१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राप्तीको बाढीले बस्तीहरु डुबानमा, लमही-कोइलाबास सडक अवरुद्ध

दुर्गालाल केसी

दाङ — लगातारको वर्षाका कारण नदीमा बाढी आउँदा धेरै गाउँहरु डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीले लमही–कोइलाबास सडकखण्ड अवरुद्ध भएको छ । सडकमा नदी बगेपछि यात्रुहरुको बिचल्ली भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले यात्रुहरुको उद्धार गरेका थिए । राप्ती नदी गाउँतिर पसेपछि गढवा गाउँपालिका वडानम्बर ५ र ६ का गाउँहरु डुबानमा परेका छन् ।

राप्तीको बाढीले बस्तीहरु डुबानमा, लमही-कोइलाबास सडक अवरुद्ध

बाढीले गढवा ५ बोधीपुरका ५० बढी घरहरू डुबानमा परेको इलाका प्रहरी गढवाले जानकारी दिएको छ । बोधीपुरका जगतराम चौधरीको घर डुबानमा परेर जोखिम भएपछि उनको १२ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक गिरिराज भण्डारीले बताए । बोधीपुरका साथै धर्मपुर, मोतिपुर, तकियापुर, सेमरी, झारबैरा गाउँ बाढीको उच्च जोखिममा रहेको उनले जानकारी दिए । जोखिम क्षेत्रमा प्रहरी तैनाथ रहेको उनले बताए ।


यसैगरी खोलामा बाढी आउँदा लमही–घोराही–तुलसीपुर सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । शनिवार बिहानैदेखि बबई, कटुवा, गुज्रे र ग्वार खोलामा पानीको सतह बढेपछि साना सवारी साधन आवागमन अवरुद्ध भएको छ ।


केही ठुला गाडीहरु मात्रै सञ्चालन भएका छन् । लगातार पानी परिरहेकाले खोला वारपार गर्न समस्या भएको छ । हरेक खोलामा प्रहरी तैनाथ गरिएको र खोलामा सावधानी अपनाइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । अन्य बाढीको जोखिम रहेका क्षेत्रमा पनि प्रहरीको उच्च सतर्कता रहेको उनले बताए ।


राप्ती गाउँपालिका १ शान्तिपुरका नेत्रप्रसाद खनालको कुखुरा फारममा स्थानीय गनाहा खोला पस्दा १ हजार कुखुरा र ६६ बोरा दाना बगाएको एसपी पाण्डेले बताए । बाढीले लमही नगरपालिका ५ की रिमा नेपालीको घर भत्किएको छ । उनको परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । घोराही–तुलसीपुर सडकखण्डको ग्वारखोलाले शुक्रवार बेलुका ना ७ ख ३५६५ नम्बरको गाडी बगाएको छ । खोलामा गाडी धुने क्रममा पानीको सतह बढेपछि बगेको थियो । जेसिवीको सहायताले राती गाडी निकालिएको प्रहरीले जानकारी दिएको छ ।


निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । सडकमा निर्माणाधीन पुललाई तत्काल सञ्चालनमा ल्याउने व्यवस्था गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको उनले बताए ।


बाढीले क्षति नपुर्‍यायोस् भन्नेतर्फ सतर्क भइ सबै जोखिम क्षेत्रमा पूर्व तयारीसहित आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित : असार २८, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?