१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सभापतिको डेरा डुब्यो संसदीय समिति बैठक स्थगित

दिनेश रेग्मी

काठमाडाैं — प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई आइतबार अपराह्न विराटनगरबाट साथीले फोनमा बाढीको अवस्था सुनाए  । राजधानीको कुलेश्वरस्थित एक होटलमा १२ जनाको परिवार र आफन्तसहित बसेका श्रीवास्तवलाई ती साथीले भन्दै थिए, ‘ठाउँठाउँमा बाटो भत्केर आवागमन समस्या भएको छ  ।

सभापतिको डेरा डुब्यो संसदीय समिति बैठक स्थगित

बाढीपीडित क्षेत्रमा राहत पुगेको छैन ।’ बीचमै साथीलाई श्रीवास्तवले रोके र भने, ‘थाहा पाउनुभो ? म पनि बाढीपीडित भएको छु । घरभित्र बाढी पसेर सारा सामान खत्तम भो, न खाने ठेगान छ न लाउने । अहिले होटलमा बसेको छु ।’

विराटनगरबाट श्रीवास्तवलाई फोन गर्ने साथी थिए हरिहर उपाध्याय । कुलेश्वरस्थित ओरियन्टल कोलोनीको एउटा ब्लकको भुइँतलामा बसेका श्रीवास्तव भने शुक्रबारको बाढीले पीडित भएका थिए । पर्सा–२ बाट निर्वाचित सांसद श्रीवास्तव करिब १२ वर्षदेखि उक्त कोलोनीमा बस्दै आएका थिए । ‘मेरै क्षेत्रमा १० जनाको मृत्यु, १० जना बेपत्ता छन्, यातायात पनि अवरुद्ध छ,’ उनले आइतबार कान्तिपुरसँग भने, ‘उता उनीहरू पीडित छन्, यता म पीडित छु ।’

कुलेश्वर बजार मूल सडकभन्दा अलि तल जमिन सतहमा रहेको उक्त कोलोनीका सबै ब्लकका भुइँतला शुक्रबारको बाढीले भरिएका थिए । ‘कट्टु र गन्जी लगाएर बसेको थिएँ, बाढी आएपछि भाग्नुपर्‍यो,’ श्रीवास्तवले भने । कान्तिपुरसँग कुरा गर्दै गर्दा उनलाई एउटा फोन आयो । त्यो उनले भाडामा बस्न हेरेको बानेश्वरस्थित घरका धनीले गरेको फोन थियो । ‘हजुर, म एउटा समितिको सभापति पनि हुँ, मलाई घरभाडाबापत मासिक २५ हजार आउँछ,’ उनले घरधनीलाई भने, ‘अहिले पीडित भएर होटलमा बसेको छु, हजुरको मान्छेले ६० भनेका छन्, यस्तो बेला ५० (हजार) मा मिलाइदिनुपर्‍यो ।’

बाढी आएको साँझ प्रहरी र सेनाले दुईवटा ठूला डुंगा ल्याएर कोलोनीको भुइँतलाबाट मान्छेलाई उद्धार गरेका थिए । खाना र पानी डुंगाबाटै ल्याएर माथिल्लो तलामा बस्नेहरूले खाएका थिए । ‘माथि आफन्तको एउटा फ्ल्याट खाली थियो र जेनतेन त्यो रात बिताइयो, त्यसपछि होटलमा आएर बसेका छौं,’ श्रीवास्तवले भने । सभापति श्रीवास्तव नै बाढी प्रभावित भएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भयो । ‘म बाढीपीडित भएकाले पछि गरौं भनेर स्थगित गर्न भनेको हुँ,’ उनले सुनाए, ‘यस्तो अवस्था कसरी बैठकमा जानु ?’

स्थगित भएको खबर नपुग्दा कृषिमन्त्री चक्रपाणि खनाल र समिति सदस्य सरिताकुमारी गिरी बैठक कक्षमा पुगेर फर्किए । विषादी परीक्षणको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको थियो ।

प्रकाशित : असार ३०, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?