१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सीमाक्षेत्रको बाँधको ढोका भारतले बन्द गर्‍यो, गौर डुबानमा 

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौरस्थित सिमाक्षेत्रमा भारतले एक पक्षीय रूपमा निर्माण गरेको बाँधको ढोका (साईफन) बन्द गरेको छ । यही कारण पानीले निकास नपाउँदा सदरमुकाम गौर डुबानमा पारेको हो । भारतीय पक्षसित ढोका खोल्न अनुरोध गर्न प्रमुख जिल्ला अधिकारीले सम्पर्क गरे पनि भारतको सितामाढी जिल्लाका प्रमुख (डीएम)ले फोन रिसिभ गरेका छैनन् । यस बारे जिल्ला प्रशासनले गृहलाई जानकारी गराएको छ । 

सीमाक्षेत्रको बाँधको ढोका भारतले बन्द गर्‍यो, गौर डुबानमा 

भारतले आफ्नो भूमि डुबानमा पर्नबाट जोगाउन दुई दशकअघि नेपाल भारत सिमाक्षेत्रमा ठुलो बाँध निर्माण गरेको थियो । त्यही बाँध अहिले गौरवासीको लागि काल बनेको छ । बाँधका कारण पानीले निकास नपाउँदा वर्षेनी गौर डुबानमा पार्दै आएको हो । अहिले बैरगनिया क्षेत्रको पूर्वी भागमा भारतले निर्माण गरेको ३ वटा ढोका (साइफन) बन्द गरेको छ ।


नेपाली क्षेत्रमा पानीको सतह बढी भयो भने इमरजेन्सी रूपमा ढोका खोल्नुपर्छ । तर भारतीय पक्षले ढोका बन्द गरेको छ । ढोका खोलेको भए डुबान कम हुन्थ्यो । एक वर्षअघि यस्तै डुबानमा परेको बेला सिमाक्षेत्रको बाँध फुटेको थियो । त्यसपछि गौरमा मानवीय क्षति हुनबाट जोगिएको थियो ।


भारतीय सुरक्षाकर्मीहरु अहिले बाँधमा सुरक्षा दिइरहेका छन् । २०५० सालअघि सम्म गौरमा पानी जमे पछि ढोका खोल्ने गरिन्थ्यो । अहिले आएर ढोका बन्द गरिएको नेकपाका नेता शभ्मु साहले बताए । ‘गौरको डुबान हेरेर पानीको सतह ५ फिट माथि भयो भने ढोका खोल्ने सहमति भएको हो,’ उनले भने, ‘अहिले सहमतिको बर्खिलाफ भारतले ढोका खोल्न मानेको छैन ।’ भारतीय पक्षले बाँधको उचाइ समेत थपेको थियो ।


साहले माथिल्लो निकायबाट चाडै पहल गरी ढोका खोल्न लगाउनुपर्ने सुनाए । भारतको सितामाढीका डीएम डा.रन्जितकुमार सिंहसित सम्पर्क गर्दा फोन रिसिभ नगरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ‘हामी निरन्तर सम्पर्कमा छौ । भारतीय पक्षले बाँधको ढोका खोलेको भए राहत हुन्थ्यो, ’ उनले भने, ‘गृह मन्त्रालयले पहल गर्नुपर्छ ।’ गौर डुबानमा फसेकाहरुलाई उद्धार गर्न सशस्त्र प्रहरीको प्रदेश २ का डीआइजी राजु अर्यालले २ वटा रबर बोट सहितको तालिम प्राप्त उद्धार टोली गौर पठाएका छन् ।


अविरल वर्षापछि बाग्मती र लालबकैया नदीको पानी पसेपछि सदरमुकाम डुबेको हो । अहिले बजार र भन्सार क्षेत्रमा झन्डै ७/८ फिट पानी छ । डुबानमा परेपछि कैदीहरु छतमा बसेका छन् । घरभित्र पानी पसेपछि स्थानीयले हारगुहार गरिरहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य सुरु गरिएको जनाए । ‘डुबानमा फसेकाहरुलाई उद्धार सुरु गरेका छौँ,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनीहरूलाई सुरक्षित स्थानमा लैजाने काम सुरु गरेका छौँ ।’


अहिले सदरमुकाम गौरको जनजीवन अस्तव्यस्त छ । सरकारीका कार्यालयको कागजपत्रमा क्षति पुगेको छ । बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।


बकैया र बाग्मतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको हो । वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब एक हजार भन्दा बढी घर भत्केको छ । स्थानीयहरु सामुदायिक पक्की भवन र छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

प्रकाशित : असार २८, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?