२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बाढी हेर्दा चिप्लिएर खोलामा

भूषण यादव

वीरगन्ज — तीन दिनदेखिको अविरल वर्षाले सुक्खा खेत हिलाम्मे भएको थियो । ठाउँठाउँमा नहर र पैनी भरिएको हेर्न जानेहरूको लस्कर चलेको थियो । रोपाइँका लागि ब्याडबाट बिउ उखेल्ने तयारीमा वीरगन्ज–२३ भवानीपुरका रामनारायण कुर्मीलाई फोन आयो– छोरो खोलामा बग्यो ।

शनिबार बिहान करिब साढे ९ बजे भाइ हरिनारायणको मोबाइल बज्यो । ‘दाइ अनुज खोलामा डुबेको खबर छ,’ बहिनीले खबर गरिन् ।


वीरगन्जको एक विद्यालयमा कक्षा १० मा पढ्ने छोरो अनुज डुबेको खबर पाउनासाथ कुर्मी साइकल लिएर ५ किलोमिटर दक्षिणको घटनास्थलतर्फ हान्निए । हरिनारायणले उनलाई पछ्याए । वीरगन्ज सहरको पश्चिम भएर बग्ने सिर्सिया खोला उर्लिएको थियो । ‘अनुज डुबेको ठाउँमा पुग्दा सुरक्षाकर्मीहरू खोजिरहेका थिए,’ १६ वर्षीय छोराको किरिया बसेका कुर्मीले भक्कानिँदै भने, ‘होनहार छोराको जिन्दगी बाढीले समाप्त पारिदियो ।’ तीन दर्जनभन्दा बढी सुरक्षाकर्मीले पानीमा शनिबार दिनभरि खोजेपनि शव फेला परेन । सुरक्षाकर्मीसँगै उनका काका हरिनारायण पनि खोजतलासमा सक्रिय थिए ।


‘डुबेको भोलिपल्ट आइतबार मध्याह्न १२ बजेको समयमा अनुजको शव फेला पर्‍यो,’ हरिनारायणले भने, ‘दोस्रो दिन पनि ५ फिटसम्म पानी थियो ।’ शनिबार बिहान अनुज आफ्ना कान्छा भाइ अजय र साथीहरूसँग बाढीको पानीले जलमग्न क्षेत्र हेर्न घरबाट निस्किएका थिए । सिर्सिया खोलामा आएको बाढीले खेत र बस्ती जलमग्न थिए । सडकमा पानीको बहाव तेज थियो । ‘दाइको खुट्टा चिप्लियो,’ १४ वर्षीय अभयले भने, ‘हामीले तत्काल बाँस दिएर तान्न खोज्यौं । तर, दाइलाई बचाउन सकेनौँ ।’ उनका अनुसार गुहार मागेपछि सुरक्षाकर्मी र स्थानीय आएर खोजतलासमा लागे पनि दाजु फेला परेनन् ।


कृषि औजार कारखानाका पूर्वकर्मचारी कुर्मीले शिक्षाको महत्त्व बुझेका कारण आफ्ना र भाइका छोराछोरीलाई वीरगन्ज राखेर पढाइरहेका थिए । श्रीमती सन्तुदेवीले बच्चाको देखरेख गर्थिन्, कुर्मीले गाउँमा बसेर घरगृहस्थी सम्हालेका थिए । गाउँ पछाडि ड्राइपोर्ट र परवानीपुर ६ लेन सडक निर्माण हुँदा कुर्मीको १२ कट्ठा जग्गा सरकारले अधिग्रहण गरेको थियो ।


मुआब्जाबाट आएको रकमले उनले वीरगन्जमा एउटा पुरानो घर किनेका थिए । ‘परिवारका सात छोराछोरीमध्ये अनुज पढालु थियो,’ कुर्मी सम्झन्छन्, ‘इन्जिनियर बन्छु भन्थ्यो ।’ ल्याकतले नभ्याए खेत बेचेरै पनि छोराछोरीलाई पढाउने अठोट लिएर नै वीरगन्ज राखेको उनले बताए । ‘अब त इन्जिनियर बन्ने छोरा नै रहेन, बाढीले सपना अधुरो बनायो,’ उनले भने, ‘मुटुमा ढुंगा राखेर सहनुपर्ने अवस्था आएको छ ।’


विगत तीन दिनदेखि आमा सन्तुदेवी कुर्मीको आँखा ओभानो छैनन् । बिहानको खाना पकाउन उनी भान्सामा हुँदा अनुज भाइ र साथीका साथ बाढीको पानी हेर्न निस्केका थिए । ‘विदेशमा पढेर भए पनि देश फर्केर नाम रोशन गर्छु भन्थ्यो,’ उनले भनिन्, ‘केके थरी जोडेर प्लेन बनाउँथ्यो, लाइन कटदा ब्याट्रीले सानो ब्लब बालिदिन्थ्यो । प्लास्टिकको डोजर पनि बनाएको थियो ।’ बाढीको पानीमा डुबेर पर्सामा तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार ३१, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?