विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई १० वर्ष कैद

प्रतीक्षा काफ्ले

गण्डकी — विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका-७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ । सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर ।

चापाकोटको शितलटार जङ्गलमा लगी बारम्बार ललाईफकाई बलात्कार गर्दै आएका शिक्षक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ किनिदिने सर्तमा घटना लुकाउँदै आएका थिए ।

२०७४ चैत्र २ गते परीक्षाको समयमा बलात्कार गरेका आचार्यले २०७५ वैशाख ३० गते पनि बलात्कार गरेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पीडितले २०७५ जेठ २१ गते मुद्दा दर्ता गराएका थिए ।

पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका, प्रहरी चौकी चापाकोट हुँदै मुद्दा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका थिए । पीडित बालिकाले आफ्नै हस्ताक्षरमा निवेदन दर्ता गराएकी थिइन् ।

मुलुकी ऐन अनुसार १० वर्षदेखि १४ वर्षसम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखि १२ वर्षसम्म जेल सजाए हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : असार ३०, २०७६ १९:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीपी प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संबाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको आरोपमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दासलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 


अख्तियारले अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरू चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बीपी दासमाथि ४ करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालीन रजिस्ट्रार थापाविरुद्ध एक करोड ९६ लाख, रजिस्ट्रार श्रेष्ठविरुद्ध ५६ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यस्तै, लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैयाँ अख्तियारले बिगो मागदाबी गरेको छ। सप्लायर्सहरू चेतन अग्रवालविरुद्ध एक करोड ४ लाख र उमेश अग्रवालविरुद्ध ६० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

अख्तियारले अभियोगपत्रमा प्रतिष्ठानका पदाधिकारीमाथि कम रकम कबोल गर्ने बोलपत्रका आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएको उल्लेख गरेको छ। लेखा प्रमुख दाहाल र डेपुटी म्यानेजर श्रीवास्तवमाथि विभिन्न मितिमा बढी मूल्यमा सामान खरिद गरेको आरोप छ। सप्लायरहरूलाई खरिदका क्रममा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

प्रकाशित : असार ३०, २०७६ १९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT