कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश सांसद भए फुर्सदिला

प्रतीक्षा काफ्ले

(गण्डकी) — विधेयकलगायत कुनै पनि विषय नभएपछि गण्डकी प्रदेशसभा बिजनेसविहीन भएसँगै प्रदेश सांसद फुर्सदिला बनेका छन । उनीहरू यतिबेला आफ्नो जिल्ला, निर्वाचन क्षेत्र पुगेर सर्वसाधारण, आफन्त, इष्टमित्रसँग भेटघाटमा छन् ।

प्रदेश सांसद भए फुर्सदिला

सांसद आशा कोइरालाले असार २० मा आगामी वर्षको बजेट पारित भएसंगै सांसदहरू आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएको बताइन् ।


‘यो खासै लामो समय होइन,’ कोइरालाले भनिन्, ‘बजेट पारित भएपछि सरकारले आफ्नो काम गर्छ । विभिन्न समितिहरू आ–आफ्नो काममा व्यस्त छन् । आर्थिक वर्षको अन्त्य भएकाले पनि सरकारलगायत सबै सांसद व्यस्त भएकाले छलफलबाट नै समय सारिएको हो ।’ प्रदेशसभा नभएको समयमा विकास निर्माणका योजनाको काममा बढी व्यस्त भएको उनले बताइन् ।


‘पुराना भइरहेका योजना अनुगमन गर्ने, काम भएको भए सघाउने र रोकिएको भए कार्यान्वयनतर्फ लैजाने, नयाँ योजनाको बारेमा जनतालाई जानकारी गराउने काममा बढी व्यस्त छु,’ उनले भनिन्, ‘निर्वाचन क्षेत्र आएपछि मतदातासँग भेटघाट र कार्यक्रममा पनि व्यस्त हुनुपर्छ ।’


आर्थिक वर्ष समापनको सदुपयोग गर्न पाइएको उनको भनाइ छ । उनका अनुसार तीन सरकारको समन्वय कसरी गर्ने, बजेट कसरी कार्यान्वयन गर्ने, योजना निर्माण, विधेयकमाथि छलफल र नयाँ विधेयक कसरी ल्याउने भन्ने विषयमा सरकार र समिति व्यस्त भएकाले पनि सभा केही दिन स्थगित भएको हो । उनले सांसद नै सरकार भएकाले समयको व्यवस्थापन गरिएको बताइन् ।


अर्की सांसद जुनादेवी नेपालीले प्रदेशसभा स्थगित भएपछि पहिलो चरणमा जिल्ला गएर भेटघाटको कार्यक्रम सकिसकेको बताइन् । ‘सदनले गर्दा पारिवारिक समय नै छैन,’ नेपाली भन्छिन्, ‘जिल्लाबाट अहिले काठमाडौं आएकी छु । श्रीमान्, छोराछोरीका लागि समय दिइरहेकी छु ।’ उनले पनि यतिका समय प्रदेशसभा रोकिनु खासै लामो नभएको बताइन् ।


‘जिल्लामा पनि खासै कार्यक्रम छैनन् । कार्यक्रम नभएपछि संघीय राजधानी आएकी हुँ,’ उनले थपिन् । सांसद भागवतप्रकाश मल्लले बजेट ल्याएपछि सदनमा नयाँ विधेयक नभएकाले लामो समयसम्म स्थगीत भएको बताए ।


‘अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशले धेरै विधेयक पास गरेको छ,’ उनले भने, ‘कानुन पनि धेरै नै निर्माण गरेको छ । तर, पनि नयाँ विधेयक आइसकेको छैन । आर्थिक वर्षको बेला पर्‍यो । सरकार व्यस्त भएकाले केही दिन सदन पर धकेलिएको मात्र हो ।’


उनले लामो समयसम्म सदन नहुँदा गृहजिल्लामा नै भेटघाटमा व्यस्त रहेको बताए । निर्वाचन क्षेत्रका योजना अनुगमन र कार्यान्वयनमा पनि पहल गरेको उनको भनाइ छ । उनले गाउँघरमा गएपछि सामाजिक कार्यमा बढी व्यस्त हुने गरेको बताए । सांसद हरिशरण आचार्यले सरकारले दिने बिजनेस नभएका कारण बैठक रोकिएको बताएका छन् ।


‘सभामा पेस गर्ने विधेयक छैनन्,’ आचार्यले भने, ‘आर्थिक वर्षको अन्तिम समय पनि भयो । सरकारका मान्छे व्यस्त छन् । हामी आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त बन्नुपर्ने समय पनि हो । आर्थिक वर्ष सकिएपछि मात्रै सदन राख्ने भन्ने विषयमा छलफल गरेर नै हामीले समय सारेका थियौं ।’


विकास निर्माणका योजना अनुगमन गर्ने र सम्बन्धित कार्यालयमा पुग्ने काममा खटेको उनले बताए । अन्य सांसद पनि योजनाको काममै व्यस्त भएको उनको भनाइ छ ।


प्रदेश सरकारले नयाँ विधेयक नल्याएको र दर्ता भएका केही विधेयक पनि छलफलका क्रममा रहेकाले प्रदेशसभा बैठक लामो समयका लागि स्थगित भएको हो । असार २० मा आगामी वर्षको बजेट पारित भएपछि प्रदेशसभा बैठक साउन ५ सम्मका लागि स्थगित छ ।


प्रकाशित : असार ३०, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?