बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

रासस

विराटनगर — लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।


अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

यसैबीच आज प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।

प्रकाशित : असार २८, २०७६ १५:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाढीका कारण मोरङमा ४ हजार २ सय विस्थापित

बिनु तिम्सिना

काठमाडौँ — लगातारको वर्षापछि आएको बाढीका कारण मोरङमा ११ सय घरपरिवारका चार हजार २ सय व्यक्ति विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ । 

मोरङका बक्राहा, लोहन्द्रा, जुडी, सिंघीया, केशलिया लगायतका खोलामा आएको बाढीका कारण सबैभन्दा बढी विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

बाढीका कारण मोरङमा दुई जना बेपत्ता भएका छन् । यस्तै, कानेपोखरी गाउँपालिका–२ गेउरिया खोलाले बगाएर बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् । शनिबार कटहरी ४ का ५० वर्षीय सोना सोरेनलाई लोहन्द्रा खोलाले बगाएको छ । उनको उद्धारमा नेपाली सेनालाई खटाइएको प्रजिअ केसीले जानकारी दिए ।

बाढीकारण सबैभन्दा बढी विराटनगर महानगरपालिकाका बासिन्दा विस्थापित भएका छन् । महानगरपालिकाको पूर्वतर्फ रहेको सिंघीया खोला र पश्चिततर्फबाट बहेको केसलिया खोलाले महानगरपालिकाको १, २, ४, ६, ७, ८, १२, १५, १६ वडाका स्थानीय विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर १ को सुकुम्बासी बस्तीका २५ घर, हनुमान मन्दिरछेउको सुकुम्बासी बस्तीका २० र जिल्ला प्रहरी कार्यालय मोरङ पछाडि रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् ।त्यस्तै विराटनगर ८ मा ५०, ७ मा १३ परिवार विस्थापित भएका छन् । महानगरपालिका वडा २ को मुसहर बस्तीका २०, विराटनगर ४ का ७ परिवार, विराटनगर १५ का मुसहर टोलका ५० परिवार र वडा नम्बर ७ का ५० परिवार बाढीका कारण विस्थापित भएका छन् । त्यस्तै विराटनगर १२ का ऋषिदेव बस्तीका ३५ परिवार, विस्थापित भएका छन् ।

बाढीका कारण मोरङको दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रजिअ केसीले बताए । पूर्वी क्षेत्रमा बाढीले अहिलेसम्म क्षति नपुर्याएको भएपनि जोखिम बढ्न थालेको उनले बताए । लगातारका वर्षाका कारण लेटाङमा पहिरोको जोखिम बढेको छ ।

मिक्लाजुङ गाउँपालिका–८ स्थित मावा खोलामा सिँचाइका लागि बनाइएको बाँध वर्षातका कारण भत्कीनसक्ने जोखिम बढेको छ । त्यस्तै रतुवा खोलामा पानीको सतह बढिरहेकाले रतुवामाई नगरपालिका पनि जोखिममा रहेकाले सतर्क रहन अनुरोध गरिएको प्रजिअ केसील बताए ।

प्रकाशित : असार २८, २०७६ १५:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT