कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बन्दाबन्दैको मोटरेबल पुल खोलामा 

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा मर्स्याङदी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बुधबार खसेको छ । मनाङ–ङिस्याङ गाउँपालिकाको हुम्डे र ङावल जोड्न चारवटा मात्र ‘मेम्बर’ जडान बाँकी रहेको ‘स्टिल गर्डर ब्रिज’ खसेको हो । मेम्बर जडानलगत्तै ढलान गर्ने निर्माण कम्पनीको तयारी थियो ।

बन्दाबन्दैको मोटरेबल पुल खोलामा 

गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत टीकाबहादुर गोदारका अनुसार एक महिनाअघि नै पुल बांगिएको थियो । गाउँपालिका अध्यक्ष कान्छा घलेलगायतले स्टिलहरू झिकेर राख्न निर्माण कम्पनीलाई भने पनि अटेरी गरेकाले बर्खायाममा पुल खसेको उनले बताए । पुल नदीमाथि एल आकारमा बसेको छ । स्टिल बांगिएका छन् । गोदारका अनुसार मर्स्याङदीमा बहाव बढेको र हिउँदमा लगाएको टेको पानीले खोतलेपछि धान्न नसकेर पुल झरेको हो । ‘एक महिनादेखि मान्छे थिएनन् । हामीले पुल बांगिन थालेपछि भनेका थियौं । अहिले पुल खस्यो । एक साताअघि कामदार आएका थिए । झिक्ने सामान आएन भनेर काम गरिएको थिएन,’ उनले भने ।


तत्कालीन जिल्ला विकास समितिमार्फत प्राविधिक कार्यालयले हेर्ने गरी ग्याल्वा–क्याराभान कन्स्ट्रक्सन जेभीले निर्माण थालेको थियो । प्राविधिक कार्यालय हटेर पूर्वाधार कार्यालय सञ्चालनमा आएपछि जिल्ला समन्वय समिति मनाङले पठाएको पुलको फाइल लमजुङस्थित पूर्वाधार कार्यालयले २०७५ चैत १९ गते प्राप्त गरेको छ । कार्यालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीका अनुसार सन् २०१६ जुलाई १४ (२०७३ असार ३० गते) सम्झौता गरिएको पुल २०७५ मंसिर १५ गतेसम्म सक्नुपर्ने थियो । समयमै निर्माण सकिएको भए अहिले यो समस्या नआउने उनले बताए ।


ग्याल्वा–क्याराभान जेभी काठमाडौंले भ्याटबाहेक ४ करोड ५१ हजार ४ सय ७२ रुपैयाँमा उक्त पुल बनाउन लागेको हो । ३५ मिटर लम्बाइ र साढे ४ मिटर चौडाइको पुल खस्दा ५० देखि ६० लाख रुपैयाँसम्म क्षति भएको पराजुलीले बताए । उनका अनुसार पुल जोडदा र खोल्दा भारतीय कामदारको आवश्यकता पर्छ । यस्तो पुलमा स्टिल जोड्ने नेपाली कामदार प्रायः भेटिँदैनन् । पुलमा समस्या आएपछि २ महिनाअघि नै सचेत गराइएको उनले बताए । ‘पुलमा समस्या आएको जानकारीपछि कामदार १५ दिनअगावै गएका थिए,’ उनले भने, ‘कामदार जसोतसो पुगे । बाढीपहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि खोल्ने मेसिन पुर्‍याउन सकिएन । त्यसकारण पुल खस्यो ।’


क्याराभान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाका अनुसार पुलका लागि राखिएको सपोर्ट पानीले बगाएको हो । ‘स्टिलको काम पूरा हुनै लागेको थियो,’ उनले भने, ‘पुल लच्किएको जानकारी आउनेबित्तिकै कामदारलाई जोड्ने सामग्रीसहित पठाएका थियौं । म्यार्दी खोलामा पुल बगाएका कारण सामान लैजान नसक्दा काम गर्न पाएनौं ।’


प्रदेशसभा भवन डुबानमा

विराटनगर– वर्षाले विराटनगरस्थित प्रदेशसभा भवन डुबानमा परेको छ । सामान्य वर्षामा पनि बैठक कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । विराटनगर महानगरपालिकास्थित अस्पताललगायत क्षेत्र पनि डुबानमा परेका छन् । ढलको उचित निकास नगरी सडक अग्लो बनाइएका कारण कोसी अञ्चल अस्पताल परिसर जलमग्न छ । ढलको पानी औषधि पसल र प्रशासनिक भवनमा पसेपछि समस्या भएको छ ।


पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समस्या भएको छोराको उपचार गराउन आएकी पवित्रा ऋषिदेवले बताइन् । दुई दिनदेखि जमेको पानी नसुकेपछि सुरक्षाकर्मीले पम्प लगाएर फ्याँक्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलको भनाइ छ ।


सशस्त्र प्रहरी बल ३ नम्बर गण कंकालिनी मोरङका सई केदार कटुवालको नेतृत्वको टोलीले अस्पताल परिसरमा जमेको पानी पम्पसेटबाट निकाल्न थालेको छ । प्रदेशसभा भवन र हस्पिटल चोकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर घनश्याम काफ्लेसहितको टोलीले अनुगमन गरेको छ । अञ्चल अस्पताल र आसपासका क्षेत्रमा जमेको पानीको निकासका लागि देवकोटा चोकमा एस्काभेटर लगाएर कल्भर्टबाट पानी पास गराइएको छ ।


श्रीलंका टप्पुमा कोसी कटान

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका ६ मा पर्ने श्रीलंका टप्पुको चिलैया बस्तीमा कोसी नदीको भंगालाले कटान तीव्र पारेको छ । लगातार झरी परेपछि कोसीमा पानीको सतह पनि बढेको छ ।

चार दिनदेखि कटान हुन थालेको वडा सदस्य श्याम लिम्बूले जानकारी दिए । ‘कोसीले चिलैया बस्तीका करिब ५० घर जोखिममा परेका छन् । उद्धारका लागि कतैबाट पहल हुन सकेको छैन,’ उनले भने । यहाँको बालसेवा आधारभूत विद्यालय पनि कटानमा परेको छ । कोसीले चार दिनयता दैनिक सरदर पाँच मिटरका दरले कटान गरिरहेको उनले बताए ।


‘यसरी नै कटान हुँदै जाने हो भने दुई/तीन दिनमा चिलैया बस्ती नै बगाउन सक्छ,’ लिम्बूले भने, ‘पानीको सतह पनि बढिरहेकाले कहाँ जाने, के गर्ने भनेर आत्तिएका छौं ।’ सरकारी निकाय र प्रहरी प्रशासनको कमै उपस्थिति हुने उक्त श्रीलंका टप्पु उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको बीचमा पर्छ ।



प्रकाशित : असार २७, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?