कर्णालीका सांसदलाई १० करोड

चाँदनी कठायत

वीरेन्द्रनगर — आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफलमा यही विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकास कोषको ३ अर्बमध्ये १ अर्ब ९२ करोड रकम भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाइने जानकारी दिए । बजेट निर्माणको क्रममै सत्तापक्ष र प्रतिपक्षी सांसदले सांसद कोष स्थापना गर्न माग गरेका थिए । नेकपाका सांसदहरूले त संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रममै कोषबारे स्पष्ट उल्लेख हुनुपर्ने माग राखेका थिए ।

कतिपय सांसदले समानुपातिक सांसदलाई समेत समेट्ने गरी ‘सांसद विकास कोष’ निर्माण गर्न माग गरेका थिए भने कतिपयले प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई मात्र हुने गरी ‘निर्वाचन क्षेत्र विकास कोष’ बनाउनुपर्ने भनाइ राखेका थिए । सरकारले भने दुवै माग अस्वीकार गरी चालु आर्थिक वर्षको जनता सडक कार्यक्रमलाई निरन्तरता दिएको थियो ।

सुरुमा सांसद कोषको माग गरेका सांसदहरू जनता सडक कार्यक्रममा बजेट थप्न सरकार सहमत भएपछि बजेट पारित गर्न तयार भएका हुन् । सांसदलाई बजेट दिने सन्दर्भमा प्रमुखप्रतिपक्षी कांग्रेस र सत्तापक्ष नेकपाका सांसदसंसद्मा एकस्वर देखिएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु बजेट बढी भए पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्ने बताए ।

‘हामीले सुशासन कायम गर्नका लागि आवश्यक संरचना खडा गर्नेछौं,’ उनले भने, ‘नीति तथा कार्यक्रमसँग बजेटको तालमेल नमिले पनि कार्यान्वयनको क्रममा त्यसलाई ध्यान दिइनेछ ।’ नीति तथा कार्यक्रममा एक करोडभन्दा साना योजना नपार्ने भनिए पनि पाँच लाखसम्म झारिएको उनले स्विकारे ।

मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षी दलले दिएका सुझावलाई पनि मनन् गर्दै योजना कार्यान्वयन गरिने बताए । कर्णालीमा प्रदेशसभाका २४ निर्वाचित क्षेत्र छन् । अब ती सबै निर्वाचन क्षेत्रमा १० करोडका दरले बजेट जानेछ । यसरी विनियोजित बजेट सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदको सिफारिसमा कार्यान्वयन हुने कार्यविधिमा उल्लेख छ ।

जनता सडक कार्यक्रमका लागि चालु वर्ष ५ करोडका दरले १ अर्ब २० करोड रुपैयाँ बजेटमा विनियोजित छ तर सांसदहरूको अरुचिका कारण उक्त कार्यक्रमको गति निकै सुस्त छ ।

आर्थिक वर्ष समापनका बेला सडक योजना निर्माणका लागि टेन्डर प्रक्रिया सुरु भएको छ । निर्माण सम्पन्न भएका योजनाको संख्या निकै न्यून छ । कार्यक्रम कार्यान्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले योजनाको टेन्डर प्रक्रिया सुरु भए पनि एउटै योजना सम्पन्न नभएको जनाएको छ । ‘क्रमागत योजना भएकाले यो वर्ष सम्पन्न नभए पनि अर्को वर्ष काम त भइहाल्ला नि,’ मन्त्री खडगबहादुर खत्रीले भने, ‘बजेट फ्रिज हुन नदिई प्रक्रिया सुरु गर्नु पनि ठूलो कुरा हो ।’

प्रकाशित : असार ३०, २०७६ ०७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पानीमै पाल

पूरै बस्ती जलमग्न भएकाले पीडित पानीमै पाल टाँगेर बस्न बाध्य छन् । पानीको सतह अझै नघटकाले हजारौं विस्थापित परिवारलाई तत्काल राहत पुर्‍याउन मुस्किल भएको छ ।
अवधेशकुमार झा, शिव पुरी, बिनु तिम्सिना

सप्तरी, रौतहट र विराटनगर — शनिबार बिहान ३ बजेको हुँदो हो । बिजलीदेवी सदा अचानक ब्युँझिइन् । घरै जलाम्य भइसकेछ । कोसीको भँगालो कतिखेर खाटमुनि आइपुग्यो, पत्तै पाइनन् । हतारिँदै बालबालिका च्यापेर बाहिर निस्किइन् । आकाशबाट मुसलधारा बर्सिरहेको थियो । 

