२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बेपत्ता बहिनी खोज्दै किनारैकिनार

अर्जुन राजवंशी

बिर्तामोड — अनिश सुब्बा शनिबार बिहानै बहिनी अञ्जनालाई लिन स्कुलतिर जाने सुरसार गर्दै थिए । बहिनीलाई माईखोलाले बगाएको खबर अचानक आइपुग्यो । त्यसपछि उनले माईखोला किनारैकिनार हिँडेर बहिनी खोजिरहेका छन् ।

तीन दिन तीन रात बित्दा पनि अञ्जना भेटिएकी छैनन् । ‘म घरबाट अलि छिटो हिँडेको भए बहिनीलाई खोलाले बगाउने थिएन,’ अनिशले सुकेको स्वरमा टेलिफोनमा भने, ‘म घरबाट हिँड्नुअघि नै उनीहरू खोलामा पसेछन् ।’


इलामको माई नगरपालिका–१ जुवालेका १४ वर्षीया अञ्जना सुब्बा, १६ वर्षीया निशा सुनुवार र १३ वर्षीया सुनीता साउदेन माईखोलामा बगेर शनिबार बिहानदेखि बेपत्ता छन् । उनीहरू माई नगरपालिका–६ स्थित माई भगवती माध्यमिक विद्यालयका विद्यार्थी हुन् । माई नगरपालिका–१ जुवालेघरदेखि विद्यालय पुग्न ४५ मिनेटको पैदल दूरीमा पर्छ । यो स्थान इलामको दक्षिणी झापासँग जोडिएको छ । अरू बेला उनीहरू खोला सहजै तर्न सक्थे । त्यस दिन वर्षा भएकाले अनिश बहिनीलाई लिन स्कुलतिर जाने तयारीमा थिए ।


निशा कक्षा ९, अञ्जना कक्षा ७ र सुनीता कक्षा ६ का विद्यार्थी हुन् । पहिलो त्रैमासिक परीक्षा सकेर घर फर्कंदै गरेका उनीहरूलाई अविरल वर्षापछि माईखोलामा आएको बाढीले शनिबार बिहान ७ बजे बगाएको हो । अञ्जना, निशा, सुनीता, कक्षा ७ मा पढ्ने भीम नेम्वाङ र कक्षा ९ मा अध्ययनरत दिबिका सुनुवार सँगै घर फर्कंदै थिए ।


पाँच जना मिलेर माईखोला तर्नेक्रममा उनीहरूलाई बाढीले बगाएको थियो । भीम र दिबिका पौडिएर खोला तर्न सफल भएका थिए । उनीहरूले अरूका अभिभावकलाई घटना सुनाएका थिए ।


लगत्तैबाट आफन्त, छिमेकी, प्रहरीसहितको टोलीले निरन्तर खोजी जारी राखे पनि सोमबार अपराह्नसम्म उनीहरूको अवस्था पत्ता नलागेको निशाका बुबा टेकबहादुर सुनुवारले बताए । ‘खोला बढेकाले मैले स्कुल नजाऊ भनेको थिएँ । छोरीले मानिनँ । परीक्षा छ, बिहीबारेमै बसेर लेख्छौं भनी,’ टेकबहादुरले भने, ‘परीक्षा छाड्न नमिल्ने भनेपछि मैले चामल, तरकारी दिएर पठाएको थिएँ ।’ माईखोला सधैं तरिरहने भएकाले शनिबार पनि उनीहरूले आँट गरेको हुन सक्ने उनले बताए ।


जुवालेबाट विद्यालय जान माई र रिखुवा खोला तर्नुपर्छ । शिक्षक बुद्धिप्रसाद आङदम्बेका अनुसार जुवाले, बाह्रधार्ने, डुम्रे, माझीटारलगायत गाउँबाट २४ जना विद्यार्थी माईखोला तरेर भगवती मावि पढ्न आउने गर्छन् । माईखोलामा पुल नभएकाले विद्यार्थी सधैं जोखिमपूर्ण यात्रा गर्दै विद्यालय आउने गरेको शिक्षक आङदम्बेले बताए ।


वर्षासँगै माईखोलामा बाढी आउन थालेपछि उनीहरू पाँचै जना बुधबारदेखि स्कुल नजिकैको बिहीबारे बजारमा कोठा लिएर बसेका थिए । शुक्रबार परीक्षा सकिएपछि कक्षा ७ मा पढ्ने निशाका भाइ प्रदीपसहित ६ जनाको टोली घरतर्फ हिँडेको थियो । पानी परिरहेको थियो । ‘शुक्रबार खोला छेउसम्म आइपुग्दा बेलुका ५ बजेछ । बाढी ठूलो भएकाले उनीहरू खोला छेउको घरमा बास बसेछन्,’ टेकबहादुरले भने, ‘भोलिपल्ट बिहानै मकै पोलेर खाएछन् र प्रदीपलाई छाडेर उनीहरू पाँचै जना खोला पसेछन् ।’


माईखोलाको पानी बाँध बनाएर सानिमा जलविद्युत् हाइड्रोले प्रयोग गर्दै आएको छ । शिक्षक आङदम्बेका अनुसार अन्य समयमा हाइड्रोले खोलाको ७० प्रतिशत पानी प्रयोग गर्थ्यो । ‘तर, अविरल वर्षाका कारण हाइड्रोले सबै पानी खोलामै छोड्ने गरेको रहेछ,’ आङदम्बेले भने । पानीको मात्रा कम भएको स्थान खोज्दै तलसम्म पुग्दा पनि बाढी एकनासको देखेपछि उनीहरू पौडिएर खोला तर्ने प्रयास गरेका थिए ।


खोलामा झोलुंगे पुल हाल्न सर्वेक्षण भइसकेको छ । माई नगरपालिकाका प्रमुख दीपककुमार थेबेले माईखोलामा पुल निर्माण गर्ने कार्यको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘विद्यार्थीहरू खोलामा बगेर बेपत्ता भएको घटनाले दुःखी बनाएको छ । हामी चाँडै माईखोलामा झोलुंगे पुल निर्माण सुरु गर्दैछौं ।’

प्रकाशित : असार ३१, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?