२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गाउँतिर सोझियो कन्काई

बाँध फुटाएर बाढी बस्तीमा पसेपछि होकलबारीका २६ परिवार विस्थापित भएका छन् ।
अर्जुन राजवंशी

बिर्तामोड — चन्द्रकुमारी राईलाई आइतबार अपराह्न घरका सामान ओसार्ने हतारो थियो  । छिमेकीको सहयोगमा उनले ६० मन धान, १५ मन मकै र ओढ्ने–ओछ्याउने ट्र्याक्टरमा राखेर नजिकैको इन्द्रेणी प्रावि लगिन्  ।

गाउँतिर सोझियो कन्काई

चन्द्रकुमारीसँगै गौरीगन्ज गाउँपालिका–१ होकलबारीका २६ परिवार विस्थापित छन् । ३ सय मिटर पूर्वमा रहेको कन्काई नदी बाँध फुटाएर बस्तीतर्फ सोझिएपछि उनीहरूले घर छाडेका हुन् । कोही स्कुल त कोही चर्चमा बसेका छन् ।

कन्काई बाढीले आइतबार बिहान होकलबारीमा ५० मिटर बाँध भत्काएको छ । ‘डुबान भए पनि घर छाडेर भागेका थिएनौं,’ चन्द्रकुमारीले भनिन्, ‘तर बाँध फुटाएर खोला गाउँतिर बग्न थालेपछि भाग्नुको विकल्प भएन ।’ उनको डेढ बिघा खेती डुबानमा परेको छ । ‘घरका सबै सामानसहित ५ जनाको परिवार स्कुलमा गएर बसेका छौं,’ भलबहादुर राईले भने, ‘बाँध फुटाएर बाढी सिधै बस्तीतिर बगिरहेको छ । त्यसैले बेलैमा सुरक्षित भएर बसेको ।’


भारी वर्षापछि उक्त स्थानमा नदीले शुक्रबारदेखि नै कटान सुरु गरेको थियो । तत्काललाई बाँध बाँध्ने प्रयास गरे पनि गाउँले सफल भएनन् । होकलबारी चारैतिरबाट बाढीले घेरिएको छ । पूर्वबाट कन्काई र पश्चिमबाट बनियानी खोलाको बाढीले डुबान पार्ने गरेको दीपक राईले बताए । उत्तरतर्फ कन्काईकै ठूलो भंगालो छ । बस्तीमा राई, लिम्बू र सीमान्तकृत सन्थाल जातिको बसोबास छ ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडाध्यक्ष कार्तिकलाल राजवंशी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यलगायतको टोलीले विस्थापितसँग छलफल गरी आवश्यक सहयोग गर्ने बचन दिएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘फुटेको बाँध तत्काल बाँध्न सक्ने अवस्था छैन । तर गाउँलेलाई सुरक्षित राखेर गाउँपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन दिने छैनौं ।’


झापा गाउँपालिका–४ मा घर भत्किएर ३५ वर्षीय राजकुमार कोच र उनका १२ वर्षीय छोरा रामचन्द्र घाइते भएका छन् । वर्षाले कमजोर बनेको फुसको छानो तथा टाटीबेराको घर आइतबार बिहान भत्किएको थियो । घाइतेको स्थानीय क्लिनिकमा उपचार गरिएको छ । वर्षाले कचनकवल गाउँपालिका ४ बयरवनका छोटोममदिन मियाँको परिवार पनि विस्थापित छ ।

८ जनाको परिवारलाई वडा कार्यालयमा ल्याएर राखिएको छ । जिल्ला रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालले विस्थापितहरू सोमबारसम्म घर नफर्किए राहत वितरण गर्ने योजना रहेको बताए । उनले पीडितका लागि उद्धार तथा राहत तयारी अवस्थामा रहेको बताए ।

प्रकाशित : असार ३०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?