‘एक्कासि खाटै डुब्ने गरी पानी आएपछि हाम्रो त होसै उड्यो,’ उनले भनिन्, ‘घरमा पोहोर सालकै पाल भएका कारण जसोतसो टाँगेर वर्षा र बाढीबाट जोगियौं ।’ सप्तरी, हनुमाननगर–कंकालिनी नगरपालिका–७ मा कोसीको पश्चिमी तटबन्धछेउमै छ सदाको घर । कोसीमा पानी बढ्ने र जुनसुकै बेला बाढी आउन सक्ने जोखिमका कारण राति १२ बजेसम्म उक्त बस्तीका सबै जाग्रामै थिए ।

‘बिहानपख आँखा लाग्यो, त्यत्तिकैमा बाढी घरै छोप्ने गरी आयो,’ बिजलीदेवीले भनिन्, ‘केहीबेर आँखा नखुलेको भए कोसीको भेलसँगै पूरै परिवार बग्ने रहेछ ।’ रातिमा बाढी आएका कारण घरका केहीबाहेक धेरै सामान जोगाउन नसकेको उनले बताइन् । बिजलीदेवी मात्र होइन, सोही गाउँकी कुमरी सदा र फुलोदेवी सदाको पनि कथाव्यथा उस्तै छ । उनी पनि शनिबार बिहान बाढीले घर डुबाउन लाग्दा मस्त निद्रामा थिइन् । बिहानीपख घरआँगनमा पानी भरिएपछि भागेर पश्चिमी तटबन्धमा आएर ज्यान जोगाएको उनको भनाइ छ ।

‘पछिल्लो २० वर्षयता हाम्रो घरआँगनमा कोसीको पानी आउँदैनथ्यो,’ फुलोदेवीलेभनिन्, ‘पोहोर सालदेखि हामीलाई उठिबास नै गराउने गरी पानी आउन थालेको छ ।’भारतको कोसी योजनाले बिनासूचना कोसीमा पाइलट च्यानल खनी धारलाई पश्चिमतर्फ मोडेपछि वर्षौंदेखि तटबन्धभन्दा तलपट्टि बसिरहेका मुसहर परिवारका घर डुबेको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए ।

‘पश्चिमी तटबन्धभन्दा दुई किलोमिटरपूर्व भएर कोसी बग्दै थियो,’ उनले भने, ‘चारवर्ष लगाएर भारतले पाइलट च्यानलखनी कोसीको धार पश्चिम फर्काएर नेपाली परिवारको बिचल्ली गराएको हो ।’

आफूहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पटकपटक लिखित रूपमै पाइलट च्यानलबाट हुन सक्ने क्षतिबारे जानकारी गराए पनि सुनुवाइ हुन नसकेको उनको भनाइ छ । ‘नगरपालिकाका तर्फबाट हामीले गर्न सक्ने दुई देशको विषयमा त्योभन्दा धेरै के गर्न सक्छौं र ?’ उनले भने ।

कोसीको धार पूर्वबाट पश्चिम मोडिएकै कारण अहिले हनुमाननगर–कंकालिनी नगरपालिकाको वडा नम्बर ७ र १२ का करिब ३ सय परिवार विस्थापनमा परेका छन् । उनीहरूले नजिकै कोसीको पश्चिमी तटबन्धमा पाल टाँगेर आश्रय लिइरहेका छन् । पीडितलाई जिल्ला प्रशासन कार्यालयले पाल उपलब्ध गराएको छ भने हनुमाननगर–कंकालिनी नगरपालिकाले मुरही, चिउरा, नुन, तेललगायत खानेकुरा वितरण गरेको छ ।

कोसीमा पानीको बहाव आइतबार बिहानबाट केही घटे पनि खतरा अझै टरेको छैन । शनिबार बिहानबाट डुबानमा परेका घरमा अझै पनि दुई फिट पानी जमेकै छ । ‘भगवानदेखि भारतसम्मले हामीलाई उठिबास गराउँछ,’ पीडित कुमरी सदाले भनिन्, ‘हामी दलित सुकुम्बासीलाई उठिबास गराएर कसलाई के फाइदा हुन्छ ?’

सप्तकोसीको अवस्था उस्तै
त्रियुगा नदी तीन ठाउँमा तटबन्ध कटान गरी बस्ती प्रवेश गरेपछि सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुर बजारसहित अधिकांश वडा शनिबारदेखि डुबानमा छन् । सर्वसाधारणका घरमा पाँच फिटसम्म पानी जमेको छ । त्यसको निकास नहुँदा घरआँगनबाटै त्रियुगा नदी बगिरहेको छ । पीडित परिवार चिउरा र मुरहीको भरमा दिन काटन बाध्य छन् ।

राजविराज नगरपालिका वडा नम्बर ५, ६ र ७ कार्यालयले आफ्नो वडाको डुबानमा परेकाको परिवारलाई चिउरा, मुरही, नुनतेललगायत सामग्री वितरण गरेको छ ।

त्रिपालमुनि डुबानपीडित
परबाट घर देखिन्छ । तर जाने उपाय छैन । जताततै पानी नै पानी छ । अन्नपात लत्ताकपडा सबै त्यहीँ छन् । बितन पासवान सडकमा टाँगिएको त्रिपालमुनि टोलाइरहेकी छन् । ‘दिनभरि सडकमा बसें । अब राति छिमेकीका घरमा आश्रय लिन्छौं,’ उनले भनिन्, ‘घर डुबानमा छ । एकसरो कपडासमेत निकाल्न पाएनौं ।’

रौतहटको राजपुर–१ पिपरा, भगवानपुरको यो बस्ती हेर्दै टीठलाग्दो छ । लगातार वर्षापछि डेढ दर्जन घर डुबानमा परेका छन् । अरू पीडित पनि दिनभर त्रिपालमा बस्छन् । राति छिमेकीकहाँ आश्रय लिन्छन् । सबै जना अब के गर्ने भन्ने अन्योलमा छन् । जिल्लाभरि झन्डै ३० हजार परिवारको बिजोग छ । विस्थापितलाई तत्काल राहत पुर्‍याउन सक्ने अवस्था छैन ।

लालबकैया र वाग्मती नदी बस्तीमा पसेपछि जिल्लाको ८० प्रतिशत भूभाग डुबेको छ । जिल्ला प्रहरीका अनुसार बाढीबाट झन्डै ४० हजार घर प्रभावित छन् । एक हजार घरका परिवार विस्थापित छन् । ४ सय घरमा पूर्ण क्षति पुगेको छ । ३० हजार मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ । घर डुबान, विस्थापित संख्या, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रशासनले जनायो ।

सडक सञ्जाल ध्वस्त भएकाले राहत र उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘अहिले पनि धेरैजसो डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन,’ उनले भने, ‘सबैभन्दा बढी इशनाथ नगरपालिकाका गाउँ डुबान र विस्थापित भएका छन् । त्यहाँ जाने प्रयास भइरहेको छ ।’ डुबानपछि सञ्चार सम्पर्क टुटेको छ ।

प्रहरीले आफ्नै मातहतबाट क्षतिको विवरण संकलन गरिरहेको छ । इशनाथका १, २, ३, ४ वडामा झन्डै ४ हजार घरपरिवार अहिले पनि डुबानमा फसिरहेका छन् । प्रशासनले हेलिकप्टरमार्फत उद्धार र राहत सामग्रीलैजाने तयारी गरे पनि खराब मौसमका कारण सफल भएको छैन । स्थानीय प्रशासनसमेत अन्योलमा छ ।

केही स्थानमा डुबान कम हुँदै गए पनि सडक भत्किएका छन् । पश्चिम क्षेत्रमा सडक पुरै डुबेको छ । विस्थापितलाई विद्यालय, चौतारालगायत स्थानमा सारिएको छ । जिल्लाभरिका ७० भन्दा बढी इँट्टा उद्योग, ठूलो संख्यामा माछा पोखरीमा क्षति पुगेको छ । भर्खरै लगाइएको धानबाली डुबानमा परेको छ । दुई दर्जन बढी विद्यालय डुबेपछि बिदा दिइएको छ ।

बारम्बार उही नियति
घर बाढीले घेरिएको छ । परिवार जसोतसो उम्किएर स्कुलको शरणमा छन् । तीन दिन भयो, कोही पनि राम्ररी निदाउन सकेका छैनन् ।

