१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश २ मा होटलको कोठामै बोलाएर फायल सदर

जनकपुर — प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधारका लागि उपभोक्ता समिति मार्फत गरेको कामको मूल्याकंन होटेलमा बसेर गरिरहेको छ । दुई दिनदेखि जनकपुरको विभिन्न होटेल सर्दै मन्त्रालयका कर्मचारीहरू योजनाको मूल्याकंनको नाममा रकम असुलिरहेको खुलेको छ ।

प्रदेश २ मा होटलको कोठामै बोलाएर फायल सदर

जनकपुरको सिटी स्टार होटलको कोठा नम्बर २०५ र २०८ मा मङ्गलबार मन्त्रालयका कर्मचारी योजनाको मूल्याकंन गर्न व्यस्त देखिए । ल्यापटप र प्रिन्टर होटलको कोठामा राखेर कर्मचारीहरू योजना सम्पन्नको फायल हेर्दै मूल्याकंन गरिरहेका थिए । होटलमा प्रदेशसभा सांसद रानी शर्मा तिवारीसहित अन्य पनि थिए ।


मन्त्रालयले पर्यटन पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा ५० करोड रुपैयाँको काम उपभोक्ता समितिमार्फत गराएको छ । असार मसान्तको अन्तिम दिन भुक्तानीका लागि आएका उपभोक्ता समितिलाई होटलको कोठामै बोलाएर फायल सदर गर्ने काम भइरहेको छ । सोमबार पनि होटलबाटै काम गरिरहेको हल्ला भएपछि कर्मचारीहरू मङ्गलबार अर्को होटेल सरेका थिए ।


‘मन्त्रालयमा ठाउँ नभएकाले होटलबाट काम गरिरहेका छौँ,’ नाम नबताउँदै होटेलमा भेटिएका कर्मचारीले भने,‘होटेलमा फायल हेरेर मूल्याकंन मात्र गरेको हुँ । अरू काम निर्देशनालयबाट भइरहेको छ ।’ होटलमा पत्रकारहरु पुगेपछि मन्त्रालयका कर्मचारीहरू ल्यापटप र प्रिन्टर बोकेर हिँडेका थिए । सिटी स्टार होटलका रिसेपशनले रुम नम्बर २०५ र २०८ मन्त्रालयको नाममा नै बुक भएको जानकारी दिए ।


पर्यटन पूर्वाधार योजनाको भुक्तानी लिन ठुलो सङ्ख्यामा उपभोक्ता समितिका पदाधिकारीहरू होटल पुगेका थिए । होटलमा कामको मूल्याकंन गराउँदै उनीहरू फायल बोकेर मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताको कार्यकक्षमा पुगेर तोक लगाएर कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक बुझिरहेका छन् ।


स्रोतका अनुसार पर्यटनमन्त्री रामनरेश रायले भुक्तानीअघि सबै उपभोक्ता समितिबाट अनिवार्य १५ देखि २० प्रतिशत रकम लिन उर्दी जारी गरेकाले रकम असुल्न होटललाई रोजिएको हो । पैसा असुल्नकै लागि होटेल–होटेलमा कर्मचारी पठाएर सेवाग्राहीलाई दुख दिइरहेको मन्त्रालयका उच्च अधिकारीहरू मन्त्रीसित रुष्ट छन् ।


‘मन्त्रालयको काम होटलबाट गर्नुहुन्न । यो सम्बन्धमा धनुषाको सिडिओसँग कुरा गर्छु,’ प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले भने । धनुषाका सिडिओ प्रदीप कणेलले होटलबाट सरकारी काम गरिएको पाए सम्बन्धित कर्मचारीलाई कारबाही हुने बताए ।


मन्त्रालयका निमित्त सचिव गुप्ताले होटेलमा बसेर काम गरिरहेको कर्मचारी आफ्नो मन्त्रालयको नरहेको भन्दै तर्किए । ‘मन्त्रालयमा ठाउँको अभाव छैन । कर्मचारीकै लागि अर्को भवन पनि भाडामा लिएका छौँ,’ उनले भने, ‘होटेलमा बसेर कर्मचारी काम गरेको कुरा सत्य होइन ।’

प्रकाशित : असार ३१, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?