२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

धावनमार्गबाट विमान चिप्लिएपछि सय उडान रद्द

सुरज कुँवर

काठमाडौँ — नेपालगन्जबाट ६८ यात्रु बोकेर काठमाडौंतर्फ आएको यती एयरलाइन्सको एटीआर–७२ विमान शुक्रबार अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदान पुग्दा आठ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध बन्यो । कम्तीमा एक सय उडान रद्द भए । हजारौं यात्रु गन्तव्यमा पुग्न सकेनन् ।

धावनमार्गबाट विमान चिप्लिएपछि सय उडान रद्द

विमानस्थल व्यवस्थापनले साँझ ७ बजेसम्म पाँच पटक समय थप्दै नोटाम जारी गरेर विमानस्थल बन्द गरेको थियो । १२ वटा अन्तर्राष्ट्रिय उडान काठमाडौंमा अवतरण हुन नसकेको विमानस्थलको फ्लाइट अपरेसन विभाग प्रमुख सुरेशमान सिंहले जानकारी दिए । तिनलाई भारतको कोलकाता, दिल्ली, ढाका, चीनलगायत गन्तव्य/मुलुकमै डाइभर्ट गरियो । आन्तरिकसमेत गरी काठमाडौंमा मात्रै कम्तीमा एक सय उडान अवरुद्ध भए ।


नेपालगन्जबाट बिहान १०ः०६ मा उडेको यतीको विमान एक घण्टापछि काठमाडौंमा अवतरण गर्ने बेला ११ः०५ मा चिप्लिएको थियो । नेपालगन्जबाट सिमरा हुँदै कोटेश्वरतर्फको प्रवेश विन्दुबाट छिरेको जहाज धावनमार्गको १२ सय ८० मिटर पार गरी त्यहाँबाट १५ मिटर उत्तरपूर्वतर्फ घाँसे मैदानमा पुगेको थियो ।


त्यति बेला काठमाडौं उपत्यकाभित्र सिमसिम पानी परेको र छड्के हावा (क्रस विन्ड) चलेको थियो । हावाको गति प्रतिघण्टा १० नटिकल माइल गतिमा थियो । यस्तो अवस्थामा जहाज उडान अवतरणमा अत्यधिक सावधानी अपनाउनुपर्छ । घटनामा तीन जना यात्रु मात्रै सामान्य घाइते भएको र चालक दलका चार जना सदस्यलाई केही नभएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


घटनालगत्तै तीनै जनालाई एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पठाइएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । साँझ ६ बजेर ४० मिनेटमा जहाजलाई घाँसे मैदानबाट तानेर धावनमार्गमा ल्याइएको विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलले बताए । त्यहाँबाट जहाजलाई उत्तरतर्फको रिमोट पार्किङमा ७ बजे पुर्‍याइएको थियो । साँझ ७ बजेपछि मात्र विमानस्थल पुनः सञ्चालनमा आएको थियो ।


७२ सिट क्षमताको जहाज धावनमार्ग बाहिर भए पनि त्यसले अन्य जहाज उडान र अवतरणमा अवरोध गर्ने भएकाले नोटाम जारी गरेर विमानस्थल बन्द गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको भनाइ छ । अन्तर्राष्ट्रिय नियमअनुसार विमानस्थलको धावनमार्गदेखि १५ मिटर वरपरको क्षेत्रमा कुनै पनि वस्तु हुनुहुँदैन । यस्तो हुनुलाई ‘रन–वे अब्स्ट्र्याकल’ मानिन्छ । अन्यथा जहाज अनियन्त्रित भई दुर्घटना हुन सक्ने जोखिम उच्च हुन्छ ।


विमानलाई सुरक्षित स्थानमा लैजान विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतीकै इन्जिनियरिङलगायतका प्राविधिक खटिएका थिए । बुद्धको ल्यान्डिङ गियर निकाल्ने स्याकल र धावनमार्ग मर्मत गरिरहेको चिनियाँ कम्पनीका उपकरण प्रयोग गरेर घाँसे मैदानबाट विमान निकालिएको थियो ।


