भारतीय च्यानलका कारण डुबान

कोसीको बहाव उच्च, पश्चिमी तटबन्ध जोखिममा
अवधेशकुमार झा

राजविराज — भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् । 

कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ । तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले बताए । पश्चिमी तटबन्ध बचाउन तत्काल कोसीको धार परिवर्तन गरी मध्य भागमा लैजानुपर्ने उनको भनाइ छ ।

कोसीको बहाव शनिबार साँझ करिब ३ लाख क्युसेक प्रतिसेकेन्ड थियो । कोसीको धार पश्चिमतर्फ फर्काउन भारतीय पक्षले चार वर्षअघि एकतर्फी रूपमा पाइलट च्यानल निर्माण गरेको हो । कोसीको पानी विगतमा ब्यारेजभन्दा दक्षिणपूर्वी तटबन्धको छेउ भएर बग्दै आएको थियो । पूर्वी तटबन्ध छेउबाट नदी बग्दा एक किलोमिटर दक्षिणमै भारतीय सीमा पर्ने भएकाले बस्ती जोगाउन भारतीय कोसी योजनाले धार परिवर्तन गर्न पाइलट च्यानल बनाएको हो । योजनाले ब्यारेजको २८ नम्बर ढोकानजिक कोसीको बीचबाट पाइलट च्यानल खनी पश्चिमतर्फ धार फर्काएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको डलबामा कोसीको बाढी पश्चिमी तटबन्ध नाघेर बाहिर बग्न थालेको छ । ‘ओभरफलो हुन थालेको छ, तत्काल नियन्त्रण नगरिए ठूलो खतरा हुन सक्छ,’ प्रजिअ पौडेलले बताए ।

‘प्रजिअदेखि प्रधानमन्त्री कार्यालयसम्म पत्राचार गर्‍यौं तर केही लागेन,’ उनले भने, ‘भारतीय पक्षले एकतर्फी पाइलट च्यानल खनेर कोसीको धार फर्काइएको नगर प्रमुख साहले बताए । कोसी योजनाबारे नेपाली र भारतीय पक्षबीच समन्वयात्मक भूमिका खेल्ने सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बूले भारतीय पक्षले उक्त कार्यालयलाई पनि जानकारी नदिई पाइलट च्यानल खनेको दाबी गरे ।

कोसी ब्यारेजभन्दा तल पूर्वी भाग नजिकै भारतीय सीमा छ भने पश्चिमी भागमा ब्यारेजदेखि १८ किलोमिटरसम्म नेपाली भूभागमा तटबन्ध छ । सन् १९८८ मा सप्तरीको योगिनियामा कोसीको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा ठूलो धनजनको क्षति भएको थियो ।

त्यसपछि नदी पश्चिमी तटबन्ध छेउबाटै बगेको थियो । सन २००० मा कोसी नदी धार परिवर्तन गर्दै पूर्वी तटबन्धछेउ भएर भारततर्फ सोझिएको थियो । पूर्वी तटबन्ध नजिकबाट बगिरहेको कोसीलाई ब्यारेजभन्दा तलको भागमा पाइलट च्यानल खनेर भारतले पश्चिमतर्फै फर्काइदिएको हो ।

प्रकाशित : असार २८, २०७६ २१:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उद्धार तथा राहतमा जुटन स्थानीय तहहरूलाई निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीपहिरो र डुबानबाट पीडितको उद्धार तथा राहत कार्यमा लाग्न स्थानीय तहहरूलाई १० बुँदे लिखित निर्देशन दिएको छ । उद्धार गर्न रकम अपुग भए स्थानीय तहको कुनै पनि बजेट शीर्षकबाट खर्चने व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरूद्वारा जारी निर्देशनमा विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा महामारी फैलन सक्ने अवस्थालाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तत्काल जुट्न भनिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था मिलाउन र खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वयलगायतका कार्य गर्नसमेत निर्देशन दिइएको छ । खोज तथा उद्धार, राहत र शीघ्र पुनर्लाभको क्षेत्रमा भएका कामको प्रगति विवरण दैनिक रूपमा मन्त्रालयमा पठाउनसमेत निर्देश गरिएको छ ।



प्रकाशित : असार २८, २०७६ २०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT