प्रदेश २ मा ८० प्रतिशत डुबान

मृतकलाई ३ लाख, प्रत्येक जिल्लामा १० लाख प्रदेश सरकारको सहयोग
अजित तिवारी

जनकपुर — चार दिनदेखि निरन्तर राती ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू-भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला एरियाबाट उद्धार गरेको छ । कमला खोलामा आएको बाढीले धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि टापुमा अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गरेको छ । उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन् ।

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालका अनुसार बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको छ ।
‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ,’ डिआइजी अर्यालले भने, ‘उद्धार र पूर्नस्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ उनका अनुसार धनुषाको कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार विहान सुरक्षित ठाउँमा सारिएको छ ।
नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार निरन्तरको वर्षाले प्रदेश २ को ८० प्रतिसत भू-भागमा पानी जमेको छ । वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ । त्यहाँका अधिकांश बस्ती डुबानमा परेको छ । चन्द्रनगर र गरुडाको प्रहरी चौकी वाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानमा परेको छ ।
पानी अझै परिरहेको छ । प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ । कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहका कारण रातीको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्याम समेत भत्काएको छ । कमला खोलाको पुलमा रहेका प्रमुख साहले फोनमा भने,‘कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ । स्थिती भयावह छ ।’

हेलिकोप्टर कुर्दै
प्रदेश २ को सरकारले बाढी र डुबान क्षेत्रको अवलोकन र फसेकाहरुको उद्धारका लागि संघीय सरकारसंग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसित हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेको छ ।
यता, शनिबार विहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले बाढी र डुबानमा मृत्यु भएको परिवारलाई ३ लाख रुपैयाँ र उद्धार, राहत र पूर्नस्थापनाका लागि ८ वटै जिल्लालाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकलगत्तै कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री राउतले लगातारको वर्षाले प्रदेश २ को स्थिती भयावह बनेकोले यसलाई काबूमा ल्याउन सबैको सहयोगको आवश्यकता रहेको बताए ।

‘उद्धार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

प्रकाशित : असार २८, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

वीपी राजमार्ग अवरुद्ध, बेनी-जोमसोम सडक बग्यो

विमल खतिवडा

काठमाडौँ — बीपी राजमार्गको विभिन्न खण्डमा पहिरो खस्दा गएरातिदेखि सडक अवरुद्ध बनेको छ । उक्त सडक खण्डको नेपालथोकदेखि खुर्कोटसम्म झण्डै आधा दर्जन ठाउँमा लेदो माटो र पहिरो खस्दा यात्रु अलपत्र परेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार पहिरोले ठाउँठाउँमा यात्रु रोकिएका छन्। उनका अनुसार बीपी राजमार्गमा लेदो बगिरहेका कारणले समस्या भएको छ।'यात्रुहरु अलपतत्र परेका छन्। पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने,‘ त्रिभुवन राजपथ खुलिसकेको छ। हेटौंडा भीमफेदी हुँदै काठमाडौं आउने सडक पनि कुलेखानीसम्म खुलिसकेको छ।’

त्यस्तै महेन्द्र राजमार्गको बर्दिबासस्थित भाब्सी खोलाको पुल गएराति बगेको छ। ‘२ बजे राति पुल बगेको छ,’ शर्माले भने,‘ मेसिन लगेर डाइभर्सन बनाउने काम हुँदैछ, साँझसम्म सडक सुचारु गर्ने प्रयास भइरहेको छ।’

दुई/चारदिन भित्रै बेलिब्रिज बनाइने उनले बताए। ३२ मिटर पुल बगेको हो। त्यस्तै म्याग्दी बेनी-जोमसोम सडक खण्डको काभ्रे भीरमा कालीगण्डकी नदीले सडक बगाएको छ। ‘भित्तामा चट्टान छ, त्यसलाई फोर्ने प्रयास भइरहेको छ,’ उनले भने,‘ पानी परिरहेकाले केही सडक सुचारु हुन समस्या भएको छ।

प्रकाशित : असार २८, २०७६ १२:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT