कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रोल्पाका गाउँमा सादा पोसाकमा प्रहरी परिचालन, केन्द्रीय नेतासहित दुई दर्जन पक्राउ

काशीराम डाँगी

(रोल्पा) — नेत्रविक्रम चन्द समूहको आधार क्षेत्र मानिएको रोल्पामा थप सुरक्षा सतर्कता अपनाइएको छ । चन्दका कार्यकर्ताको गतिविधि पूर्ण नियन्त्रणमा लिने रणनीतिसहित ग्रामीण क्षेत्रमा समेत सुरक्षाकर्मीको संख्या बढाइएको छ । 

रोल्पाका गाउँमा सादा पोसाकमा प्रहरी परिचालन, केन्द्रीय नेतासहित दुई दर्जन पक्राउ

महासचिव नेत्रविक्रम चन्दको जन्म जिल्ला र गतिविधि पनि बढी भएकाले सुरक्षा निकायले उच्च सतर्कता अपाएका हुन् । गाउँगाउँमा परिचालित सादा पोसाकका सुरक्षाकर्मीले चन्दका कार्यकर्तालाई पक्राउ गर्दै उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति अघि सारेका छन् ।

एक वर्षको अवधिमा प्रहरीले चन्दका दुई दर्जन नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामा स्थानीयदेखि केन्द्रीय तहका नेतासमेत छन् । केहीलाई रिहा गरे पनि प्रहरीले कतिपयलाई सुरक्षा व्यवस्थामाथि खलल पारेको अभियोगका मुद्दा दर्ता गराएको छ । पक्राउ गरिएकामध्ये केहीलाई हिरासतमा र केहीलाई पुर्पक्षका लागि कारागारमा राखिएको छ ।


सुरक्षाकर्मीले सशक्त मानिएका प्रायः कार्यकर्तालाई नियन्त्रणमा लिइसकेका छन् । प्रहरीले यसअघि केही शिक्षकलाई समेत नियन्त्रणमा लिएर छोडेको थियो । सुरक्षा स्रोतका अनुसार चन्दको गतिविधिमा लागेको आशंकामा केही शिक्षकको खोजी जारी राखिएको छ । स्थानीय तहका गतिविधिप्रति अवरोध गरेको सूचना प्राप्त भएकाले चन्दका कार्यकर्तामाथि निगरानी बढाउनुपरेको प्रहरीले जनाएको छ ।

‘केही स्थानीय तहका सवारी साधन र कार्यालयमा आगजनी गरेकाले हिंसात्मक गतिविधि नियन्त्रण गर्नुपरेको हो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक खडका भन्छन्, ‘हिंसा मच्चाउने र भडकाउने जोसुकैप्रति सुरक्षाकर्मीले चौबिसै घण्टा निगरानी राख्छन् ।’ उनले जनप्रतिनिधि, सरकारी सम्पत्ति र जनसाधारणको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालित भइसकेको बताए ।


चन्दका कार्यकर्ताले यसअघि पश्चिम रोल्पास्थित गंगादेव र त्रिवेणी गाउँपालिकाका गाडी, जेसीभी र कागजात जलाइदिएका थिए । उक्त अभियोगमा गंगादेव र माडीबाट केहीलाई नियन्त्रणमा लिइएको खडकाले बताए ।

उक्त घटनापछि प्रहरीले गंगादेव गाउँपालिकास्थित जिनाबाङका चन्द समूहका केन्द्रीय सदस्य चूडामणि वली आदर्श र जिल्ला ‘जनसरकार’ प्रमुख लालबहादुर वलीलाई नियन्त्रणमा लिएको थियो । चूडामणि र लालबहादुर दाजुभाइ हुन् । अदालतको आदेशमा चूडामणिलाई दुई दिनअघि सुनसरीबाट रिहा गरिएको छ ।

केही समयअघि चन्द समूहका कार्यकर्ताले पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र एनसेलका टावरमाथि बम विस्फोटसमेत गराएका थिए । उनीहरूले कोर्चाबाङस्थित एनसेलको टावरमा पनि क्षति पुर्‍याएका थिए । यस्तै, शान्ति सुरक्षामाथि खलल पुर्‍याएको आशंकामा रोल्पा इन्चार्ज जयप्रकाश रोकालाई प्रहरीले पक्रेको छ । उनलाई पाङको ऐपे गाउँबाट अन्य दुई कार्यकर्तासहित एक महिनाअघि पक्राउ गरिएको थियो ।

उनीहरूसहित ९ नेता–कार्यकर्ता प्रहरी हिरासतमा छन् । चन्दनिकट दलित संघका केन्द्रीय सदस्य टीकाराम परियारसहित नेपेन्द्र सेन र लालबहादुर सुनारलाई स्थानीय प्रशासनले धरौटीमा रिहा गरिसकेको छ ।

पक्राउ गरिएका अधिकांशलाई शान्ति सुरक्षामा खलल, विस्फोटक पदार्थको ओसारपसार र हिंसा भडकाएको अभियोगमा मुद्दा लगाइएको छ । सरकारले चन्दको गतिविधि नियन्त्रण गर्न उक्त समूहमाथि प्रतिबन्ध लगाइसकेको छ ।

स्थानीय तहमा 'चन्दाको दबाब'

सुरक्षा स्रोतका अनुसार चन्दका कार्यकर्ताले जिल्लामा चन्दा संकलनलाई तीव्रता दिएका छन् । स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक, शिक्षक र कर्मचारीबाट जबर्जस्त चन्दा माग गरिएकाले शान्ति सुरक्षामा समस्या आइपरेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । ‘स्थानीय तहमा दबाब सिर्जना गर्दै २ प्रतिशत रकम चन्दास्वरूप माग गरेको बुझिएको छ,’ एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसबारे खुलेर कसैले भन्न सकेको छैन ।’

सुरक्षा अधिकारीहरूले सुरक्षा समितिको बैठकमार्फत चन्दा माग्ने र हिंसा बढाउने व्यक्ति र शक्तिविरुद्ध ‘एकीकृत सुरक्षा कारबाही’ गर्ने रणनीति अघि सारेका छन् । प्रहरी नेतृत्वमा रोल्पामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसमेत परिचालित छन् । ‘सुरक्षा सतर्कतासहित जिल्लामा प्रहरीको संख्या ३० देखि ३५ प्रतिशत बढाइएको छ’, ती अधिकारीले भने ।

रोल्पामा प्रहरीको संख्या करिब ६ सय र सशस्त्र प्रहरीको संख्या ३ सय हाराहारी छ । सुरक्षा व्यवस्था मजबुत पार्न सशस्त्र प्रहरीले सदरमुकामसहित गाउँगाउँसम्म ‘पट्रोलिङ’ गर्दै आएको छ भने सेनालाई उच्च सतर्क रहन भनिएको छ । चन्द समूहलाई प्रतिबन्ध लगाइएसँगै सादा पोसाकका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सुरक्षा अवस्था मजबुत पार्न एकीकृत सुरक्षा व्यवस्था मिलाइएको बताए । उनले सुरक्षा निकायबीच समन्वय गरेर सतर्क रहने प्रणाली सुरु गरिएको बताए ।

प्रकाशित : असार २६, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?