१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाढीको प्रभाव : सुनसरी–मोरङ औद्योगिक करिडोर ४ दिनदेखि ठप्प

जोगवनी नाकाबाट आयात निर्यात घट्यो
विनोद भण्डारीे

विराटनगर — अविरल वर्षा पछि मोरङको लोहन्द्रा, जुडी र सुनसरीको बुढी तथा टयाङग्रा खोलामा आएको बाढीले सुनसरी मोरङ औद्योगिक करिडोरमा करोडौंको क्षति पुर्‍याएको छ । करिडोरमा रहेका पाँच सय बढी उद्योग डुबानका कारण बिहीबारदेखि बन्द छन् ।

बाढीको प्रभाव : सुनसरी–मोरङ औद्योगिक करिडोर ४ दिनदेखि ठप्प

करिडोरका प्रायः उद्योगमा पानी पस्दा गोदाममा रहेका उत्पादित वस्तु र कच्चा पदार्थ नष्ट भएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उत्पादित वस्तु र कच्चा पदार्थ पानीमा डुब्दा सुनसरी मोरङ करिडोरका उद्योगमा करोडौंको क्षति भएको बताए ।


मोरङको लोहन्द्रा र जुडी खोलाको बाढी पस्दा कटहरीमा रहेका दर्जन बढी उद्योग जलमग्न भएका छन् । त्यहाँ रहेका क्वालिटी समूहका साबुन, चाउचाउ, घ्यूसहित सेलो तेल, पेन्टिङ उद्योग, जुट मिलको गोदाममा पानी पसेर क्षति पुगेको सम्बद्ध उद्योगीको दाबी छ ।


त्यसैगरी सुनसरीको टुयाङग्रा खोलाको बाढीले इटहरी र खनार क्षेत्रका उद्योग डुबानमा परेका छन् । सुनसरीकै बुढी खोलाको बाढीले दुहबी क्षेत्रका उद्योग डुबानमा परेका छन् । अवव्यवस्थित वस्ती, पानीको निकास नहुनु र नदी नियन्त्रण नहुँदा सुनसरी मोरङ करिडोरका उद्योगले हरेक वर्ष करोडौको क्षति व्यहोर्नु परेको उद्योग वाणिज्य महासंघका केन्द्र्रीय सदस्य अविनाश बोहोराले बताए ।


‘करिडोरका कुनै पनि उद्योग डुबानबाट जोगिएका छैनन् । अधिकांश उद्योगको भौतिक संरचनामा क्षति पुगेको छ । हरेक उद्योगका उत्पादित वस्तु र कच्चा पदार्थ नष्ट भएका छन्,’ बोहोराले भने, ‘तीनदिन देखि सबै उद्योग बन्द छन । मजदुर बेरोजगार बनेका छन् ।’ करिडोरमा प्रत्यक्ष अप्रत्यक्ष झण्डै दुईलाख मजदुर कार्यरत रहेको बोहोराको भनाई छ ।

उद्योग र गोदाम डुबानमा परेपछि जोगबनी नाकाबाट हुने आयात–निर्यात पनि तीनदिनयता घटेको विराटनगर भन्सारको तथ्यांक छ । भन्सारका सूचना अधिकृत मणिराम पौडेलका अनुसार तीनदिन अघिसम्म दैनिक सरदर ६० ट्रक औद्योगिक उत्पादन निकासी हुने गरेकोमा तीनदिन देखि दैनिक १५–२० ट्रकमात्र उत्पादन निकासी भएको छ । आयात भएको कच्चा पदार्थ पनि उद्योगीले भन्सारबाट ल्याउन सकेका छैनन् ।

प्रकाशित : असार २९, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?