यसअघि यस्तै रन–वे एस्कर्सन (धावनमार्गबाट चिप्लिने) घटना हुँदा १२ घण्टादेखि चार दिनसम्म विमानस्थल बन्द भएको थियो । गत भदौमा यतीकै जेटस्ट्रिम विमान यही धावनमार्गमा चिप्लिँदा १२ घण्टा नेपालको हवाई सम्पर्क टुटेको थियो । त्यसअघि वैशाखमा मलेसियाको मालिन्दो एयरको जहाज धावनमार्गबाट ४० मिटर बाहिर अड्किँदा १३ घण्टा विमानस्थल अवरुद्ध भएको थियो ।


०७१ फागुनमा टर्कीको राजधानी स्तानबुलबाट आएको विमान धावनमार्गबाहिर अवतरण हुँदा चार दिन विमानस्थल बन्द भएको थियो । ‘हजारौं उडानमा एउटा रन–वे एस्कर्सनको घटना हुन सक्छ । तर नेपालमा बेलैमा जहाज निकाल्ने उपकरण नै भएनन्,’ काठमाडौं विमानस्थलका एक अधिकारीले भने ।


‘यस्तो घटना हुँदा सेना, प्रहरी, विमानस्थल, निजी एयरलाइन्स, ग्राउन्ड ह्यान्डलिङ एजेन्सी, निर्माण व्यवसायीका उपकरण आदिको सहयोग लिइन्छ,’ उनले भने । यस्ता घटनामा पर्यटन मन्त्रालयले ध्यान नपुर्‍याउँदा केही मिनेटको काममा घण्टौं लाग्ने गरेको छ ।


अनि चिप्लियो जहाज

यतीको यो उडानको कमान्ड सम्हालेका थिए, पाइलट प्रमोद पौडेलले । यतीको पाइलटसम्बन्धी अपरेसन विभागका निर्देशक एवं प्रशिक्षक पाइलट पनि हुन् उनी । शुक्रबार यतीको जहाज अवतरणका बेला क्लियर भिजिबिलिटी थिएन । त्यसैले दुईवटा सीआरजे विराटनगर डाइभर्ट भएका थिए । बुद्ध र यतीकै ७ वटा विमान काठमाडौंमा अवतरण हुन नसकेर भैरहवा र पोखरामा डाइभर्ट भएको त्यति बेला टावरमा रहेका एक एटीसीले बताए ।


नेपाल एयरलाइन्सको वाइडबडी विमानले काठमाडौंमा अवतरण गर्न नसकेपछि यतीको यो विमानले अवतरणका लागि अनुमति लिएको थियो । ‘एटीसीले त्यस बेलाको अवस्था पनि जानकारी गराएका थिए,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘यतीका क्याप्टेन पौडेलले म ट्राई गर्छु भनेर अवतरणको प्रयास गरेका थिए ।’


यती एयरलाइन्सका एक पाइलट भने त्यति बेला विमानलाई काठमाडौंमा अवतरण नगर्न भनिएको थियो । ‘हाम्रै कम्पनीका क्याप्टेनले काठमाडौंमा अवतरण गर्न नसकेपछि ‘नटएडभाइजेबल’ (नजान आग्रह गर्नू) भनेका थिए,’ यती स्रोतले भन्यो ।


मौसम खराब भएका बेला पाइलटहरूले प्रायः उडिरहेका विमानका चालकसँग सुझाव माग्छन् । अवतरण गर्न नसकिने अवस्थामा पाइलटहरूले ‘नटएडभाइजेबल’ भन्छन् ।


शुक्रबार चिप्लिएको जहाजका क्याप्टेनले अगाडिको पाङ्ग्राको स्टेयरिङले राम्ररी काम नगरेको कम्पनीलाई भनेका छन् । पानी परिरहेका बेला जहाज हाइड्रोप्लानिङमा परेको उनको भनाइ छ । कोपाइलट महेशकुमार मोदीसहित ककपिटमा रहेका पौडेलले आफूले नै जहाज अवतरण गराएको भनी प्राधिकरणमा रिपोर्ट गरेका छन् । घटनाबारे प्राधिकरणले छानबिन गर्ने जानकारी दिएको छ ।


प्रकाशित : असार २८, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?