विपद्‌बाट हुने क्षति रोक्न सरकारी संयन्त्र ‘हाइ अलर्ट’ मा

केही दिन अझै पानी पर्ने
रासस

काठमाडौँ — मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्‌बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ ।

मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रीत भएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य सङ्घसंस्था उच्च तयारीमा जुटेको छ ।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उक्त योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ ।

हरेक क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्नो उद्धार टोली तयारी अवस्थामा राखेका छन् । नेपाली सेनाले काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसहित उद्धार टोली राखेको खनालले जानकारी दिए । उनले भने, 'विपद्मा हुने सम्भावित घटनाको उद्धार र राहतका लागि सबै तयारी भएको छ, प्रदेश, जिल्ला र स्थानीय तह पनि तयारी अवस्थामा छन्, समग्रमा भन्दा सरकार ‘हाइ अलर्टमा छ’ ।'

हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ । अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ । जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृहमन्त्रालयको रहेको छ । नेपालको संविधान २०७२ ले विपद्मा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ । संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

मौसम सूचना प्रणाली प्रभावकारी

मौसम तथा नदीमा बाढी सतहको पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभाग र बाढी महाशाखाले सूचना र प्रविधिको प्रयोग गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार हाल नेपालमा तीन दिनसम्मको मौसमको जानकारी दिन सकिने अवस्था रहेको केही महीनाभित्रमै मौसमको कुनै खतरा हुने वित्तीकै मोबाइलमा सन्देश पठाउन सक्ने गरी प्रविधिको विकास गर्न लागिएको छ । यसले अझै मौसमको जानकारी थप प्रभावकारी हुने श्रेष्ठले बताए ।

गृहमन्त्रालयका अनुसार विभागले नदीको जलाधारक्षेत्र मध्य २४४ जोखिम क्षेत्र पहिचान गरेको छ । त्यमध्ये मुख्य नदीमा हुने बाढीको पूर्वसूचना दिने गरिएको छ । पूर्वसूचनाका लागि एसएमएस प्रणालीदेखि वेबसाइटबाट जानकारी दिने तथा खतरा र चेतावनीको सूचनाका लागि साइरन बजाउनेसम्मका काम भैरहेको छ ।

आज देशका अधिकांश क्षेत्रमा बदली हुने र धेरै स्थानमा वर्षा हुने विभागको सूचना प्रणालीमा उल्लेख छ । खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षा हुने र केही स्थानमा हावाहुरीको सम्भावना छ । राती पनि मौसम बदली भई धेरै स्थानमा वर्षा हुने छ । तीन दिनसम्मै यो क्रम जारी रहने विभागले जनाएको छ ।

यस्तो छ मन्त्रालयका तयारी

विभिन मन्त्रालयले समेत विपद् जोखिम कम गर्न आवश्यक तयारी गरेको छ । आफ्नो मातहतका निकायलाई उच्च सतर्कता अपनाउन लगाउनेदेखि उचित समन्वयका लागि तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको मनसुन आपत्कालीन कार्ययोजना २०७६ मा ती मन्त्रालयले उल्लेख गरेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुनमा हुनसक्ने जोखिम कम गर्न स्थानीय तहलाईसमेत उच्च सतर्कताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पूर्वसूचना प्रणालीलाई चुस्त राख्ने, स्थानीय क्षेत्रमा क्रियाशील विकास साझेदार संस्थासँग समन्वय गरी खाद्यान्न, राहत सामग्री औषधोपचारका लागि तयारी गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालय नदी खोला पन्छाउने तथा आपत्कालीन अवस्थामा मित्रराष्ट्रको सहयोग लिने गरी समन्वयको तयारी अबस्थामा रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयबाट प्राप्त सूचनाको आधारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन कार्यलाई प्रभावकारी बनाई सार्वजनिक संस्थानलाई थप सक्रिय बनाउने, अत्यावश्यक वस्तुको मौज्दात र आपूर्ति व्यवस्थापनमा सहज पार्ने काममा सक्रिय रहेको कार्ययोजनामा जनाइएको छ ।

शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागले सुरक्षित स्थानको व्यवस्थापन गरी आवश्यक समन्वयको काम गर्ने कार्ययोजनामा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग फैलन नदिन प्रकोप नियन्त्रण, चिकित्सक परिचालन गर्नेदेखि औषधोपचारमा क्रियाशील हुने छ । कृषि तथा पशुपक्षी विकास मन्त्रायलले कृषि तथा पशुपक्षी क्षेत्रको जोखिम कम गर्ने एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला बालबालिका र जेष्ठ नागरिकको उचित व्यवस्थापनमा सक्रिय हुने गरी कार्ययोजना पेश गरेको छ ।

