उपत्यकामा पहिराले ४ जनाको मृत्यु

प्रशान्त माली

काठमाडौँ — लगातार वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बाबाचोकस्थित अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नीतु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको घरको पर्खाल ढलेर पुरेको प्रहरीले जनाएको छ ।

शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।
शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउँछन् । दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए ।

टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो । ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।
पर्खालले टहरो पुरिनासाथ सशस्त्र, नेपाली सेना र प्रहरीको संयुक्त टोली उद्धारका लागि आएको थियो । टोलीले करिव डेढ घण्टा लगाई पिल्लर, डन्डी काटेर तीन जनाको शव निकालेको स्थानीयले जानकारी दिए ।

त्यसैगरी ललितपुरको वाग्मती गाउँपालिका २, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो ।

काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन् ।

डुब्यो पाटन
पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छविकालमा पाटन दरबार क्षेत्र दुपातबाट हखाः खोला बग्दथ्यो । रातो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा मंगलबजार पुगेपछि खोला तार्ने भनी गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखको उपस्थितिमा पूजा गर्ने चलन छ ।

पटो टोल सुधार समितिका अध्यक्ष वदन राजोपाध्याय भन्छन्, ‘बाउबाजेले हखाः खोला पाटन भएर वाग्मतीमा मिसिने गरेको सुनाउँथे । सडकमा पानी बगेको देखेर साँच्चिकै खोलाको अनुभूति भएको छ ।’ अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुँदा अधिकांश ठाउँ डुबेको उनले बताए । उनका अनुसार नगरमा पहिला घोडा दौडाउन मिल्ने जत्रो ढल थियो । ‘नियमित सफासुग्घर गर्न नसकेपछि विस्तारै पुरिँदै गयो, कतिपय भत्किए,’ उनले भने, ‘राणाकालसम्म आइपुग्दा सानो भइसकेको थियो । पछि ह्युमपाइप राख्न थालेपछि समस्या देखिएको हो ।’

नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापालचोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ । महापालचोकमा महालक्ष्मीस्थान, लगनखेल इटी टोल, पाटन अस्पताल, मानभवन, कुमारीपाटी, जावलाखेल र पुल्चोकको ढल आएर मिसिने गरेको छ । सातदोबाटो, लगनखेलस्थित विद्युत् प्राधिकरण, मालपोत, नापी, राजदल गण, वटुकभैरव, थटी टोल, टंगल र हौगल क्षेत्रको ढल मंगलबजारमा आएर मिसिन्छ । चोकको मंगाल सानो छ । बालुवा, रोडा, ग्राभेल, प्लास्टिक, बोरा र कपडाले पानी छेक्दा जाम हुने गरेको छ ।

महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप पनि सानो छ । यसले गर्दा एक/दुई घण्टा पानी परेमा चोकमा पोखरीझैं पानी जम्ने गरेको छ । अग्निशाला, न्याछ्यगल्ली, तःधोका र पूर्णचण्डीदेखि गाःबहाल आउने ढलको समस्या पनि उस्तै छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । ‘पहिरोले ललितपुरको गोटीखेलका रामबहादुर थाकेरको गोठ पुरिँदा भैंसी र बाख्रा पुरिएका छन्, कालेश्वरका राजेन्द्रप्रसाद दाहालको दुईतले कच्ची घर र बतासेमा एउटा गोठमा क्षति पुगेको छ,’ उनले भने । महांकाल र वाग्मती गाउँपालिकामा शुक्रबार विद्यालय बन्द गरिएको छ ।

प्रकाशित : असार २७, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेता विपिन कार्की फिल्म ‘प्रसाद’ र अभिनेत्री स्वस्तिमा खडा ‘बुलबुल’ बाट उत्कृष्ट ठहरिएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विधागत उत्कृष्टलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिन् । 

