कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

डुबान क्षेत्रमा अझै जोखिम

बाढीमा परेर महोत्तरीमा मात्रै ४ जनाले ज्यान गुमाएका छन् । सुरक्षित स्थानमा सारिएकाहरू राहतको पर्खाइमा छन् । किसानहरू खेती गर्न अतुर देखिन्छन् ।
रवीन्द्र उप्रेती

महोत्तरी — बाढीबाट महोत्तरीमा थप २ बालकको मृत्यु भएको छ । सोनमा गाउँपालिका–१ बजार टोलका ५ वर्षीय इनताज नदाफ र उनका ६ वर्षीय साथी अजरुद्दीन नदाफको सोमबार मृत्यु भएको हो । 

डुबान क्षेत्रमा अझै जोखिम

इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर किशोर आचार्यका अनुसार दुवैको शव अपराह्न तीन बजेतिर मडाहा खोलाको बाढीले बनाएको करिब ७ मिटर गहिरो दहमा फेला परेको हो । दुवै बालक खेल्दै जाँदा नजिकै रहेको कलभर्टबाट चिप्लिएर दहमा खसेको अनुमान छ ।


महोत्तरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । एक बालक अझै बेपत्ता छन् । बाढीको चपेटामा बालबालिका पर्न थालेपछि प्रशासन कार्यालयले सार्वजनिक सूचना गरी प्रकोपका बेला छोराछोरीलाई निगरानीमा राख्न र जथाभावी न छाडन् आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले छोराछोरीलाई जथाभावी न छाडिदिन अभिभावकलाई आग्रह गरेका छन् ।


लगातारको वर्षाका कारण जिल्लाका नदीहरूमा आएको बाढीका महोत्तरीका १५ वटै स्थानीय तह प्रभावित छन् । रातु नदीको बाढी बस्तीतर्फ सोझिँदा शनिबार अपराह्नदेखि सदरमुकाम जलेश्वरसमेत जिल्लाका दक्षिणवर्ती क्षेत्र डुवानमा छन् । जलेश्वरस्थित प्रशासन कार्यालय, जिल्ला प्रहरी, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत, शिक्षा कार्यालय, कोलेनिकालगायत दर्जन कार्यालय जलमग्न छन् ।


बाढी पस्दा जलेश्वर कारागारका ४३ महिला ३ आश्रितसमेत ४ सय ६८ कैदीको अवस्था कष्टकर बनेको छ । कारागार परिसरमा कम्मरमाथि पानी पसेकाले कैदी लाई छतमा पाल टागेर राखिएको छ । बाढी पसे यता कैदीले च्युरा र दालमट खाएर जीवन धानेको कारागार प्रशासनले जनाएको छ । कैदीहरूमा रुघाखोकी र ज्वरोजस्ता स्वास्थ्य समस्या देखा पर्न थालेको जनाइएको छ ।


रातु खोलामा जोखिम मोलेर तर्दै यात्रु ।


बाढीका कारण आवागमनसमेत अवरुद्ध भएकाले स्थानीय बजारमा खाधान्न, तरकारीलगायतको अभाव देखिन थालेको छ ।

नदीको जलस्तर बढदै गएकाले कतै तटबन्ध माथि भएर बाढी बग्न थालेको र कतै तटबन्ध नै कटान गरी बस्तीतर्फ खोला सोझिएपछि जोखिम बढेको जनाइएको छ ।


जलेश्वर पश्चिमउत्तरबाट रातु र उत्तरपूर्वबाट विगहीको बाढी प्रवेश गरेकाले दक्षिणवर्ति क्षेत्र डुवानमा परेका हुन् । एकातिर रातु, विगही, जंगाहा, मडाहालगायत खोलाको जलस्तर बढदै गएका छन् । अर्कोतिर ब्धुबारदेखि सुरु भएको वर्षा नथामिएकाले नदी नियन्त्रण र उद्धारमा समस्या परेपछि प्रशासनले सार्वजनिक सूचना जारी गरी नजिकको विन्द्यालयलगायत अग्लो स्थानमा शरण लिन प्रभावितलाई आग्रह गरेको छ ।


बाढी पीडितलाई मन्त्रीको १ लाख

राजविराज– प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बाढीका कारण अति प्रभावित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई १ लाख रुपैयाँ सहयोग दिएका छन् ।


मन्त्री साहले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफ्नोतर्फबाट १ लाख रुपैयाँ दिएको तिलाठी कोइलाडी गाउँपालिकाको विपद व्यवस्थापन संयोजक राजेशकुमार झाले जानकारी दिए । खाडो नदीको बाढीका कारण सप्तरीको तिलाठी कोईलाडी गाउपालिकाका बिभिन्न वडाहरू डुवानमा परेका छन् ।


तीन महिनामै भत्कियो झोलुङ्गे पुल

महोत्तरी र धनुषा जिल्लालाई जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको तीन महिना नबित्दै रातु नदीको बाढीले भत्काइदिएको छ । गत वैशाख महिनामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पुल ५ दिनसम्म परेको अविरल वर्षापछि नदीको उच्च बहाबले पुल भत्काएको हो । पानी खोलाको खुला ठाउँबाट नबगेर पुलको पोल भएतिरको भाग कटान गर्दै आएकाले पुल भत्किएको हेल्बेटासका टीबीएसयु कार्यक्रमका इन्जिनियर लाल झाले बताए ।


पुललाई पानीले ठूलो क्षति गर्ला भन्ने अनुमान गर्न नसकेको र पुल बनाउने ठाउँ साँघुरो भएकै तिरबाट बाढी आएकाले पुल जोखिममा परेको झाले बताए । अहिले खेतीपातीको सिजन भएकाले भत्किएकै पुलबाट किसानहरू जोखिमपूर्ण यात्रा गरिरहका छन् ।


बाढीले भत्काएको झोलुङे पुल । तस्बिर : शिव पुरी । कान्तिपुर


महोत्तरीको बर्दिवास ३ र १ का ७५ प्रतिशत मानिसको खेती धनुषामा छ । बर्दिवास ३ का डम्बर बोहोराले भने, ‘खेती गर्न नजाऊँ भने अरूको खेतमा बाली लागिसक्यो । खोला तर्न सकिँदैन, अनि पुल प्रयोग नगरेर के गरौं ?’ पुल बनेपछि खुसी भएका बोहोरा पुल भत्किएपछि दुःख लागेको बताउँछन् ।


धनुषामा भएको खेतीमा पुगेर फर्किएकी दुर्गा पाण्डे पनि जोखिम मोलेरै भए पनि पुल पार गर्नुपर्ने किसानको बाध्यता भएको बताउँछिन् । ‘पुल नहुँदा ज्यान दाउमा राखेर खोला तरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले पुल बन्यो भनेर खुसी हुन नपाउँदै भत्कियो यसको मर्मत चाँडै भए खेती गर्न सजिलो हुनेथियो ।


१ करोड ४७ लाख लागतमा निर्माण भएको २ सय २३ मिटर लामो र १ मिटर २० सेन्टिमिटर चौडा भएको पुलको बिमा गरिएकाले सो पुलको पुनः मर्मत गरिने इन्जिनियर झाले बताए । अहिले पुल जोखिममा रहेकाले मानिसहरूलाई आवत–जावत नगर्न सूचना गरिसकेको र मानव क्षति हुन नदिन पुल पूर्णरूपमा बन्द गरेर वर्षा रोकिएपछि ४ देखि ६ महिना भित्रमा मर्मत सम्पन्न गर्ने झाले बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?