कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गैंडा जोगाउने जुक्ति- हरुवालाई पोखरी

रमेशकुमार पौडेल

चितवन — धमाधम गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले तिनलाई जोगाउने नयाँ उपाय अपनाएको छ– पोखरी बनाउने । गैंडालाई आहाल असाध्यै मन पर्छ । त्यसका लागि एउटै आहालमा धेरै गैंडा जम्मा हुन्छन् । त्यहाँ जुध्ने खतरा बढी हुन्छ । कतिपय अवस्थामा जुध्दाजुध्दै गैंडाको मृत्युसमेत हुन्छ । 

गैंडा जोगाउने जुक्ति- हरुवालाई पोखरी

त्यही समस्या निराकरणका लागि निकुञ्जले ठाउँठाउँमा पोखरी खनेको हो । यसका लागि यस वर्ष मात्र १ करोड ३६ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । त्यसबाट ७१ वटा पोखरी बनेका छन् ।

‘जुधेर गैंडा नमरून् भनेर निकुञ्जभित्र पोखरी निर्माण गरेका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने, ‘तालतलैया र सिमसार क्षेत्रको व्यवस्थापन राम्रै गरेका छौं ।’ जितेको गैंडाले हारेको गैंडालाई लखेट्छ । लखेटेपछि त्यसले आहाल बस्ने पोखरी पाउँदैन । त्यसैले हारेको गैंडाको सुविधाका लागि नजिक–नजिक पोखरी बनाइएको उनले बताए । गैंडा आहाल बस्न पाए शरीरमा लागेको घाउचोट निको हुन सक्छ ।

जुधेका बेलामा जितेको गैंडाले लखेटेपछि आहाल बस्न नपाए घाउमा संक्रमण बढेर ज्यानै जान सक्ने ढकालको भनाइ छ । गत माघ १४ मा निकुञ्जको टोलीले भिम्ले पोस्ट क्षेत्रमा एउटा घाइते भाले गैंडा देख्यो । शरीरमा भएका चोटले पुष्टि गर्थे, त्यो गैंडा अर्को भालेसँग जुधेको थियो । ‘एउटा चोट त झन्डै एक हात लम्बाइको थियो । अर्को भालेसँग जुधेका बेलामा मात्रै यसरी चोट लाग्ने सम्भावना हुन्छ,’ ढकालले भने । आहाल बस्न नपाई सुक्खा क्षेत्रमा भौंतारिएको उक्त भाले गैंडाको निकुञ्जले उपचार गर्‍यो । ‘तर त्यसलाई बचाउन सकिएन । चैत ५ गते त्यो मर्‍यो,’ निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले भने ।

ठाउँ–ठाउँमा पोखरी भए गैंडा आपसमा जुध्ने थिएनन् । जुधेका बेला जितेको गैंडाले हारेको गैंडालाई सँगै आहाल बस्न दिँदैन । हारेको गैंडा अलि पर गएर आहाल बस्न खोज्छ । यसैलाई दृष्टिगत गरी ठाउँ–ठाउँमा पोखरी बनाएको ढकालको भनाइ छ ।

‘एउटा ठूलो र वरपर स–साना पोखरी बनाउने गरिएको छ जसले गैंडालाई एकै ठाउँमा नपारोस् । जम्मा भएर जुधिहाले भने पनि भाग्ने बेला आहाल बस्न अर्को पोखरी भेटाउन सजिलो होस् भन्ने हाम्रो उद्देश्य हो,’ ढकालले भने । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मुख्य बासस्थान हो । देशभर ६ सय ४५ गैंडा भएकामा चितवनमा मात्रै ६ सय ५ छन् ।

पछिल्लो समय यहाँ गैंडा धमधम मर्न थालेका छन् । केही वर्षअघि गैंडाको खागका लागि तस्करले गैंडा मारेर हैरान बनाएका थिए । अहिले त्यो रोकिएको छ । अन्य कारणले भने गैंडा मर्ने क्रम उस्तै छ । अघिल्लो आवमा यहाँ २६ वटा गैंडा मरेका थिए । चालु आवमा भने निकुञ्जभित्र ४१ र राष्ट्रिय वन क्षेत्रमा २ गरेर ४३ गैंडा मरेका छन् । तिनमा ७ वटा गैंडा जुधेर मरेको निकुञ्जको भनाइ छ ।

बूढो भएर मर्ने गैंडाको संख्या ५ छ । रोगको संक्रमणमा परेर २ गैंडा मरेका छन् । २३ वटा के कारणले मरे, पत्ता लागेको छैन । ‘२३ वटा गैंडाका कंकाल मात्र भेटिए,’ ढकालले भने, ‘तिनको मृत्युको कारण खुलेन ।’

कंकाल भेटिएकामध्ये अधिकांश गैंडा पनि जुधेर मरेको हुन सक्ने अनुमान छ । यो वर्ष केही अस्वाभाविक कारणले पनि गैंडा मरेका छन् । ‘गैंडाका बच्चालाई बाघले आक्रमण गरी मारेको थाहा थियो । तर यो पटक चार–पाँच वटा बच्चा गैंडा अर्को गैंडाको आक्रमणमा परेर मरे,’ ढकालले भने, ‘गैंडा भीरबाट खसेर पनि मर्‍यो ।’

गैंडा कुनै ठूलो रोग र संक्रमणका कारण नमरेको निकुञ्ज विभागबाट अध्ययन गर्न आएका अधिकारीहरू बताउँछन् । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा एउटा टोली आएर गैंडा मृत्युबारे अध्ययन गरी फर्किएको छ । अघिल्लो वर्ष पनि विभागको टोली आएको थियो । पहिलो टोलीमा नेपाली विज्ञ मात्रै थिए ।

कँडेल नेतृत्वको टोलीमा भने दक्षिण अफ्रिकाका दुई जना गैंडा विज्ञ पनि थिए । उक्त टोलीले थप एक–दुई स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गर्ने ढकालले जानकारी दिए ।

गैंडा मर्नॅको यथार्थ कारण पत्ता लगाएर समाधान गर्नॅपर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको माग छ ।

प्रकाशित : असार ३१, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?