दु:ख गरेर संकलन गरेको यार्चा झोलामै थन्कियो

राजबहादुर शाही

(मुगु) — मुगमकार्मारोङ गाउँपालिकाको मह गाउँका छिरिङछोर्मे तामाङले पाँचसय गोटा यार्चागुम्बु संकलन गरे । ज्यानको बाजी थापेर कष्टले टिपेको यार्चा अहिलेसम्म बिक्री नहुँदा भने उनी समस्यामा छन् । 

मुगु गाउँका पासाङ तामाङले संकलन गरेका ६५ गोटा यार्चा पनि बिकेको छैन । उनीहरू मात्र होइन, मुगु गाउँका करिब डेढ सय परिवारले संकलन गरेको करोडौं मूल्यको यार्चा झोलामै थन्किएको छ । एक महिनासम्म पाटनमा दुःख गरेर टिपेको यार्चाले बजार नपाउँदा संकलक निराश बनेका हुन् ।

मुगमकार्मारोङ गाउँपालिकाका करिब ४ हजार स्थानीय यार्चा संकलन गर्न पाटन पुगेका थिए । विगत वर्षमा व्यापारी यार्चा किन्न पाटनमा जाने गरेको भए पनि यस वर्ष नजाँदा समस्या भएको हो । लुटपाट र चोरीको डरले यो वर्ष यार्चा व्यापारी पाटन पुगेनन् । अघिल्लो वर्ष ७ सयवटा यार्चा टिपेर पाटनमै बिक्री गरेको छिरिङछोर्मेको भनाइ छ । कुहिने र किराले खाने डरले दिनदिनै यार्चा सुकाउनुपरेको उनी बताउँछन् । ‘यार्चा बेचेर कमाएको रकमले ऋण तिर्ने सोचाइ थियो,’ उनले भने, ‘यस वर्ष त यार्चा नै बिकेन ।’

मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्चा बिक्री नहुँदा स्थानीय समस्यामा परेको बताए । तिब्बतका व्यापारीले मूल्य निर्धारण नगर्दा व्यापारीले संकलकबाट यार्चार् किन्ने आँट नगरेको उनी बताउँछन् । ‘सबैको यार्चा झोलामै थन्किएको छ,’ उनले भने, ‘विकासको काम, खेती र पठनपाठन छोडी पाटनमा पुगेका स्थानीय समस्यामा परेका छन् ।’ उनका अनुसार अधिकांश स्थानीय ऋण काडेरै यार्चा टिप्न पाटन पुगेका थिए ।

२० हजार ऋण गरेर यार्चा टिप्न पाटन गए पनि बिक्री नहुँदा सास्ती भएको रिउस गाउँका टाँसी तामाङले बताए । उनले यस वर्ष डेढ सय गोटा यार्चा टिपेका छन् । ३ वर्षयता क्रमिक रूपले यार्चाको मूल्यमा गिरावट आउँदा संकलकले घाटा ब्योहोरेको उनी बताउँछन् । तिब्बतबाट यार्चाको मूल्यसूची पाएपछि व्यापारीले आफूलाई फाइदा हुने गरी यार्चा खरिद गर्ने गरेको उनले जानकारी दिए । पहिल्यै यार्चा खरिद गरेपछि घाटा लाग्ने भएकाले खरिदमा समस्या भएको यार्चा व्यापारी प्रवीण तामाङको भनाइ छ । उनका अनुसार यार्चाको मूल्य वर्षेनि घट्दै गइरहेको छ ।

२०७० सालदेखि यार्चा संकलकको संख्यासमेत घट्दै गएको गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार त्यसअघि पाटनमा ८ हजार बढीले यार्चा संकलन गर्ने गरेका थिए । २०७१ सालयता संकलको संख्या घटेको उनको भनाइ छ । मुगमकार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा उत्पादन हुने मध्यम खालको यार्चा गत वर्ष प्रतिगोटा ३ सयदेखि ५ सय र ठूलो यार्चा प्रतिगोटा ८ सयदेखि १ हजार रुपैयाँमा बिक्री भएको थियो । व्यापारीले जिल्लाको यार्चा प्रतिकिलो ८ लाखदेखि १२ लाख रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

माथिमाथि सर्दै यार्चा
विगतका वर्षमा समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा यार्चा पाइन्थ्यो । केही वर्षयता माथि माथि सर्दै गएको छ । अहिले ५ हजार ५ सयदेखि ५ हजार ६ सय मिटर उचाइमा सरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जलवायु परिर्वतन र संकलन क्षेत्रमा फोहर बढ्दै गएपछि यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । यार्चा हरेक वर्ष माथिल्लो क्षेत्रमा सर्दै गएको किम्री गाउँका गुरुछिरिङ तामाङले बताए । उनका अनुसार केही वर्षअघि मुगु गाउँको वरपर यार्चा संकलन हुन्थ्यो । अहिले सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्चा पाइन्छ । डिभिजन वन कार्यालयका अनुसार पाँच वर्षअघिसम्म करिब ३५ देखि ४० किलो यार्चा पाइने यहाँका पाटनमा उत्पादन पनि घटेको छ ।

कार्यालयका अनुसार अहिले १५ देखि २० किलोसम्म यार्चा संकलन हुने गरेको छ । यस्तै यस वर्ष डिभिजन वन कार्यालयबाट यार्चा खरिद पुर्जी लिने घटेका छन् । यसले सरकारी राजस्वमा समेत गिरावट आएको छ । असार अन्तिम सातासम्म छजनाले मात्र यार्चा खरिद पुर्जी लिएको कार्यालयका सूचना अधिकारी वसन्तकुमारी शाहीले बताइन् । प्रतिखरिद पुर्जी ३० हजारका दरले राजस्व लिइएको उनले जानकारी दिए ।

प्रकाशित : असार २८, २०७६ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोको त्रास रातभर जागै

राजबहादुर शाही

(मुगु) — खत्याड गाउँपालिका ८, का ४५ वर्षीय धनबहादुर रोकाया बर्खा सुरु भएपछि सधैं चिन्तामा हुन्छन् । कम वर्षा हुँदासमेत गाउँ माथिबाट पहिरो खस्ने गरेकाले त्रासमा बस्नुपर्ने उनको बाध्यता छ । बढी वर्षा हुँदा उनलाई पहिरोको त्रासले रातभर जाग्राम बस्नुपर्छ ।

उनी मात्र होइन, रिघाका डेढ सय परिवार ठूलो वर्षा हुँदा रातभर जाग्राम बस्न बाध्य छन् । वर्षौंदेखि गाउँ पहिरोको जोखिममा रहे पनि नियन्त्रणका कुनै काम नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो । भूकम्पीय सुरक्षाको दृष्टिले पनि रिघा जोखिमयुक्त बस्ती हो ।

रिघासहित कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, पूलु बजार, ढुमलगायत १२ गाउँ पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । ‘वर्षाको समयमा राति घरभित्र सुत्नै डर लाग्छ,’ रिघा गाउँका मनोज गिरीले भने, ‘ठूलो पानी पर्दा पहिरोको डरले स्थानीय बासिन्दा चौतारीमा जम्मा भएर रात कटाउन बाध्य छौं ।’

छायाँनाथ नगरपालिकास्थित भियालबाडामा पनि पहिरोको उस्तै जोखिम छ । गाउँका २१ घरधुरीमा यस वर्ष पनि पहिरोको जोखिम रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । माथिबाट पहिरो आउने र तलबाट मुगु कर्णालीले कटान गर्ने क्रम बढदै गएकाले स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय नन्दबहादुर नेपाली बताउँछन् ।

उनका अनुसार वर्षेनि खेतीयोग्य जमिन पहिरोले पुर्दै आएको छ । जथाभावी डोजरले सडक खनिएपछि पहिरोको जोखिम बढेको हो । पानी पर्दा गाउँ माथिबाट ढुंगा र पहिरो खस्ने सम्भावना उत्तिकै छ । ४२ घरधुरी रहेको कम्फाका बासिन्दा पहिरोकै त्रासले लेकका बस्तीमा बसाइँ सर्न थालेको स्थानीय धनरुप बडुवालले बताए ।

गत वर्ष ताल्चा विमानस्थलबाट बगेको भलले दर्जन घर बगाएको कालापाल्ताका बासिन्दा पनि वर्षा सुरु सँगै रातभर जाग्राम बस्छन् । कर्णाली प्रदेश सरकारले गत वर्ष १५ लाख रुपैयाँ विनियोजन गरी लेतेखोलामा तटबन्ध गरेको थियो । करिव ३ सय परिवास बस्ने माग्रीगाउँ मुनिबाट पनि पहिरो खस्न सुरु भएको छ । पहिरोको जोखिम रोक्न मुगमकार्मारोङ गाउँपालिकालाई अनुरोध गरे पनि बेवास्ता भएको स्थानीयको गुनासो छ ।

विपत् व्यवस्थापन समितिको बैठकमार्फत उच्च सतर्कता बढाइएको प्रजिअ जयकुमार घिमिरेले बताए । उनका अनुसार वर्षा भएसँगै जोखिमयुक्त स्थानको पहिचान गरिएको छ । ‘हामीले समितिको बैठकमार्फत आवश्यक पूर्वतयारीको निर्णय गरिसकेका छौं,’ उनले भने, ‘अहिले स्थानीय तहसँगको सहकार्यमा योजना कार्यान्वयनको काम भइरहेको छ ।’ जोखिमयुक्त बस्ती पहिचान गरी जोखिम न्यूनीकरणका लागि बजेट विनियोजन गरिएको छायाँनाथरारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए ।

प्रकाशित : असार २६, २०७६ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT