घूससहित चार प्रहरी पक्राउ
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नं. गणका जवान हिटलर साउद पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार उनीहरूका साथबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् ।
उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित : असार २७, २०७६ २१:३०प्रतिक्रिया