पाल्पाको शिद्देश्वरमा झाडापखालाबाट ६० बढी बिरामी 

माधव अर्याल

पाल्पा — जिल्लाको रैनादेवी छहरा–१ शिद्देश्वरको विभिन्न स्थानमा फैलिएको झाडापखालाबाट ६० बढी बिरामी परेका छन् । शिद्देश्वरको मगरानमा ३५, अर्चलेमा २९ जना बढी बिरामी परेको वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए । 

पाल्पाको शिद्देश्वरमा झाडापखालाबाट ६० बढी बिरामी 

तीन दिनदेखि फैलिएको झाडापखालाबाट १४ जनालाई अस्पताल पठाइएको थियो । ४ जना गम्भीर बिरामीको मिसनमा उपचार भइरहेको छ । अगाहा र रिडीमा पनि उपचार भइरहेको छ ।


वडाध्यक्ष दर्लामीका अनुसार बुधवार अर्चलेमा केही व्यक्तिलाई झाडापखाला देखिएको थियो । रैनादेवी छहरा स्वास्थ्य शाखामा बुधवार बेलुकी नै झाडापखालाका विषयमा जानकारी गराएको उनले बताए । सामान्य उपचार गर्दा नभएपछि कतिपय बिरामी तानसेनको मिसन अस्पतालका साथै गुल्मीको रिडी र अगाहामा उपचार गर्न गएका थिए ।


मिसन अस्पतालमा ११ जनालाई उपचारका लागि पठाइएको उनले बताए । मिसन अस्पतालमा उपचार गराइरहेका मध्ये आठ वर्षीय संजीव पन्त र नम्रता ज्ञवालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष दर्लामीले बताए ।


शुक्रबार गाउँका धेरै बिरामी परेपछि जिल्ला अस्पतालका डाक्टर गगन अधिकारी समेतको टोली उपचारका लागि गाउँमै पुगेको छ । तीन दिनदेखि परेको पानी र ट्यांकीमा दूषित पानी मिसिएको हुन सक्ने स्थानीयले बताए ।

प्रकाशित : असार २७, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?