बाढीले बगाएर झापामा २ को मृत्यु, एक बेपत्ता

अर्जुन राजवंशी

बिर्तामोड — अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् ।

बाढीले बगाएर झापामा २ को मृत्यु, एक बेपत्ता

कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार इलाम चुलाचुली गाउँपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान १० बजे घरबाट हिँडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा स्थानीयले बेलुका साढे ५ बजेतिर फेला पारेका थिए ।


दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ । दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेकी थिइन ।


खोलाले बगाएकी बालिकालाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल ल्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् । अपरान्ह ४ बजेट भद्रपुर नगरपालिका ९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा हस्दालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनको खोजी कार्य जारी राखेको श्रेष्ठले बताए ।

प्रकाशित : असार २७, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?