कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानका सामग्री खरिदमा भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा

प्रदीप मेन्याङ्बो

सुनसरी — मेडिकल उपकरण, सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात जना निलम्बनमा परेका छन् ।  

बीपी प्रतिष्ठानका सामग्री खरिदमा भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा

उपकुलपति प्रा.डा. राजकुमार रौनियार र भतिज डा. रामहरि रौनियार ८ लाख घूससहित पक्राउ परेपछि उक्त प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता खुलेको हो । मुद्दा दायर गरिएकामा पूर्वपदाधिकारी, बहालवाला कर्मचारी र मेडिकल सामान उपलब्ध गराउने दुई व्यवसायी गरी १० जना छन् ।


मुद्दा किनारा नलागुन्जेल उनीहरू स्वतः निलम्बनमा पर्ने अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘कुनै पनि व्यक्तिका विरुद्ध मुद्दा दायर भएपछि सार्वजनिक पद स्वतः निलम्बन हुन्छ । स्वास्थ्य मन्त्रालयमार्फत आयोगबाट पत्र गइसकेको छ,’ उनले भने । अख्तियारले प्रतिष्ठानमा भ्रष्टाचार गर्ने अरू पनि तानिने सम्भावना रहेको जनाएको छ ।


पूर्वउपकुलपति तथा बहालवाला फर्माकोलोजिस्ट प्राडा. बलभद्रप्रसाद दास, पूर्वअस्पताल निर्देशकसमेत रहेका प्याथोलोजी विभागमा कार्यरत प्राडा. अरविन्द सिन्हा, रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, प्रतिष्ठानको लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी म्यानेजर अमित श्रीवास्तव स्वतः निलम्बनमा परेका हुन् । सोही प्रकरणमा पूर्वरजिस्ट्रार नन्दकुमार थापा, व्यवसायीहरू प्रोसिजन मेडिकल प्रालि तथा बायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ । अग्रवालद्वय दाजुभाइ हुन् ।


अख्तियारको विज्ञप्तिअनुसार पूर्वउपकुलपति डा. दासले ४ करोड ८ लाख ९८ हजार १९ र पूर्वअस्पताल निर्देशक डा. सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैयाँ भ्रष्टाचार गरेका छन् । यसैगरी पूर्वरजिस्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० र बहालवाला रजिस्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ । लेखा प्रमुख दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ, डेपुटी म्यानेजर श्रीवास्तवले १ करोड ७४ लाख १६ हजार २ सय रुपैयाँ, व्यवसायी चेतनले १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैयाँ र उमेशले ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ । आरोपित सबैलाई सोहीअनुसार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको कोइरालाले बताए ।


उपकरण तथा सेवाको खरिदमा बोलपत्रसम्बन्धी कागजमा उल्लिखित प्राविधिक विशेषज्ञता र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुसार काम गर्नुपर्नेमा उल्लंघन गरिएको अख्तियारले जनाएको छ । खरिदमा न्यून कबोल गर्ने बोलपत्रदातालाई पन्छाई बढी कबोल गर्नेको बोलपत्र स्वीकृत गरी भुक्तानी दिइएको आरोपपत्रमा उल्लेख छ ।


प्रतिष्ठानमा चार वर्षको अवधिमा अख्तियारले दर्जन पटक छापा मारेको थियो । तर हालसम्म कुनै मुद्दाका बारेमा फाइल खोलिएको थिएन । पछिल्लो मुद्दामा कुन–कुन मितिमा आरोपितहरूले सामान खरिदमा भ्रष्टाचार गरेका हुन् भन्ने खुलेको छैन । प्रवक्ता कोइरालाले भने, ‘प्रतिष्ठानमा भएका अरू भ्रष्टाचारका विषयमा पनि अनुसन्धान हुँदैछ । हाल विशेष अदालतमा आरोपपत्र दायर गरिएकाले बयान लिने प्रक्रिया हुँदैछ । अरू विषयबारे अध्ययनपछि अख्तियार एउटा निर्णयमा पुग्नेछ,’ उनले भने ।


व्यापारी दाजुभाइ चेतन र उमेशले प्रतिष्ठानका सबैखाले ठेक्कामा कब्जा जमाउँदै आएका थिए । उनीहरूले करिब दुई दशकको अवधिमा प्रतिष्ठानभित्र अर्बौं रुपैयाँको कारोबार गरेका छन् । उनीहरूले प्रतिष्ठानका पदाधिकारीलाई हातमा लिएर ठेक्का हत्याउने गरेको चर्चा हुँदै आएको थियो ।


बीपी प्रतिष्ठानमा स्थापनादेखि नै भ्रष्टाचार सुरु भए पनि तत्कालीन उपकुलपति शेखर कोइरालाको पालामा कसैले मुख खोल्ने गरेका थिएनन् । कोइरालापछि प्रतिष्ठानभित्रकै चिकित्सक उपकुलपति बन्न थालेसँगै अनियमितता, बेथिति र भ्रष्टाचार मौलाएको पुराना कर्मचारी बताउँछन् ।


पूर्वउपकुलपति दासको अवधि सकिन लाग्दै गर्दा रजिस्ट्रारसँगको मिलेमतोमा अग्रिम भुक्तानीमा करोडौंका उपकरण खरिद गरिएको थियो । ठेकेदार कम्पनीहरूले भेन्टिलेटर, अक्सिजन प्लान्ट, सर्जिकल माइक्रोस्कोप, डेन्टल चियर, सेफालोग्राम एक्सरे मेसिनजस्ता उपकरण जडान नगरी अलपत्र पारेर हिँडेका थिए । बोलपत्रमा ठेक्का पार्न ‘स्पेसिफिकेसन’ मा उल्लेख गर्ने तर सोहीअनुसार उपलब्ध नगराइएकाले कतिपय उपकरण कामै नलाग्ने भएका थिए ।


उपकुलपति रौनियारविरुद्ध एमआरआई मेसिन खरिद, भवन निर्माणलगायतमा अनियमितता गरेको आरोप छ । विगतमा ठेकेदार कम्पनीसँग प्रतिष्ठानका सबै पदाधिकारी, खरिद र मूल्यांकन समितिका कर्मचारीलगायत मिलेर अनियमितता गर्ने गरे पनि रजिस्ट्रार श्रेष्ठ, रेक्टर गुरु खनाल र पूर्वउपकुलपति दास रौनियारविरुद्ध लागेपछि लहरो तान्दा पहरो गएको हो ।

प्रकाशित : असार ३१, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?