‘लगभग १० वर्ष भयो, हरेक वर्ष बाढीले विस्थापित बनाउँछ अनि हामी यही विद्यालयमा रात काट्न बाध्य हुन्छौं,’ बखरी स्कुलमा बसिरहेका विराटनगर–१२ स्थित मुसहर बस्तीका बाढीपीडित आइतबार यसै भन्दै थिए । केसलिया खोला र धुधुवा पैनीमा आएको बाढीले उनीहरूको घर डुबाएको छ । उक्त वडाका सिमराही, दरैया, मलंगवा र महतो टोलका लगभग सबैजसो घर डुबानमा छन् । चार सय जना शुक्रबारदेखि स्कुलमा शरणमा पुगेका हुन् ।

विराटनगर महानगर र कटहरी गाउँपालिकाको सिमानामा सिंघिया खोला किनारको सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरू पनि हरेक वर्ष बाढीमा पर्छन् । सुरक्षित र भरपर्दो बसोबास नहुँदा जतिपटक विस्थापित भए पनि जोखिम टरेपछि उनीहरू पुरानै ठाउँमा जान्छन् ।

‘विस्थापित भएपछि हरेक वर्ष हामी बखरी स्कुल आएर बस्छौं,’ बाढीपीडित मञ्जवकुमार ऋषिदेव भन्छन्, ‘यहाँ बस्दा विभिन्न संघसंस्थाले खाद्यान्न र केही लत्ताकपडा त वितरण गर्छन् तर हाम्रो समस्या समाधान हुँदैन ।’ केसलिया खोलामा बाँध बनाए बाढी नियन्त्रण हुने भए पनि कसैले ध्यान नदिएको उनको भनाइ छ ।

१२ नम्बरका वडाध्यक्ष हीरालाल कामत केसलियामा बाँध बाँध्न वडाको क्षमताले नभ्याउने भएकाले महानगरपालिकासँग पटकपटक माग गरेको बताउँछन् । ‘केसलिया खोला र धुधुवा पैनीले हरेक वर्ष १२ नम्बर वडामा क्षति पुर्‍याउँछ,’ उनले भने, ‘कि त यी खोलामा बाँधको व्यवस्था गरिनुपर्छ कि त विस्थापित हुनेलाई सुरक्षित स्थानमा पक्की घर बनाएर स्थानान्तरण गरिनुपर्छ ।’

बाढीका कारण महानगरका सबैजसो वडा प्रभावित बनेको मेयर भीम पराजुलीले बताए । खासगरी १, ६, ७, ८, १२ र १६ नम्बर वडाका करिब एक हजार जना विस्थापित बनेको उनले जानकारी दिए ।

पीडितमा छालासम्बन्धी रोग
दरैया, सिमराही टोलका ४ सय जना मुसहर शुक्रबारदेखि बखरी स्कुलमा बसिरहेका छन् । मानिसको चाप बढी र विद्यालयमा समेत हिलो ज्यादा भएकाले उनीहरूमा छालाको समस्या देखिन थालेको छ ।

विराटनगर महानगरले आइतबार बखरी स्कुलमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा जाँच गराउने अधिकांशमा छाला चिलाउने, ज्वरो र खोकीको समस्या देखिएको हेल्थ असिस्टेन्ट विश्व नाथले बताए । ‘हिलो र फोहोरले गर्दा धेरैजसोमा छाला चिलाउने र औंलाका कापमा घाउ देखिएको छ,’ उनले भने, ‘केही केहीमा त खोकी, ज्वरो र झाडापखालाको समस्या पनि छ ।’

एउटै कक्षाकोठामा धेरैजना सुत्नुपरेको र लामखुट्टे धेरै लागेका कारण पीडितहरू रातभर निदाउन सकेका छैनन् । विभिन्न संघसंस्थाले मेट्रेस दिए पनि झुलको व्यवस्था नहुँदा सुत्न नसकिएको पीडित विन्दा ऋषिदेवले बताइन् । एक परिवारमा ७ देखि १० जनासम्म सदस्य रहेको बताउँदै उनले आफूहरूलाई दिइएको एक परिवार एक मेट्रेस पर्याप्त नभएको गुनासो गरिन् ।

‘शुक्रबारदेखि नै स्कुलमा बसिरहेका छौं, घरबाट बालबच्चा बोकेर आइयो, ओढ्ने, ओछ्याउने ल्याउन सकिएन,’ उनले भनिन्, ‘एउटा परिवारमा ७ देखि १० जनासम्म सदस्य छन्, एउटा मेट्रेस दिइएको छ अनि कहाँ पुग्छ र ?’

प्रकाशित : असार ३०, २०७६ ०७:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्