कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘मानवनिर्मित संरचनाले बढी क्षति’

विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई संसदीय समितिको सुझाव 

काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले मानव निर्मित भौतिक संरचनाका कारण पनि बाढीपहिरो र डुबानबाट बढी क्षति भएको बताएका छन् । समितिको बैठकमा आइतबार उनीहरूले बिनाप्राविधिक डोजर प्रयोग गरी जथाभावी सडक खनेर प्रकृतिको विनाश गरिएका कारण पनि विपदबाट क्षति भएको धारणा राखेका थिए ।

‘मानवनिर्मित संरचनाले बढी क्षति’

उनीहरूले विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।


समिति सदस्यहरूले भारतले एकतर्फी रूपमा सीमा क्षेत्रमा बनाएका बाँध र तटबन्धका कारण मुलुकको तराई क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको उल्लेख गर्दै त्यस्तो समस्या समाधानका लागि समयमै कूटनीतिक पहल चाल्न नसकेकामा सरकारप्रति रोष प्रकट गरेका थिए ।


भारतसँगका कोसी र गण्डकजस्ता असमान सम्झौताका कारणसमेत तराईका बस्ती डुबानमा पर्ने गरेकोतर्फ गम्भीर भई ती सम्झौता पुनरावलोकनका लागि कूटनीतिक पहल गर्नसमेत सांसदहरूले सरकारलाई आग्रह गरे । उनीहरूले नेपालमा बाढीपहिरो आउँदा भारतमा समेत असर पर्ने भएकाले सरकारले द्विपक्षीय पहलबाट दीर्घकालीन समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिए ।


गृहमन्त्री रामबहादुर थापाले मानवीय त्रुटि र कमजोरी तथा पूर्वसावधानीको अभावका कारण बाढीबाट बढी क्षति पुगेको स्वीकार गरेका छन् । जथाभावी विकास गर्ने, डाँडापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रवृत्तिका कारण क्षति बढी भएको उनको भनाइ थियो । विश्वव्यापी तापक्रम वृद्धिको असर पनि यसमा देखिएको गृहमन्त्री थापाले बताए ।


उनले प्रकोप न्यूनीकरणका लागि पूर्वतयारी कमजोर हुँदा बाढीपहिरो र डुबानबाट बढी क्षति भएको उल्लेख गर्दै यसमा सरकारसमेत दोषी रहेको बताए । ‘बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो । तर यसको न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘चुरे नांगिएको छ । खोलामा घर बनेका छन् । खोलामा घर त बनाउनु भएन नि ।’ उनले अब सरकारले विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी अपनाउने प्रतिबद्धता व्यक्त गरे ।


उद्धार र राहत प्रभावकारी बनाउन निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानपीडितको तत्काल उद्धार, राहत तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बेपत्ता भएका व्यक्तिहरूको खोजी र विस्थापितहरूको उचित आश्रयस्थल प्रबन्ध गर्नसमेत सरकारलाई ध्यानाकर्षण गराएको छ । समितिले बाढीपहिरो र डुबान प्रभावित ठाउँमा महामारी फैलिन नदिन तत्काल औषधिसहित स्वास्थ्यकर्मी पठाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।


बैठकमा गृहमन्त्री थापाले बाढीपहिरो तथा डुबान प्रभावित ठाउँमा सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी सरकारले उद्धार तथा राहतको काम गरिरहेको जानकारी गराए । प्रतिकूल मौसम र हेलिकप्टर अपर्याप्तताका कारण केही ढिलाइ भए पनि सरकारले उद्धार र राहतको काममा कुनै कसर बाँकी नराखेको बताए ।

प्रकाशित : असार २९, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?