बाढीले बाटो छेकिएपछि दुई दिनदेखि हजारौं यात्रु अलपत्र

कुम्भराज राई

ओखलढुंगा — दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।

अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेका एक यात्रु चतुर राईले टेलिफोनमा बताए । उनले खाना समेत पाइन छोडेको बताए ।

दुईदिन सम्म बाटोमा छेकिादा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।



तस्बिर सौजन्यःचतुर राई

प्रकाशित : असार २७, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

आज तुलसीको बिरुवा रोप्ने दिन

रासस

काठमाडौँ — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा सुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा शुक्रबार मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भगवान् विष्णु शयन गर्ने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रकाशित : असार २७, २०७६ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्