प्रधानमन्त्रीले निगमलाई २० अर्ब नदिने

निगमले सरकारसँग २० अर्ब लगानीको माग गरिरहे पनि प्रधानमन्त्री सकारात्मक देखिएका छैनन् । 
कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब रुपैयाँ ऋणमा रहेको नेपाल वायु सेवा निगमलाई तत्काल आर्थिक सहयोग नगर्ने संकेत दिएका छन् । मन्त्रालय र निगमका अधिकारीहरूसित आइतबार भएको छलफलमा ओली सहयोगका लागि तत्पर नभएका हुन् । 



वित्तीय संस्थाहरूबाट लिएको ऋणको ब्याज बुझाउन मात्र नभई सामान्य खर्च सञ्चालनमा पनि समस्या देखा पर्न थालेपछि निगमले सरकारसँग एक वर्षयता २० अर्ब लगानी माग गरिरहेको छ।

यसै विषयबारे प्रधानमन्त्रीलाई थप प्रस्ट्याउन पर्यटन सचिव मोहनकृष्ण सापकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल, निगमका सञ्चालक समिति सदस्य तथा सहसचिव बुद्धिसागर लामिछाने, निर्देशकद्वय उमेश पौडेल र टंकनिधि दाहाल, निगमका चार्टर्ड एकाउन्टेन्टहरू दीपेन्द्र सुवेदी र अनिशा खडका आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई निगमको पछिल्लो अवस्था र सरकारसँग लगानी माग गर्नुको कारणबारे जानकारी गराएको थियो। ‘प्रधानमन्त्रीले हाम्रो प्रस्तुति सुनिसकेपछि चित्तबुझदो भएन भन्नुभयो,’ प्रतिनिधिमण्डलमा रहेका एक सदस्यले कान्तिपुरसँग भने। राति साढे ८ बजे पुगेको टोली १० बजे फर्किएको थियो। ‘हाम्रो अन्तर्क्रिया डेढ घण्टा चल्यो तर प्रधानमन्त्री सकारात्मक देखिनुभएन,’ छलफलमा सहभागी ती प्रतिनिधिले भने, ‘निगममा सरकारका तर्फबाट थप लगानी माग्न प्रधानमन्त्रीसँग फेरि अर्को चरणको अन्तर्क्रिया गर्ने भएका छौं।’

१५ दिनअघि निगमको ६१ औं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आफ्नै पहलमा बनेको निगम नेतृत्वप्रति आक्रोश व्यक्त गरेका थिए। उनले जहाज खरिद गर्दा जमानी बसेको सरकारले ऋण तिर्ने बेला आँखा चिम्लेर काँध नथाप्ने भनेका थिए। ‘आइतबार प्रधानमन्त्री अलि नरम देखिनुभयो। रमाइला कुराकानी र अनुभव पनि सुनाउनुभयो,’ ती सहभागीले भने, ‘तर तत्कालै लगानी उपलब्ध गराउन उहाँ सहमत देखिनुभएन।’

निगम नेतृत्वले विभिन्न मुलुकका ध्वजावाहक विमान कम्पनीहरूमा सरकारले अर्बौं लगानी गरिरहेको जनाउँदै सरकारसँग पुँजी बढाउन माग राख्दै आएको छ। निगमको अधिकृत पुँजी ३० करोडको छ। तर पुँजी लगानी ३ अर्ब १० करोड रुपैयाँ छ।

पुँजी लगानी अधिकृत पुँजीभन्दा बढी हुनुलाई वित्तीय जोखिम मानिन्छ। यसै कारण निगमले सरकारसँग २० अर्ब लगानीका रूपमा माग्दै आएको हो। निगमको अहिलेको समस्या नगद प्रवाह तथा नगद अभावको हो। ५० अर्ब हाराहारी सम्पत्ति भएको यससँग ४० अर्ब हाराहारीको दायित्व देखिन्छ।

निगमसँग हाल साना तथा जेट विमान गरी १३ वटा छन्। एउटा ३० वर्ष पुरानो बोइङ लिलाममा राखिएको छ। यसले चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ। आन्तरिकमा २६ वटा क्षेत्रमा उडानको अनुमति पाएको छ। तर, सबैमा नियमित उडान हुँदैन। आन्तरिक उडानका लागि नौवटा जहाज भए पनि नियमित उडानमा ४ वटा हाराहारी मात्रै छन्।

प्रकाशित : असार ३०, २०७६ २०:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण

अतुल मिश्र

काठमाडौँ — मुलुकका सबै भू–भाग बाट आकाश सफा रहे मंगलबार अबेर राति खण्डग्रास चन्द्र ग्रहण देख्न सकिन्छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्छ । 


नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार मंगलबार गुरुपुर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ। राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ।
चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केही भाग रातो/तामा रङ्गको देख्न सक्नेछन्।पृथ्वीको वायुमण्डलको छान्ने र परावर्तित गर्ने प्रभावको कारण ग्रहणको समय चन्द्रमाको रङ्गमा भइरहेको परिवर्तन अनौठो लाग्ने खगोलविद्हरु बताउँछन्।

वीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माको अनुसार चन्द्रमालाई मङ्गलवार बिहान १२ बजेर २८ मिनेटदेखि विरल छायाले ढाक्न सुरु गर्छ भने राति १ बजेर ४६ मिनेटदेखि सघन छायाले ढाक्न सुरु गर्छ।

यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ। तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो देखिँदैन।

पुर्णिमाको राति मात्र हुने चन्द्र ग्रहण पूर्ण र आंशिक गरी दुई प्रकारको हुन्छ। सामान्य रूपमा भन्ने हो भने चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ। जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हामी हेर्छौ।

प्रकाशित : असार ३०, २०७६ १९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT