कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोजपुरका सिँचाइ डिभिजन इन्जिनियर १ लाख ८० हजार घूससहित पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुखलाई अख्तियारले १ लाख ८० हजार घूससहित रंगेहात पक्राउ गरेको छ ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घूस लिँदै गर्दा सोमबार मध्यान्ह १२ बजेतिर रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

भोजपुरका सिँचाइ डिभिजन इन्जिनियर १ लाख ८० हजार घूससहित पक्राउ

षडानन्द नगरपालिका-१३ स्थित छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको बताइएको छ ।


करिब ९८ लाख लागत अनुमान रहेको सो सिँचाइ आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्याङ्कन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।


आर्थिक वर्षका अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिँडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू भदैनी खाजा घर एण्ड लजमा घूस रकम लिन पुगेका थिए । अख्तियारको इटहरीबाट खटिएको टोलीले सोही होटलबाट उनलाई रंगेहात पक्रेको थियो ।


भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले बाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिँचाइका उपभोक्ता चक्रबहादुर कार्कीले बताए ।


योजनाको काम सकेर तीनदित लगाएर फरफराक लिन आएका सुरुवाले सिँचाइ आयोजनाका अध्यक्ष नवराज गुरुङले दुखेसो पोख्दै भने ‘तीनदिन लगाएर हिँड्दै आइयो भुक्तानी पाइएला भनेको त कार्यालयमा यस्तो भयो अब पैसा पाउन कतिदिन कुर्नुपर्ने होला थाहा छैन असारको दिनमा यत्रो दिन यतिकै खेर जाने भयो । ’

प्रकाशित : असार ३०, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?