विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले सिमाक्षेत्रमा विषादी परीक्षण गर्ने निर्णयलाई स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । भारतबाट ल्याइने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णयविरुद्ध यसअघि जारी अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

यो आदेशले विषादीपरीक्षण पुन:सञ्चालनगर्नुपर्ने भएको छ। गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चको छुट्टाछुट्टै निवेदनको सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको थियो।यसका साथै अदालतलेगुणस्तरीय सेवा तथा वस्तुको अधिकारका साथै खाद्य, स्वास्थ्य र सुरक्षित मातृत्वको अधिकारसमेत यो निवेदनसँग सरोकार राख्ने प्रकृतिको रहेको भनेको थियो।

हानिकारक रसायनिक अनि अखाद्य पदार्थ नियन्त्रणका बारेमा असार २ गतेको राजपत्रको सूचना जारी भएकोमा दुई सातापछि त्यसलाई रोक्ने गरिएको निर्णयका बारेमा प्रश्न उठेको थियो।

प्रकाशित : असार ३१, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सैनिक युथलाई मुख्यमन्त्री कपको उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि झापाको सैनिक युथ क्लबले उचालेको छ । धरानमा रंगशालामा मङ्गलवार सम्पन्न मोरङको बेलबारी फुटबल क्लब विरुद्ध २–१ गोल गर्दै सैनिक युथ प्रदेश लिग च्याम्पियन बनेको हो । उपाधिसँगै सैनिकले नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । लिग उपविजेतामा चित्त बुझाएको बेलबारीले नगद ३ लाख रुपैयाँ हात पार्‍यो । 

सैनिक युथलाई प्रदेश लिग च्याम्पियन बनाउन खेल सुरु भएको पहिलो मिनेटमा रेजिन माझी र खेलको ८७ औँ मिनेटमा विकेस सुब्बाले गोल गरेका थिए । बेलबारीका सौरभ कार्कीले खेलको ५२ औँ मिनेटमा पाएको कर्नर प्रहारलाई सान्त्वना गोल गरेका थिए ।

लिगको फाइनल चरणमा सैनिक युथले खोटाङलाई ६–३ गोल र उपाधिको दाबेदार मानिएको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । उता समूह एबाट विजेता बनेर फाइनलमा पुगेको बेलबारीले धनकुटाको बौद्धिक विकास समितिलाई ६–१ गोल र धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा बेलबारीका भूषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । खेलका म्यान अफ द म्याच बेलबारीका शौरभ कार्की भए । उनले नगद १० हजार हात पारे ।

सैनिकका मनोज प्रधान र विमन प्रसाद राई क्रमशः उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्स घोषित भए । धरान फुटबल क्लबका उमेश राई उत्कृष्ट मिडफिल्डर,सैनिकका विकेश लिम्बू उत्कृष्ट स्ट्राइकर, सैनिक युथका प्रवेश कट्वाल उत्कृष्ट कोच घोषित भए । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : असार ३१, २०७६ २०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT