२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाढीपहिरोले मुहान पुरिए, खानेपानी समस्या

सिद्धिचरण राजमार्गमा यातायात ठप्प, मकालुका ६४ घर पहिरोको जोखिममा, तेह्रथुममा ५० घरमा क्षति

उदयपुर / संखुवासभा / तेह्रथुम — बाढीपहिरोका कारण सिद्धिचरण राजमार्गको माथिल्लो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्गको मिर्चैया–कटारी, कटारी–बेतीनी खण्ड आंशिक रूपमा सुचारु पनि बेतेनी/घुर्मी खण्ड अवरुद्ध भएको हो ।

बेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाँटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले सडक ठप्प भएको छ । ठाँटीभन्ज्याङमा सडक नै बगेको छ । लप्सेमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । ‘बेतेनी–घुर्मी २५ किमि क्षेत्रमा मोटरसाइकलसमेत सञ्चालन हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई हिंड्न पनि समस्या भएको छ ।’

मिर्चैया/कटारी, कटारी/बेतेनी खडकमा सडक सञ्चालन गरिएको इलाका प्रहरी कटारीका प्रहरी नायब उपरीक्षक सागर केसीले बताए । ‘दुई दिनदेखि अवरुद्ध मिर्चैया/घुर्मी सिद्धिचरणको बेतेनीसम्म मात्रै खोलिएको छ,’ उनले भने, ‘बेतेनी/घुर्मी खोल्न नसक्ने अवस्थामा रहेकाले प्रयासका लागि गएको डोजरसहितको प्रहरी, सडकका कर्मचारी र सर्वसाधारण फर्किएका छन् ।’

सिद्धिचरण राजर्मागको बर्सेनि करोडौं रुपैयाँ खर्चेर मर्मत गरिँदै आएको छ । राजमार्ग अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका लागि आपूर्ति गरिने खाद्य, कपडालगायत वस्तु ढुवानीमा समस्या भएको छ । माथिल्लो सगगरमाथाका सोलु, ओखलढुंगा र खोटाङ जिल्लाका लागि उदयपुरको व्यापारिक केन्द्र कटारीबाट दैनिक उपभोग्य वस्तुको आपूर्ति गरिन्छ ।

मुहान क्षतिग्रस्त भएपछि पानी अभाव

बाढीले खानेपानी योजनाको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी बगाउँदा कटारी नगरपालिकासहित ताप्ली, लिम्चुवाङ र रौतामाई गाउँपालिकामा पिउने पानीको समस्या भएको छ । पानी वितरण गर्ने पाइप लाइन, मुहान र ट्यांकी पहिरोले क्षतिग्रस्त भएपछि खानेपानीको समस्या भएको स्थानीयले बताए ।

सडक, सचार, खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन् । ‘खोलाको धमिलो पानी पिउनुपरेको छ,’ कटारी नगरपालिका ९ वाछाङ्गका गंगा राईले भने, ‘घरखेत त पहिरोले लग्यो, गाउँ छाडेर आफन्तको शरणमा छौं, पानीसमेत खान पाइएको छैन ।’ शुद्ध पिउने पानी पिउन नपाउँदा झाडापखलाले विस्थापितलाई सताएको उनले बताए ।

बाढीपहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको ताप्ली गाउँपालिका सूचना अधिकारी विकलसिंह ठकुरीले बताइन् । ‘गाउँपालिका विभिन्न वडामा भएका खानेपानी मुहान, वितरण लाइनका पाइप र ट्यांकीसमेत बगाउँदा समस्या भएको छ,’ उनले भनिन्, ‘खानेपानी योजनाका उपभोक्ता समितिले पानीको मुहान बगाएको, ट्यांकी पहिरोमा परेको जस्ता समस्या गाउँपालिकामा जानकारी गराउँदै आउनुभएको छ ।’

मकालुका ६४ घर पहिरोको जोखिममा

संखुवासभाको मकालु गाउँपालिकामा ६४ घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातार वर्षाले मकालु ३,४ र ५ का ६४ घर परिवार जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले बताइन् । पहिरोले मकालु वडा का ३० वडा नम्बर–४ का चार घर र ३ नम्बर वडाका ३० घर परिवार उच्च जोखिममा परेको उनले बताइन् ।

मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जन बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको छन् । ‘जति बेला पनि पहिरोले लग्ने अवस्था छ,’ उनले भनिन्, ‘पहिरोको उच्च जोमिममा परेका ५० घरभन्दा माथि तत्कालै सुरक्षित स्थानमा सार्नुपर्छ, नभए जतिबेला पनि झर्न सक्छ ।’

जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो संख्या भएका गाउँपालिकाले मात्र अन्यत्र सार्न समस्या भएको उनले बताइन् । असार २ र ३ गते पहिरोले मकालु गाउँपालिकाभित्रका अधिकांश गाउँलाई पहिरोले चिराचिरा बनाएको थियो । चारैतिरबाट पहिरोले तान्न लागेका मकालु–५ का चार गाउँका २९ घर विस्थापित भएका थिए । दुई घर पहिरोले पुरेको थियो । गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जान सक्ने खतरा भएको वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले बताए ।

पहिरोको उच्च जोखिम भएका कारण उनीहरू छिमेकी र आफन्तको शरणमा बसेको अध्यक्ष गुरुङको भनाइ छ । पहिरोले भोटखोलासँगको सम्बन्ध टुटेको छ । एक महिनादेखि सडक यातायात र गोरेटोबाटो भत्कँदा भोटखोलासँगको सम्बन्ध टुटेको हो । असार २ गते वर्षासँगै आएको पहिराले खाँदबारी–किमाथांका खण्डको मकालु ५ र ३ नम्बर वडा जोड्ने सडक पुरिएको छ । पहिरो खसेपछि यातायात सेवासमेत अवध भएको उत्तर दक्षिण कोसी सडक कार्यालयका प्रमुख गौतम श्रेष्ठले बताए ।

खाँदबारी–किमाथांका सडक खण्डको मकालु–३ मा पर्ने नयाँ बस्तीमा काम भइरहेको भए पनि लगातारको झरीले बेला–बेला अवरुद्ध हुने गरको छ । सडक कहिले खुल्छ भन्ने यकिन नभएको उनले बताए । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने र खाँदबारीबाट भोटखोला जान समस्या भएको हटियाका थुदोक भोटेले बताए । उनले सडक यातायात नभएपछि खाद्यान्न संकट भएको बताए ।

‘पहिले भण्डारण गरिएको दैनिक उपभोग्य सामग्रीले धानिरहेको छ,’ उनले भने, ‘अब सामग्री लैजान नसकिए हाहाकार हुनेछ ।’ पहिरोले आधा दर्जन गाडी हेदाङ्नागढीमा रोकिएको छ । खाँदबारी–किमाथांका सडक बगाएपछि आधा दर्जन गाडी मकालु–३ मा रोकिएका हुन् । पहिरोले खाँदबारीबाट भोटखोला गाउँपालिकाको वरुण बजारतर्फ गएका छ वटा साना गाडी हेदाङ्नागढीमै रोकिएको पनि भोटेले बताए ।


५० घरमा क्षति

तेह्रथुममा ५० भन्दा बढी घरमा क्षति पुगेको छ । पहिरोले घर बगाउने अवस्था आएपछि कतिपय अन्यत्र गएर बसिरहेका छन् । लालीगुराँस नगरपालिका २ वसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुर्‍याएको छ । बसपार्क छेउमा रहेका रत्नबहादुर कार्की, खेम कार्की, डिल्ली कार्की, हेम सुवेदीलगायतको घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर २१ वटा घरमा पहिरोले क्षति गरेको छ तर स्थानीय तह आफैंले संकलन गरेको पीडितको तथ्यांक भने धेरै छ । छथर गाउँपालिकामा मात्र २० बढी घरमा बाढीपहिरोले क्षति पुर्‍याएको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

गाउँपालिकामा विपद् व्यवस्थापनसम्बन्धी आपत्कालीन बैठक बसेर पीडितलाई जतिसक्दो चाँडो राहत पुर्‍याउने निर्णय गरेको प्रवक्ता राजन नेपालीले बताए । त्यस्तै फेदाप, आठराई, मेन्छ्यायाम गाउँपालिकामा पनि पहिरोले ठूलो क्षति गरेको छ । त्यस्तै म्याङलुङ र लालीगुराँस नगरपालिकामा पनि बाढी र पहिरोले ठूलो क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको स्थानीय सरकार प्रमुखहरूले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंका अनुसार धेरैको घरमा पहिरोले क्षति गरेको छ । प्रशासनमा २१ जनाको घरमा पहिरोले क्षति गरेको विवरण उपलब्ध भएको उनले बताइन् । प्रभावितसम्म पुगेर सहयोग गर्न स्थानीय सरकार समक्ष समन्वय गरेर काम गरिरहेको प्रशासनले जनाएको छ । पहिरोका कारण जिल्लाका अधिकांश घर उच्च जोखिममा रहेको र उनीहरूलाई सतर्क रहन भनिएको प्रजिअ होमागाईंले बताइन् ।

अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा वसन्तपुर म्याङलुङ सडक खण्डको दर्जन बढी स्थानमा सडक अवरुद्ध भएको छ । त्यस्तै म्याङलुङ संक्रान्ती सडकमा पनि १ सय बढी स्थानमा पहिरो झरेर अवरुद्ध भएको छ । जिल्लाका स्थानीय तहले करोडौं रकम खर्च गरेर भर्खरै मात्र निर्माण गरेका १ सय बढी सडक पनि बाढीपहिरोका कारण अवरुद्ध भएका छन् ।

सिंधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायत सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौं स्थानमा सवारी फसेका छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?