झापा पनि जलमग्न

अर्जुन राजवंशी

बिर्तामोड — अविरल वर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न बनेको छ । कनकाई, विरिङ, कमल, रतुवा, मेची, देउनिया, आन्धुवालगायतका नदी तथा खोलामा पानीको बहाव उच्च भएको छ ।

कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका १० को बगर बस्तीमा कटान गरिरहेको छ । कटानका कारण बगर बस्तीका ५५ घर उच्च जोखिममा परेको छ । शुक्रबार मध्यान्हसम्म बगर बस्तीमा करीब २ सय मीटर कटान भएको छ । गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजार पश्चिममा रहेको सन्थाल बस्ती डुबानमा परेको छ ।

डुबानका कारण बस्तीका १२ परिवार आआफ्ना घरका सामानसहित बजार क्षेत्रको सुरक्षित स्थानमा आएर बसेका छन् । गौरीगञ्ज १ कै भन्सारस्थित बालुवाढी बस्तीका ७ परिवार पनि डुबानका कारण सुरक्षित स्थानमा सरेका छन् । उक्त वडाको चौरीस्थित झोडामा बाँध फुट्न लागेको छ । कनकाई नदीमा आएको बाढीले बाँध फुटाउन लागेकोले अहिले आपतकालिन तारजालीसहित बाँध सुरक्षित गर्ने कार्य भइरहेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।

बिर्तामोड नगरपालिका ३ करेलाबारीका ५० भन्दा बढी घर डुबानमा परेका छन् । अन्धुवा खोलामा आएको बाढी बस्तीतर्फ पस्दा घरहरु डुबानमा परेका हुन् । बिर्तामोड बजार क्षेत्रका अधिकांश ढलको निकास अन्धुवा खोलामा मिसाउदा यो बर्ष बाढीले डुबान बनाएको स्थानीय मनोज ठाकुरले बताए । करेलाबारीमा अन्धुवा खोलाले कटान समेत गर्न थालेको छ । डुबान तथा कटान क्षेत्रको अवलोकन गर्दै मेयर ध्रुव सिवाकोटी र वडाध्यक्ष भोजराज सिटौलाले आपतकालीन रोकथामका लागि बाँध बाँध्ने बोरा तयारी अवस्थामा राखेको जानकारी दिए । लगातारको वर्षाले बिर्तामोड–भद्रपुर सडक खण्ड हिलाम्मे बनेको छ । चार लेनको निर्माणाधीन सडकमा खाल्डाखुल्डी तथा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।

झापा गाउँपालिका ५ स्थित राधाबस्तीमा २०, खयरबारीमा २१ र पुरानो शरणामतीमा १२ घर डुबानमा परेका छन् । उक्त गाउँपालिकाको कुमरखोद बजारपश्चिम, नारिवलटोलालगायतका बस्ती पनि डुबानमा परेका छन् । विरिङ र सानोमाई खोलाको बाढीले झापा गाउँपालिकाको १, २, ४ र ५ नम्बर वडाका अधिकांश वडा डुबानमा परेका छन् । डुबान भएपनि विस्थापित तथा मानविय क्षति नभएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । जिल्लामा डुबान तथा कटानको उच्च जोखिमको गाउँपालिका भएकाले रबर बोटसहितको टोली उद्दार तथा राहतका लागि तयारी अवस्थामा राखेको अध्यक्ष साहले बताए । गाउँपालिकाले एक सय बढी लाइफ ज्याकेट र एउटा रबर बोट खरिद गरेको छ ।

बाह्रदशी गाउँपालिकाका केही बस्ती पनि डुबानमा परेका छन् । राजगढ बजार, भानुचोकको सन्थाल बस्ती, घाग्रा खोला पश्चिमको गाउँ डुबानमा परेको ३ नम्बरका वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिए । पानीको निकास नहुँदा दमक नगरपालिकाको बजार क्षेत्र डुबानमा परेको छ । बसपार्क, हवल्दार चोक, दीपिनी खोला आसपासका क्षेत्रका घरहरु डुबानमा परेका छन् ।

प्रकाशित : असार २७, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले घर पुरिँदा २ को मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनामा परी उनकी बुहारी ३० वर्षीय सुशीला र नातिनी ३ महिनाकी अनुस्का दंगाल घाइते भएका छन्। घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। छिमेकी दिवाकर दाहालका अनुसार, करिव २५ मिटर खसेको पहिरोले कच्ची घर बगाएको थियो। भूकम्पले चर्किएको घर पहिरोको समेत जोखिममा थियो।

प्रकाशित : असार २७, २०७६ १३:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्