चितवनमा जंगली हात्तीले ज्यान लियो

रमेशकुमार पौडेल

काठमाडौँ — जंगली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनमा मंगलबार बिहान एकजनाको ज्यान गएको छ । चितवन निकुञ्जको जंगल, राप्ती खोला र मध्यवर्ती जंगलले घेरिएको रत्ननगर नगरपालिका–७ बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई जंगली हात्तीले आक्रमण गरेर ज्यान लिएको हो । 

चितवनमा जंगली हात्तीले ज्यान लियो

चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगनाका अनुसार बिहान साढे ६ बजे उक्त घटना भएको थियो ।


उनी आडैको पर्यटकीय क्षेत्रमा सौराहामा ज्याला मजदुरी गर्न जाने गर्दथे । ‘गाउँबाट काम गर्न सौराहा आउँदै गर्दा बाघमारा मध्यवर्ती सामुदायिक वनबाट निस्केर निकुञ्जको जंगल छिर्न राप्ती नदीतर्फ जान लागेको जंगली हात्तीसँग उनको जम्काभेट भएछ,’ अध्यक्ष ढुंगनाले भने । बद्रहनी गाउँ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्दछ । बाघमारा चौर नजिकै हात्तीले उनलाई ३०/४० मिटर परसम्म घसारेको ढुंगनाले बताए ।


पर्यटकीय क्षेत्र आडैमा भएको बद्रहनी गाउँमा जंगली जनावरको भय सधै रहन्छ । गाउँका प्रत्येक जस्तो घरमा वन्यजन्तु आक्रमणका घटनाहरु भोगेका व्यक्तिहरु भेटिने अध्यक्ष ढुंगनाले बताए । चितवन राष्ट्रिय निकुञ्जबाट प्राप्त विवरण अनुसार वन्यजन्तु आक्रमणमा परेर यो सहित चितवन निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा १२ जनाको ज्यान गएको छ ।


प्रकाशित : असार ३१, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?