२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाढीपहिरो : जोखिममा बस्ती, यात्रामा सास्ती

धादिङ,  मकवानपुर र  हेटौंडा — अविरल वर्षाका कारण आग्रा खोलामा पानीको सतह बढदै गएपछि धादिङको थांक्रे गाउँपालिकाको आग्रा र महेशखोला किनारका मजदुर बस्ती जोखिमा परेका छन् । आग्रा किनारमा विभिन्न १६ जिल्लाबाट आई ४० वर्षयता ज्यालामजदुरी र गिट्टी कुटेर जीवन निर्वाह गर्ने एक सय घर परिवार जोखिममा परेका हुन् ।

बाढीपहिरो : जोखिममा बस्ती, यात्रामा सास्ती

खोलामा ढुंगा फुटाउने काम गर्दै आएका सयौं मजदुर परिवार महेशखोला, आग्रा किनार र महादेवबेंसीस्थित राजमार्गमै रहेको पुलमुनि अस्थायी टहरो बनाई बसोबास गर्दै आएका छन् ।


विशेष गरी महादेवबेंसीको पक्की पुलमुनि ३०, जालजुलेमा १२, लिती दोभानमा २० र समनटार र लप्सीबगरमा २० घरपरिवार मजदुर बसोबास गर्छन् । आग्रा खोला मात्रै होइन महेशखोला किनारमा रहेको महादेवबेंसी बजारभन्दा तलको सुन्दरबस्तीका २० परिवारसमेत बाढीको जोखिममा छन् ।


गत शुक्रबारै थांक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले कर्मचारी र जनप्रतिनिधि परिचालन गरी आग्रा खोला छेउमा बसोबास गर्नेलाई तत्कालै सुरक्षित स्थानमा सारेका थिए । ‘असुरक्षित परिवारलाई तत्काल अर्को परिवारसँग बसालेका छौं,’ थाक्रे गाउपालिकाका प्रवक्ता कुमार विश्वकर्माले भने ।


खोला किनारको जालजुलेमा २४ वर्षदेखि टहरा बनाई बसेकी सर्लाहीकी गोर्खेनी पुलामी मगर टहरा भास्सिएपछि परिवारै लिएर छिमेकीकामा शरण लिएको बताइन् । थाक्रेकै पुष्प तामाङले भने, ‘खोलाको मुहानतर्फ पानी परे/नपरेको थाहै हुन्न, यता झलमल्ल घाम लाग्दा पनि एक्कासि बाढी आएको पत्तै हुन्न । राति डरले निदाउनै सकिन्न ।’ शुक्रबार साँझ थांक्रे गाउँपालिका ३ निगालेखोलाले बगाउँदा बेपत्ता भएका मल्डुङका गोकुल गिरी अझै फेला परेका छैनन् ।


खेतबाट घर फर्कन लाग्दा गिरीलाई निगाले खोलाले बगाएको थियो । उनीसँगै बगेका बद्री भुजेल भने पौडी खेलेर बाँच्न सफल भएका छन् । महादेवबेंसी पुलदेखि आग्रा खोलाको किनारमा बसोबास गर्ने सयौं मजदुर परिवार र स्थानीयलाई हामीले सचेत गराएका छौं,’ प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले भने, ‘तत्काल खोलाछेउ नफर्कन आग्रहसमेत गरेका छौं । मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा बस्न भनेका छौं ।’


पानी परेसँगै बाघझोरामा सधैं जाम

हेटौंडा–१, चौकीटोलका उमेश लामाले हेटौंडा(काठमाडौं छोटो मार्ग भएर सुमो चलाउन थालेको करिब दस वर्ष भयो । प्रत्येक वर्ष वर्षाको समयमा उनले भोग्ने एउटै समस्या भनेको भीमफेदी गाउँपालिका १ स्थित बाघझोराको जाम हो । ‘पानी परेसँगै बाघझोरामा जाम परिहाल्छ । प्रत्येक वर्ष हामी चालक र हजारौं यात्रुले भोग्ने समस्या नै हो यो,’ चालक लामाले भने ।


प्रत्येक वर्ष उक्त स्थानमा वर्षाको समयमा डाँडाबाट बगाएर आउने लेदोसहितको पानीका कारण सडक अवरुद्ध हुने गरे पनि दीर्घकालीन रूपमा समस्या समाधानका कुनै पक्षबाट पहल भएको छैन । समय समयमा मन्त्री तथा विभिन्न पार्टीका राजनीतिक व्यक्तिबाट ओभर हेडब्रिज बनाउने प्रतिबद्धता आउने गरे पनि वर्षा सकिएसँगै उक्त विषय सेलाउने गर्छ ।


लगातारको वर्षासँगै उक्त क्षेत्रमा आउने लेदो हटाउन डिभिजन सडक हेटौंडाले असारदेखि भदौसम्म २४ सै घण्टा स्काभेटर र चालकलाई तैनाथ गर्दै आएको छ । हेटौंडाबाट करिब सात किलोमिटर टाढा रहेको उक्त स्थान भएर दैनिक साना र ठूला गरी एक हजार सवारीसाधन आउजाउ गर्छन् ।


विशेष गरी त्रिभुवनराजपथ, हेटौंडा–सिस्नेरी–काठमाडौं, हेटौंडा–फाखेल–काठमाडौं तथा हेटौंडा–मातातीर्थ–काठमाडौं भएर गुड्ने साना सवारीलाई प्रत्येक वर्षको वर्षामा बाघझोराको जामले सताउने गरेकै छ । ‘वर्षातको समयमा छोटो मार्गमा सधैं समस्या देखिन्छ ।


