किरिया गर्न छिमेकीको आश्रय 

नगेन्द्र अधिकारी

काभ्रे — पहिरोले एउटा परिवारका दुई सदस्यको ज्यान लियो । घर पनि पुर्‍यो । बाँचेकाले काजकिरिया गर्न छिमेकीको आश्रय लिनुपर्‍यो । भूकम्पछि चर्किएको घरमै बस्दै आएका रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले दुई जनाको ज्यान लिएको थियो ।

उनी छिमेकी रमेश दंगालको घरमा आश्रय लिई काजकिरिया गरिरहेका छन् । रामप्रसादका छोरा हरिशरण र रोहित आमा गोमा र छोरी सुहाबीको किरिया बसेका हुन् । बनेपा ३ मा दंगालको घर शुक्रबार पहिरोले पुरिएको थियो ।

‘भूम्पपछि बनेपामा घर बन्दै छ, बस्दै आएको घर र जमिन केही बाँकी नराखी बगाउँदा यस्तो विपत्ति पर्‍यो,’ रामप्रसादका दाजु देवीप्रसादले भने, ‘मेरो घर पनि जोखिममा छ, गाउँमा त्यो घर नै सुरक्षित देखेकाले त्यसैमा किरिया बसेका हौँ,’ रामप्रसादका जेठा छोरा हरिशरण पनि आमाको किरिया गर्न शनिबारै दुबईबाट नेपाल आइसकेका छन् । रामप्रसाद र परिवारका अन्य सदस्यलाई घाइते बुहारी सुशीलाको मात्रै चिन्ता छ ।

‘बुहारी ठीक भएर ३ महिने नातिनीलाई दूध चुसाउन सकिदिए मात्र पनि हुन्थ्यो,’ भेट्न जाने सबैलाई रामप्रसाद भावविह्वल हुँदै सोध्छन्, ‘अस्पतालको आईसीयूमा भएकी बुहारीलाई कस्तो छ, उसलाई ठीक हुन्छ कि हुँदैन ?’

गृह मन्त्रालयले प्रदान गरेको प्रतिमृतक १ लाख राहत लिएर भेट्न पुगेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई पनि रामप्रसादले सोही प्रश्न गरे । ‘मेरो केही अपेक्षा छैन, बुहारीको राम्रो उपचार हुनुपर्‍यो,’ रामप्रसादले भने । रानाले निःशुल्क उपचारको प्रबन्ध मिलाएको भन्दै राज्यको तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । जिल्ला दैवी प्रकोप उद्धार समितिको तर्फबाट अन्य राहत पनि हस्तान्तरण गरियो ।

अविरल वर्षातपछिको पहिरोले घर पुरिँदा रामप्रसादकी ५५ वर्षीया श्रीमती गोमा र ६ वर्षकी नातिनी सुहाबीको घटनास्थलमै मृत्यु भएको थियो । ३० वर्षीय सुत्केरी बुहारी सुशीला र ३ महिने नातिनी अनुष्का घाइते भएका थिइन् । अनुष्कालाई उपचारपछि घर ल्याइसकिएको छ । सुशीलालाई माटाका कारण निमोनियाँको संक्रमण देखिएका कारण शिर मेमोरियल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको छ ।

प्रकाशित : असार ३०, २०७६ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बीपी राजमार्ग एकतर्फी खुल्यो

नगेन्द्र अधिकारी

काभ्रे — शनिबार दिउँसोभरीको प्रयासपछि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्ड एकतर्फी खुलाइएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रे माफर्त ५ वटा डोजर र  सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास आयोजनाका २ वटा डोजरले राजमार्गमा खसेको लेदो र पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । 

रोशी गाउँपालिकाको मंगलटारमा खहरे खोलाले पुरेको बा१६प ३५४९ नम्बरको कार पनि प्रहरीको सहयोगमा निकालिएको थियो । कालढुंगाको भ्याकुरे र माम्ती खोलामा पानीको सतह बढेका कारण साना सवारी साधनलाई ओहोरदोहोर गर्न केही असहज भएपनि ठूला सवारीसाधन चल्न थालेको सापकोटाले जानकारी दिए ।


अरनिको राजमार्ग भने नियमित सञ्चालनमा छ । जिल्लाका ग्रामिण भेगको यातायात भने पूर्ण रुपमा ठप्प छ ।

यसैबीच रोशी-११ स्थित भिमेश्वर स्कुलको ग्याविन बाल भत्कँदा नजिकै टहरामा सुतिरहेकी ६५ वर्षीया कृष्णदेवी रायमाझीको मृत्यु भएको छ। परिवारका अन्य सदस्य अर्को घरमा भएकोले बाँचेका छन्। सुरक्षित हुने भन्दै उनी घर भन्दा ५०० मिटर दुरीमा रहेको टहरामा सुत्दै आएकी थिइन्।


प्रकाशित : असार २८, २०७६ १७:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT