कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दूतावासको सिफारिसमा अध्यागमनको आशंका

घनश्याम खड्का

काठमाडौँ — संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित नेपाली दूतावासले दुबई जाने नेपालीका लागि ठूलो संख्यामा सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी गर्दै आएको फेला परेको छ । सामान्यतः अप्ठेरो अवस्थामा बाधा फुकाउन गरिने कूटनीतिक सिफारिस आम रूपमा हुन थालेको पाइएपछि आश्चर्यमा परेको अध्यागमन विभागले जनाएको छ ।

‘दूतावासले आवश्यकै नपर्ने सिफारिस गरिरहेको देखेर अचम्ममा परेको छु,’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले कान्तिपुरसित भने, ‘सिफारिस लिएर आउनेमा युवकभन्दा युवतीको संख्या बढी पाइएपछि कतिपय अवस्थामा शंका लागेर फर्काइदिने गरेका छौं ।’


दूतावासको पत्र लिएर भिजिट भिसामा दैनिक औसत दुई दर्जन नेपाली दुबई जाने गरेको देखिएको छ । दुबईमा भिजिट भिसालाई वर्किङ भिसामा बदल्न पाउने व्यवस्था छ । ‘दुबईमा यसरी आएका कतिपय युवती दक्षिण अफ्रिकादेखि युरोपका अनेक देशमा तस्करका हातबाट बेचिन पुगेका छन्,’ स्रोतले भन्यो, ‘युवक भने नेपाल सरकारद्वारा रोजगारीका लागि प्रतिबन्धित जोखिमपूर्ण देशहरू इरान, अफगानिस्तानलगायतमा जान्छन् । यसमा नियोगका अधिकारी र म्यानपावर कम्पनीका दलालहरूको मिलेमतो देखिन्छ ।’


भिजिट भिसामा आएर दुबईमा नर्तकीको काम गरेर बसेका नेपाली युवतीको अवस्था जोखिमपूर्ण रहेको पनि स्रोतले बतायो । तीमध्ये कतिपय उद्धारका लागि सहयोग गरिदिनुपर्‍यो भन्दै शरण माग्न आउने गरेको दूतावासकै एक कर्मचारीले बताए । डेढ वर्षदेखि कार्यवाहक राजदूत भएर नियोग चलाउँदै आएका सागर फुयाँलका पालामा बढी एनओसी जारी भएको अध्यागमनका कर्मचारीले बताए ।


‘कुनै पनि देशमा जान सम्बन्धित देशको भिसा भए पुग्छ, हाम्रो दूतावासको कुनै सिफारिस पत्र चाहिने होइन,’ महानिर्देशक पौडेल भन्छन्, ‘आबुधाबीबाट दिनहुँ थुप्रैलाई एनओसी जारी भइरहेको देख्दा हामीलाई शंका लागेको छ ।’ दुबईमा बस्ने नेपालीका आफन्त र परिवारजन भएको जनिने गरी एनओसी बनाइएका केहीलाई छानबिन गर्दा नक्कली समेत भेटिएको पौडेलले बताए । ‘यसमा मलाई हाम्रा केही कर्मचारीको पनि मिलेमतो छ कि भन्ने आशंका छ,’ उनले भने, ‘म त्यसको उचित खोजबिन गर्छु ।’


नियोग उपप्रमुख फुयाँलले एनओसी जारी हुँदै आएको तथ्यलाई स्वीकार गरे पनि यो आफ्ना पालाबाट सुरु नभएको बताए । ‘विदेश आउन हामीले यसरी एनओसी जारी गर्नुपर्छ भनेर कुनै कानुनमा नलेखिएको सत्य हो,’ उनले भने, ‘मभन्दा अगाडि निमित्त प्रमुख भएर बस्नु भएका नेत्रबहादुर टण्डनकै पालादेखि यसरी जारी हुन्थ्यो । मैले त चलनअनुसार काम गरेको मात्र हो ।’


उनले अध्यागमनले नै एनओसी माग्ने भएकाले दूतावासले जारी गर्दै आएको दाबी गरे । हालै राजदूत भएर गएका कृष्णप्रसाद ढकालले भने अबुधाबी नियोगबाट जारी हुँदै आएको एनओसीका सम्बन्धमा आफू बेखबर रहेको बताए । ‘म भर्खरै आएको छु, यो ककसको संलग्नतामा भइरहेको छ, म अब बुझ्छु,’ उनले कान्तिपुरसँग टेलिफोनमा भने ।

प्रकाशित : असार २७, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?