१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाढीका कारण मोरङमा ४ हजार २ सय विस्थापित

विनु तिम्सिना

काठमाडौँ — लगातारको वर्षापछि आएको बाढीका कारण मोरङमा ११ सय घरपरिवारका चार हजार २ सय व्यक्ति विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ । 

बाढीका कारण मोरङमा ४ हजार २ सय विस्थापित

मोरङका बक्राहा, लोहन्द्रा, जुडी, सिंघीया, केशलिया लगायतका खोलामा आएको बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।


बाढीका कारण मोरङमा दुई जना बेपत्ता भएका छन् । यस्तै, कानेपोखरी गाउँपालिका–२ गेउरिया खोलाले बगाएर बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् । शनिबार कटहरी ४ का ५० वर्षीय सोना सोरेनलाई लोहन्द्रा खोलाले बगाएको छ । उनको उद्धारमा नेपाली सेनालाई खटाइएको प्रजिअ केसीले जानकारी दिए ।


बाढीकारण सबैभन्दा बढी विराटनगर महानगरपालिकाका बासिन्दा विस्थापित भएका छन् । महानगरपालिकाको पूर्वतर्फ रहेको सिंघीया खोला र पश्चिततर्फबाट बहेको केसलिया खोलाले महानगरपालिकाको १, २, ४, ६, ७, ८, १२, १५, १६ वडाका स्थानीय विस्थापित भएका छन् ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १ को सुकुम्बासी बस्तीका २५ घर, हनुमान मन्दिरछेउको सुकुम्बासी बस्तीका २० र जिल्ला प्रहरी कार्यालय मोरङ पछाडि रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् । त्यस्तै विराटनगर ८ मा ५०, ७ मा १३ परिवार विस्थापित भएका छन् । महानगरपालिका वडा २ को मुसहर बस्तीका २०, विराटनगर ४ का ७ परिवार, विराटनगर १५ का मुसहर टोलका ५० परिवार र वडा नम्बर ७ का ५० परिवार बाढीका कारण विस्थापित भएका छन् । त्यस्तै विराटनगर १२ का ऋषिदेव बस्तीका ३५ परिवार, विस्थापित भएका छन् ।


बाढीका कारण मोरङको दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रजिअ केसीले बताए । पूर्वी क्षेत्रमा बाढीले अहिलेसम्म क्षति नपुर्याएको भएपनि जोखिम बढ्न थालेको उनले बताए । लगातारका वर्षाका कारण लेटाङमा पहिरोको जोखिम बढेको छ ।


मिक्लाजुङ गाउँपालिका–८ स्थित मावा खोलामा सिँचाइका लागि बनाइएको बाँध वर्षातका कारण भत्कीनसक्ने जोखिम बढेको छ । त्यस्तै रतुवा खोलामा पानीको सतह बढिरहेकाले रतुवामाई नगरपालिका पनि जोखिममा रहेकाले सतर्क रहन अनुरोध गरिएको प्रजिअ केसील बताए ।

प्रकाशित : असार २८, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?