तीमा रहेको प्रहरी टोलीमाथि चन्द समूहका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसपछि सिलिचोङ क्षेत्रमा एक घण्टाभन्दा बढी सेनाको ३ वटा हेलिकप्टरले हवाई गस्ती गरेको संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताएका थिए ।


एसएलआरसहित पक्राउ

प्रहरीले चन्द समूहका एक कार्यकर्तालाई एसएलआरसहित संखुवासभामा पक्राउ गरेको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एसएलआर राइफल र त्यसमा प्रयोग हुने ६९ वटा गोली बरामद गरेको छ ।


प्रकाशित : असार २६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?