कार्यविधि मिचेर नियुक्ति

पोखरा — पोखरा विश्वविद्यालय सेवा आयोगले कर्मचारी छनोट कार्यविधि र शिक्षक कर्मचारी नियमावलीविपरीत प्रशासनतर्फ सहायक प्रशासक पदमा भर्ना गरेको छ ।

कार्यविधिबमोजिम आयोगले छनोट भएका उम्मेदवारको नामावली प्रकाशन गर्दा वैकल्पिक नामसमेत प्रकाशन गर्नुपर्छ । वैकल्पिक उम्मेदवार राख्दा आफूले चाहेको मान्छे भर्ना गर्न नसक्ने देखिएपछि अन्तर्वार्तामा ‘अयोग्य’ बनाइएको भेटिएको छ ।


लिखित र प्रमाणपत्रको अंक मात्रै जोडिँदा धेरै ल्याउने उम्मेदवारभन्दा कम अंक ल्याउने छनोटमा परेपछि उक्त खुलासा भएको हो । २०७३ कात्तिक १० मा विज्ञापन नम्बर १/०७३/०७४ बाट प्रशासनतर्फको सहायक प्रशासकमा २ खुला र १ महिला मागिएको थियो । गत वैशाख ५ मा लिखित परीक्षा भयो ।


जेठमा ५ जनाको अन्तिम नामावली प्रकाशित भयो । पाँचैजनालाई असार ८ मा अन्तर्वार्ताका लागि बोलाइयो । असार ११ मा विश्वविद्यालयले नतिजा प्रकाशन गर्‍यो । नतिजा आउँदा एक वैकल्पिक नामसमेत प्रकाशित गर्नुपर्नेमा छनोट भएकाको मात्रै प्रकाशन भयो ।


लिखितमा ५ भित्र नाम निकालेका विमल न्यौपाने सेवा आयोगले आफूले चाहेको मान्छे भर्ती गर्न वैकल्पिक उम्मेदवारको नाम प्रकाशित नगरिएको आरोप लगाउँछन् । ‘वैकल्पिकको नाम प्रकाशित गर्दा अन्तर्वार्तामा अंक दिनुपर्‍यो,’ उनले भने, ‘अन्तर्वार्तामा अंक दिँदा सेवा आयोगले चाहेको मान्छे पर्ने भएन ।’


आयोगले आफू र दीपेन्द्र पण्डितलाई अन्तर्वार्तामा बिनाआधार अयोग्य बनाएर अंक नदिइएको बताउँछन् । आयोगका अध्यक्ष रघुनाथ अधिकारीले कार्यविधिअनुरूप नै कर्मचारी छानेको दाबी गरे ।

प्रकाशित : असार २७, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?