विशेष गरी काठमाडौंबाट आउने यात्रु त्रिभुवनराजपथ भएर घुमाउरो यात्रा गरी आए पनि बाघझोरामा अडकँदा समस्यामा पर्ने गर्छन्,’ जिल्ला ट्राफिक प्रहरी मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने । हेटौंडा हुँदै बाघझोरातर्फ जाने सवारी जाममा परेको खण्डमा फर्केर बजारतर्फ आउन मिल्ने हुँदा खासै समस्या नहुने भए पनि काठमाडौंबाट आउने क्रममा भैंसेपट्टी जाममा पर्दा यात्रुलाई समस्या पर्ने गरेको उनले बताए ।


डिभिजन सडक हेटौंडाका इन्जिनियर तथा प्रवक्ता जयराम अधिकारीका अनुसार उक्त स्थानमा पुल निर्माणका लागि संघीय सरकारसँग दुई वर्षअघि बजेट माग गरिए पनि सुनुवाइ नभएको बताए । ‘उक्त स्थानमा पुल नबनाएसम्म दीर्घकालीन समाधान हुँदैन । हरेक वर्ष वर्षामा दुःख दिइनै रहन्छ,’ उनले भने ।


उनका अनुसार डिभिजन सडकले ०७४/७५ मा करिब ८० लाख रुपैयाँ खर्चेर कंक्रिट ढलान र तारजाली लगाउने काम गरेको कारण पछिल्लो समय केही समय अवरुद्ध भए पनि बाटो खोल्न सजिलो भएको उनले दाबी गरे । ‘अहिले वर्षाको समयभर बाघझोरा नजिकै हामीले स्काभेटरलाई सोही स्थानमा राख्ने गरेका छौं । कतिखेर भेल आउँछ, जाम हुन्छ, भन्नै सकिन्न,’ उनले थपे ।


चौरा खोलाको पिरलो

चार कक्षामा पढने छोरालाई काँधमा बोकेर खोला तारेका छन्, फापरबारी बजारका दलबहादुर थिङले । उनी मात्र होइनन्, सुमित्रा परियारले पनि छोरीलाई पिठ्युँमा बोकेर फापरबारीको चौरा खोला पार गराएकी छन् । थिङ र परियार त प्रतिनिधि पात्र मात्र हुन् । फापरबारी बजारका अधिकांश अभिभावकले आइतबार बिहान स्कुलमा पढ्ने आफ्ना छोराछोरीलाई हातमा समातेर वा पिठ्युँ र काँधमा बोकेर चौराखोलाको भेल पार गराउँदै विद्यालय पठाएका छन् ।


विद्यालयमा आइतबारबाट त्रैमासिक परीक्षा सुरु भएको छ । फापरबारी बजार र विद्यालयबीच चौरा खोला पर्छ । वारि फापरबारी बजार छ, पारि जनता माध्यमिक विद्यालय छ ।


बजारबाट विद्यालयमा करिब २ सयभन्दा बढी बालबालिका पढ्न जान्छन् । वाग्मती गाउँपालिका ६ फापरबारी बजार छेउमा रहेको उक्त खोला बजार र विद्यार्थीका निम्ति वर्षायाममा सधैं तगारो बन्दै आएको छ । बिहीबार र शुक्रबार पनि उक्त खोलामा ठूलो बाढी आएको थियो । बाढीले २ सय मिटर सिंचाइ कुलोसमेत बगायो । वर्षा कम हुँदै गएकाले तटबन्ध भत्काएर बाढी फापरबारी बजार छिर्न पाएन । बजार संरक्षणका निम्ति तटबन्ध गरिएको हो ।


तटबन्ध भत्काएर बजारमा छिर्छ कि भनेर फापरबारीका बासिन्दा बिहीबार र शुक्रबार रातभर सुतेनन् । ‘बाढी बजार पस्ला भन्ने डरले दुई रात आँखा पनि झिमिक्क गरिएन,’ स्थानीय वीरबहादुर शाहले भने, ‘शुक्रबारदेखि पानी कम पर्न थालेपछि शनिबार राति बल्ल निदाइयो ।’


सिन्धुली, ललितपुर र काभ्रे जिल्लाका केही गाउँपालिकाका बासिन्दाको व्यापारिक केन्द्रका रूपमा रहेको फापरबारीमा २ सयभन्दा बढी घरधुरी बसोबास गर्छन् । प्रत्येक साताको शुक्रबार सञ्चालन हुने फापरबारीको हाटबजारमा तीन हजारदेखि चार हजार मानिसको सहभागिता हुने गर्छ । उक्त बजारमा मालसामान खरिदबिक्री गर्न सिन्धुली, काभ्रे, ललितपुर र मकवानपुरका बासिन्दा आउने गर्छन् ।


यसैबीच बाढीपहिरोका कारण छात्रछात्रालाई विद्यालय आउजाउमा समस्या भएकाले मकवानपुरका एक गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको एउटा वडाले सामुदायिक र संस्थागत स्कुल तीन दिनलाई बन्द गरेको छ । भीमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका ५ भित्रका सबै विद्यालय मंगलबारसम्म बन्द गरिएको हो ।


बाढी पहिरोका कारण छात्रछात्राहरू स्कुल आउजाउ गर्न समस्या भएकाले वर्षे बिदामा कट्टी हुने गरी तीन दिन छुट्टी दिएको भीमफेदी गापाका अध्यक्ष हिदम लामाले बताए । वर्षाले उक्त गाउँपालिकाका विभिन्न क्षेत्रका खहरे/खोलामा बाढी आएको छ । हेटौंडा उपमहानगरपालिका ५ को केही क्षेत्रका बस्ती डुबानमा परेको छ ।

प्रकाशित : असार ३०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?