१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बाढीपहिराे : कतै पुल बग्यो, कतै सडक

महोत्तरीमा अस्थायी डाइभर्सन बनाएपछि पूर्वपश्चिम राजमार्ग सुचारु
विमल खतिवडा

काठमाडौँ — केही दिनयता परेको अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग पहिरोको चपेटामा परेका छन् । बाढी र पहिरोले कतै राजमार्ग ठप्प छन्, कतै अवरोध खुलाएर यातायात सञ्चालन गरिएको छ । बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भाब्सी खोलाको पुल शुक्रबार राति बगाएको छ ।

बाढीपहिराे : कतै पुल बग्यो, कतै सडक

३२ मिटर लामो पुल बगेपछि अस्थायी डाइभर्सन बनाएर शनिबार मध्याह्नबाट साना सवारीसाधन सञ्चालन गरिएको छ ।


ठूला गाडीलाई भने भित्री तथा अस्थायी सडक प्रयोग गर्न सडक विभागले अनुरोध गरेको छ । विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईले अस्थायी डाइभर्सन बनाएर साना गाडी सञ्चालन खुलाएको बताए । ‘खहरे खोला हो, बाढी आउँदा पुलको आधा भाग बगेको छ,’ उनले भने, ‘यात्रुलाई सहज बनाउन अस्थायी डाइभर्सन बनाइएको छ । वर्षा कम हुनासाथ बेलिब्रिज निर्माणको काम सुरु हुन्छ ।’


हुलाकी राजमार्गअन्तर्गत सप्तरीको खडक खोलामा पुल ढलानको तयारी गर्दैगर्दा बाढी आएपछि टेको बगाएको छ । बाढीले निर्माण रोकिएको छ । धनुषास्थित औराही खोलामा पनि निर्माणाधीन पुलको टेको बगाएको छ । ‘पुलका कारण कतै पनि यातायात अवरुद्ध भएको छैन,’ उनले भने ।


विभिन्न जिल्लाको सडक तथा पुलमा ठूला ढुंगासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । त्यस्ता ठाउँमा तत्काल कर्मचारी र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ । लेदो माटोले गर्दा धेरै ठाउँ सडक अवरुद्ध भएको विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार बीपी राजमार्गको विभिन्न खण्डमा पहिरो खस्दा शुक्रबारदेखि सडक अवरुद्ध छ । नेपालथोकदेखि खुर्कोटसम्म झन्डै आधा दर्जन ठाउँमा लेदो माटो र पहिरो खसेको छ ।


‘बीपी राजमार्गको अधिकांश ठाउँको पहिरो पन्छाएर बीच सडकमा रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाइसकेका छौं,’ उनले भने । शुक्रबार राति अवरुद्ध त्रिभुवन राजपथ खुलिसकेको छ । हेटौंडा, भीमफेदी हुँदै काठमाडौं आउने सडक पनि सञ्चालनमा आएको छ ।


विभागका अनुसार म्याग्दीको बेनी–जोमसोम सडक खण्डको काभ्रे भीरमा कालीगण्डकी नदीले सडक बगाएको छ । पूर्वी क्षेत्रका सडकमा पहिरोले बढी क्षति पुर्‍याएको छ । पिच गरिएका सडक जलमग्न बनेका छन् । लगातारको वर्षाले गर्दा पिचसमेत उप्किन थालेको छ ।

प्रकाशित : असार २९, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?