१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नवजात शिशु चोरी गरेको आरोपमा दुई महिला पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी गरेको आरोपमा प्रहरीले धरान–१५ की लीला बिक र उनकी भाउजू मिना लिम्बू विकलाई प्रक्राउ गरेको हो । 

नवजात शिशु चोरी गरेको आरोपमा दुई महिला पक्राउ

बुधवार राति स्त्री तथा प्रसूति विभागबाट भोक्राहा गाउँपालिका–१ की बबिता मेहताको छोरा वार्डबाटै हराएपछि हल्ला भएको थियो । बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएपछि वार्डमै राखेर उपचार भइरहेको अवस्थामा अरूको कुरुवा बनेर नाटक गरी बस्ने धरान–१५ का लीला बिक र उनका भाउजू पर्ने मिना लिम्बु बिकले बच्चा चोरी गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए । चोरी गरिएको नवजात शिशु प्रतिष्ठानबाट करिब पाँच किलोमिटर पूर्व पर्ने धरान–१५ बगरकोटमा प्रहरीले फेला पारेको थियो ।


डीएसपी न्यौपानेका अनुसार नवजात शिशुका आमा बबिता राति बिउँझिदा आफ्नो साथ बच्चा नभएको देखेपछि हल्ला भयो । तत्काल डाक्टर, नर्स र प्रहरीले खोजी गर्न थाले । त्यसैबेला शंकास्पद रूपमा वार्ड बाहिर सुतिरहेकी लीला बिक फेला परिन् । न्यौपानेले भने, ‘केरकार गर्दा सुरुमा त लिलाले आफू अचेत भएजस्तो बहाना गरिन् । तर, उनको मोबाइलबाट कल गएको र आएको तथ्यले उजागर गर्‍यो ।’


लिलाको मोबाइलमा आएको पछिल्लो नम्बरमा एक चिकित्सकले डाक्टरले डायल गर्दा फोन उठाउनेको नजिकै बच्चा रोएको आवाज सुनेपछि लिलालाई सोधखोज गर्दा चोरी भएकै पत्ता लागेको थियो ।


डीएसपी न्यौपानेले भने, ‘लिलाले आफ्नो भाउजू मिनालाई बोलाएर मेहताको नवजात बच्चा चोरी गरी टेम्पोमा पठाएकी रहेछ । मिनाले बच्चा बगरकोट पुर्‍याएकी रहेछन् । बगरकोटबाटै प्रहरीले बच्चा फेला पारेर मेहता दम्पतीलाई जिम्मा दिएका छौँ ।’ मेहता दम्पतीले आफ्नो बच्चा चोरी गर्नेहरुलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएको प्रनाउ न्यौपानेले बताए ।


प्रतिष्ठानको प्रसूति गृहबाट बच्चा चोर्नका लागि लीला र मिना केही दिनअघिदेखि नियमित रूपमा बिरामी कुरुवाको नाटक गरेर आउने जाने गर्थे । बच्चा चोरी हुने राति पनि उनीहरू मध्ये लीला विक मेहता दम्पतीको क्याबिनमा आएर सुतेकी थिइन् । मेहता दम्पती र अरू कुरुवा सबै निदाएको मौका पारेर बच्चा चोरी गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार लिलाले आफ्नो श्रीमान् भारतको दिल्लीमा बस्ने गरेको बताएकी छन् । प्रारम्भिक बयानमा आफ्नै लागि बच्चा चोरी गरेको बताएपनि उनीहरूको नियतमा शङ्का गर्ने ठाउँ प्रशस्त रहेको डीएसपी न्यौपानेले बताए । उनीहरूले या त भारतमा विक्री गर्न या नरबली दिन बच्चा चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित : असार २६, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?