२०७३, २०७४ र २०७५ सालका गरी तीन वर्षको अवार्ड एकसाथ बाँडिएको थियो । उत्कृष्ट फिल्ममा ‘गोपी’ ले बाजी मार्नुका साथै यसै फिल्मबाट कथा र पटकथामा क्रमशः दीपेन्द्र लामा र सामिप्य तिमिल्सेनाले पनि अवार्ड थापे । विनोद पौडेलले ‘बुलबुल’ कै लागि उत्कृष्ट निर्देशनमा राष्ट्रिय पुरस्कार पाउँदा सम्पादनमा निमेष श्रेष्ठ (साइली), छायांकनमा सन्जय लामा (समर लभ) ले विधागत अवार्ड थापेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कारमा आदीवासी, जनजाति, मातृभाषी फिल्मतर्फ गुरुङ भाषाको ‘रिजे नासाँ’ उत्कृष्ट ठहरिंदा जुरी प्रोत्साहनबाट फिल्म ‘भोर’ की पूजा कर्णलाई पुरस्कृत गरिएको थियो भने गतवर्षको सर्वाधिक कमाई गर्न सफल फिल्म ‘छक्का पन्जा ३’ लाई फिल्मको व्यापार, विस्तार तथा प्रवर्द्धन सम्मान प्रदान गरिएको थियो । पुरस्कृतलाई जनही २५ हजार रुपैयाँ पनि दिइयो । यसैवर्षको दीर्घ साधना सम्मानबाट निर्देशक तुलसी घिमिरेलाई तीन लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमको शुरुवातमा नेपाली फिल्मको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुलाई समेटेर तयार पारिएको नृत्य प्रस्तुती दिइएको थियो । नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्द प्रभात, कविराज गहतराज र दीपेन्द्र तिमिल्सिनाको निर्देशनमा सरोज खनाल, गौरी मल्ल, शनि रौनियार, दीपाश्री निरौला, पुष्प खडा, दिलिप रायमाझी, रमेश उप्रेती, रेजिना उप्रेती, जीतु नेपाल, केदार घिमिरे, विमला केसी, छुल्ठिम गुरुङ, पवित्रा आचार्य, यशराज गराच, जयकिशन बस्नेत, जाहन्वी बस्नेतलगायतले प्रस्तुती दिएका थिए ।

त्यसैगरी, निर्देशक किशोर रानामगरलाई दीर्घ साधना सम्मान प्रदान गरिएको २०७४ सालमा ‘ब्लाइन्ड रक्स’ ले उत्कृष्ट फिल्मसहित निर्देशनमा मिलन चाम्स र अभिनेत्रीमा बेनिशा हमाललाई अवार्ड दिलायो । पुष्प खडा ‘मंगलम्’ बाट उत्कृष्ट अभिनेता दरिए भने लेखनतर्फ ‘धनपति’ का लागि खगेन्द्र लामिछानेले अवार्ड पाए । सम्पादनमा ‘मंगलम्’ बाटै मित्रदेव गुरुङ र छायांकनमा ‘कृ’ बाट पुरुषोत्तम प्रधान उत्कृष्ट ठहरिएका थिए ।

महिलातर्फको उल्लेखनीय अभिनयका लागि ‘मंगलम्’ बाटै मिथिला शर्माले अवार्ड पाउँदा पुरुषतर्फ ‘शत्रु गते’ मा गरेको अभिनयका लागि रमेशरञ्जन झा पुरस्कृत भएका थिए । शेर्पा भाषाको ‘टिन्छेन फामा’ ले आदीवासी, जनजाती तथा मातृभाषी फिल्मतर्फको अवार्ड जित्यो ।

२०७३ को दीर्घ साधना सम्मान अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरियो । ‘कालोपोथी’ ले २०७३ कै उत्कृष्ट फिल्मको अवार्ड जित्दा यसैबाट उत्कृष्ट कथामा मीन भाम र पटकथामा अविनाशविक्रम शाहले अवार्ड थापेका थिए । दीपक रौनियारले फिल्म ‘सेतो सूर्य’ का लागि उत्कृष्ट निर्देशक र विपिन कार्कीले ‘जात्रा’ बाट अभिनेता तथा सृजना सुब्बाले ‘डाईङ क्यान्डल’ बाट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेका थिए ।

सम्पादन र छायांकनतर्फ क्रमशः मित्रदेव गुरुङ (जात्रा) र शिवराम श्रेष्ठ (लभ सासा) बाट उत्कृष्ट ठहरिए । आदिवासी, जनजाति तथा मातृभाषी फिल्मतर्फ ‘क्यु प्ह्रो छे’ ले राष्ट्रिय चलचित्र पुरस्कार पाएको हो । ‘छक्का पन्जा’ लाई उत्कृष्ट लोकप्रिय फिल्मको राष्ट्रिय पुरस्कार दिइएको थियो । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटा, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईसहित फिल्मकर्मीहरुको उपस्थिती थियो ।

प्रकाशित : असार २७, २०७६ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्