सुरक्षाकर्मी पूर्ण तयारीमा

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विपद् जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारीमा बसेको छ ।

विपद्को छोटो समयमा प्रभावकारी रुपमा परिचालन हुने गरी विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत नेपाली सेनाले १ नं विपद् व्यवस्थापन गणलाई काठमाडौँ र पूर्वतर्फको प्रदेश हेर्ने तथा २ नं गणलाई चितवन तथा पश्चिमतर्फको प्रदेश हेर्ने गरी तालीमप्राप्त उद्धारकर्ता तयारी अवस्थामा राखिएको छ । जसका लागि सेनाले आकस्मिक उद्धार टोली ५६१ जनशक्ति तयारी गरेको छ । अन्य एक हजार ७८२ जनशक्ति तयारी अवस्थामा छन् भने हरेक क्षेत्रबाट आवश्यकताअनुसार टोली खटिन सक्ने नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिए । गण भएको जिल्लामा १०४ र गुल्ममा ३० जना तैनाथ हुन्छन् । नपुग भए माथिल्लो तहबाट थप हुन्छ ।

मनसुनको समयमा बाढी पहिरोबाट हुने राजमार्गको क्षति उद्धार, राहत तथा सडक सञ्चालनका लागि एक्रोज ब्रिज र डुंगासहित आवश्यक जनशक्ति तयार पारेको छ । काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसमेत तयारीमा राखेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारका लागि दुई हजारभन्दा बढी दक्ष जनशक्ति तयार पारेको प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीका आठ बाहिनीमा ५० जनाको दरले विपद् उद्धार समूह तयारी अवस्थामा छ । हरेक गणमा ३५ र गुल्म १० जना छन् भने आवश्यक जनशक्तिसहित १९ जना गोताखोरलाई कुरिनटार, काठमाडौं, पोखरा र सुनसरीमा खटाइएको श्रेष्ठले जानकारी दिए । आवश्यक उद्धार उपकरणको समेत व्यवस्था गरिएको छ ।

नेपाल प्रहरीले सातै प्रदेशसम्बन्धी प्रहरी युनिटबाट आवश्यक तयारी गरेको छ । आवश्यकतानुसार विपद् व्यवस्थापन महाशाखा तथा प्रदेशअन्तर्गतको व्यवस्थापन गुल्मबाट दक्ष जनशक्ति खटिने जनाइएको छ ।

प्रहरीले केन्द्रमा खोज उद्धारका लागि ३० ‘क्विक रेस्पोन्स टिम’ तयार गरेएको छ । डुंगा चलाउन सक्ने १६, पौडिन सक्ने २८ तथा आवश्यक मात्रामा जनशक्ति थप्नसक्ने गरी तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय र सातै प्रदेशमा गरी कूल ५०० दक्ष प्रहरी जनशक्ति तयार गरिएको छ । आवश्यकता अनुसार प्रहरी अरु थप परिचालन हुनेछ ।

प्रकाशित : असार २७, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

उर्लियो भक्तपुरको हनुमन्ते, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान सुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । 

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालई उच्च सतर्कतामा रहन आग्रह गरेको बताए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ भट्टका साथै नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्र अनुगमन गरेको छ ।

उनले भने, 'हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौं, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।'

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छ । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शङ्खधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायत क्षेत्रबाट बाढी बस्तीमा पस्न थालिसकेका छन् । शङ्खधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोली जिल्लामा आइपर्ने विपद् न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा यस वर्ष २० लाख रुपैयाँ विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको छ ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र कमरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायत क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयौँ घर डुबानमा पर्नाका साथै करोडौँको धनमाल क्षति भएको थियो ।

यस वर्ष हनुमन्ते करिडोर निर्माण सुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दामा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएकाले थप समस्या बल्झिएको हो ।

सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताए । उनले उक्त करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाब फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्न आवश्यक पहल भइरहेको बताए ।

विसं २०७५ मङ्सिरदेखि उक्त करिडोरको निर्माण कार्य सुरु भई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकामा असार लागेलगत्तै भूमाफियाको चलखेलमा रोकिएको छ । मध्यपुर थिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माण कार्य पुगेपछि २०२१ सालको नापी नक्साअनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाले अवरोध पुर्‍याएपछि करिडोर निर्माण रोकिएको बालकोटका रामशरण श्रेष्ठले बताए ।

आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा पस्न थालेको बताउँदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ ।

जग्गाधनीको सहमतिअनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साका आधारमा दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार करिडोर निर्माण गरिएकामा एक महीनादेखि रोकिएको छ ।

प्रकाशित : असार २७, २०७६ १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्